तारा एयरको जहाज दुर्घटनाबाट बच्यो

  • पोखरा न्यूज
  • २०७२ भाद्र ८
Post Thumbnail

दिननाथ बराल

पोखरा, ८ भदौ: 

तारा एयरको ९एन–एकेई कलसाईन भएको डोर्नियर जहाज मंगलबार बिहान ठुलो दुर्घटनाबाट बचेको छ । पोखराबाट जोमसोमका लागि उड्न थालेको जहाज धावनमार्गमा दौडिरहेको बेला चरा ठोक्किन आएपछि चालकदलले आकस्मिक ब्रेक लगाएका थिए ।

आकस्मिक ब्रेक लगाउँदा जहाजो पछिल्तिरको दायाँ टायर पञ्चर भएको थियो । टायर पञ्चर भएपनि जहाज भूइमा धसारिएको थियो । जसले गर्दा करिब डेढ घण्टा विमानस्थल अवरुद्ध भएको थियो ।

चालक दलका तीन सदस्य सहित १७ जना बोकेर विहान साढे ७ बजे उड्न लागेको जहाजलाई धावनमार्गमा कागले ठक्कर दिन आएपछि चालकले आपत्तकालिन ब्रेक लगाएको विमानस्थल प्रमु्ख दीपक बरालले बताए । ‘धावनमार्गमा दौडिरहेको जहाज उड्नै लाग्दा चरा ठोक्किन आएपछि चालकले सतर्कता अपनाउँदै ब्रेक लगाएर रोक्न खोजे’ उनले भने, ‘चालकले ब्रेक लगाएपछि प्रेसर परेर टायर पञ्चर भएको हो । जहाजमा कुनै समस्या थिएन ।’

धावनमार्गमै रोकिएको जहाज पछि काठमाडौंबाट प्राविधिक आएर अर्काे टायर फेरेपछि अवरुद्ध विमानस्थल खुलेको थियो । करिब डेढ घण्टा विमानस्थल अवरुद्ध हुँदा केहि उडान प्रभावित र ढिलाई भएका थिए ।’

विमानस्थलका अर्का एक अधिकृतका अनुसार यतिबेला चराको समस्या देखिन थालेको छ । वर्षायाम र बच्चा पार्ने बेला भएकोले चराको गतिविधि विमानस्थल वरिपरि बढ्न थालेको छ । विमानस्थलको पृथ्वीचोकतिरको खण्डमा फोहर भएकोले पनि चराको आगमन बढि हुन्छ । त्यसले विमानस्थलमा जहाज उडान र अवतरणमा समस्या पार्दै आएको छ । विमानस्थलमा देखापर्ने चरा धपाउन दुइजना हेरालु, गाडि, बन्दुक पड्किदाको जस्तो आवाज दिने प्रविधि रहेपनि ती प्रभावकारी हुन सकेका छैनन् । ‘बन्दुकको आवाजसँग चराहरु डराउन छाडेका छन् । त्यस्तै धपाएर पनि सम्भव भएको छैन’ ती अधिकृतले भने, ‘यो सिजनमा चार महिना समस्या हुन्छ । यतिबेला चराको आममन बढ्ने समय हो ।’

चराको आगमन बढ्दा विमानस्थलमा दुर्घटनाको खतरा रहेको उनले बताए । ‘हेर्दा सामान्य घटना हुनसक्छ । तर चराकै कारण ठुलो दुर्घटना पनि हुनसक्छ । त्यसैले सचेतना अपनाउनुको विकल्प छैन’ उनले भने ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस