पोखरा, साउन १४
भूकम्प पछि अन्नपूर्ण क्षेत्रको अवस्थाबारे नकारात्मक टिप्पणी गर्ने पर्यटन व्यवसायीको भनाइप्रति पोखराका पर्यटन व्यवसायीले आपत्ति जनाएका छन् । अन्नपूर्ण क्षेत्रको पदयात्रा बारे नकारात्मक टिप्पणी गर्ने व्यवसायीलाई आगामि दिनमा त्यस्तो टिप्पणी नगर्न पनि व्यवसायीले चेतावनि दिएका छन् ।
पोखरा पर्यटन पूर्नजागरण समिति (पिटिआरसी)ले विहीबार विज्ञप्ती निकालेर व्यवसायीले अन्नपूर्ण क्षेत्रको सुरक्षा अवस्थाबारे गरेको टिप्पणी नकारात्मक रहेको उल्लेख छ । भूकम्प पश्चात अन्नपूर्ण पदयात्रा क्षेत्रको अवस्था अध्ययन गरेको ख्यातीप्राप्त अन्तर्राष्ट्रिय संस्था मियामोतो इन्टरनेशनलले सुरक्षित रहेको प्रतिवेदन सरकारलाई पेश गरेको थियो । तर, नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पा र ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का केन्द्रीय अध्यक्ष रमेश धमलाले प्रतिवेदनप्रति असन्तोष जनाउँदै पदयात्रा क्षेत्र अझै सुरक्षित नरहेको भन्दै टिप्पणी गरेको आरोप पोखरेली व्यवसायीले लगाएका छन् ।
‘विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यम मार्फत सो प्रतिवेदनको विरोध गरेको भन्ने खबर बाहिर आएकोले त्यसप्रति आपत्ति जनाएका हौ’ विहीबार बसेको पिटिआरसीको बैठकपछि जारि विज्ञप्तीमा भनिएको छ, ‘आगामी दिनमा नेपालको पर्यटन क्षेत्र, पोखरा र अन्नपूर्ण क्षेत्रप्रति कुनै नकारात्मक टिप्पणी नगर्न सचेत गराउँछौ।’
गत वैशाख १२ गते गएको विनासकारी भूकम्प र तत्पश्चात आएका पराकम्पनले नेपालको पर्यटनमा पारेको प्रभाव भन्दा सञ्चार माध्यमबाट भएको प्रचारले धेरै ठूलो क्षति भएको सन्दर्भ प्रति ध्यानाकर्षण भई विभिन्न पक्ष बाट नेपालको छवी सुधार्न अथक प्रयास भइरहेकोमा पर्यटन व्यवसायीबाटै नकारात्मक टिप्पणी हुन दुखद रहेको विज्ञप्तीमा भनिएको छ ।
पिटिआरसी सहित विभिन्न क्षेत्रबाट व्यापक आग्रह भएपछि पदयात्रा क्षेत्रमा भएको वास्तविक क्षतिको स्वतन्त्र मुल्यांकन गर्न नेपाल सरकारले मियामोतो इन्टरनेशनललाई जिम्मेवारी दिएको थियो । सो संस्थाले यथा समयमै प्रतिवेदन तयार गरी अन्नपूर्ण पदयात्रा मार्ग पूर्ण सुरक्षित रहेको र पदयात्रामा जान सबै पर्यटकलाई असहज नरहेको भन्ने प्रतिवेदन दिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution