लामाचौरमा हरितालिका तीज महोत्सव सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ भाद्र ३१
Post Thumbnail

पोखरा, ३० भदौ :

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा आयोजित हरितालिका तीज महोत्सव सम्पन्न भएको छ ।  तीन दिनसम्म स्थानीय इन्द्रराज्य लक्ष्मी उच्च माविको प्राङगणमा चलेको महोत्सव हेर्न छिमेकी जिल्लाबाट पनि दर्शक ओइरिएका थिए । अन्य दिनको तुलनामा तीजको दिन दर्शकको घुइँचो अत्याधिक थियो ।
महोत्सवमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिता एवं कलाकारहरुको विभिन्न प्रस्तुतिमा दर्शक आकर्षित बनेका थिए ।  महोत्सव समापन अवसरमा नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी उपस्थित थिए । उनले यस्ता मेलामहोत्सवले स्थानीय कला–सँस्कृतिको जगेर्ना हुने बताए ।
सभासद् शारदा पौडेलले तीजको शुभकामना दिदै महिला सशक्तिकरणको मुद्दा अघि ल्याउनुपर्ने बताइन् । उनले असोज ३ गते साँझ ५ बजे घरघरमा दीपावली गरेर नयाँ संविधानको स्वागत गर्न आग्रह गरिन् ।
समारोहमा विभिन्न विधामा व्यक्तित्वलाई सम्मान गरिएको थियो । जसमा खेलकुद सम्मानबाट अमृत गुरुङ, पर्यटन सम्मानबाट किरण गौतम, शिक्षा सम्मानबाट डा. राधाकुमारी भण्डारी, साहित्य सम्मानबाट सँस्कृतिविद् तीर्थ श्रेष्ठ सम्मानित भए । उनीहरुलाई मुख्यसचिव डा. सुवेदीले सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए । कार्यक्रममा खिमलाल हिमकुमारी आचार्य छात्रवृत्ति पुरस्कारबाट एसएलसीमा सामुदायिक विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिएको थियो ।

महोत्सव अवसरमा आयोजित तीज गीत प्रतियोगितामा सामुदायिक महिला समूह घाँटीपाटन प्रथम भयो । नूमना आमा समूह दोस्रो, कामधेनु आमा समूह हेम्जा तेस्रो भयो । उन्नती आमा समूह, सिर्जना आमा समूह र महिला बहुउद्देश्यीय आमा समूह सान्त्वना भए । मिलीजुली बाल समूहले भेषभूषामा र विन्ध्यश्वरी आमा समूहले उत्कृष्ट नृत्यको पुरस्कार पाए ।

१७ टिमले भाग लिएको प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन लायन्स क्लब अफ आदर्शले गरेको थियो ।  यस्तै, अन्तरमावि लोकनृत्यमा बेसलाइन प्रथम, सूर्योदय दोस्रो, सानफ्रान्सिस्को तेस्रो भए । भेषभूषामा गण्डकी आवासीयले पुरस्कार पायो । प्रगति बोर्डिङ, सैनिक आवासीय र सोसल पब्लिक सान्त्वना भए ।
तीजको दिन राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिमा दर्शक रमाएका थिए । कैलास विकास बैकको मुख्य प्रायोजनमा भएको महोत्सवको २ लाख बढीले अवलोकन गरेको आयोजकको दावी छ । रमिला न्यौपाने, शर्मिला गुरुङ, चोलेन्द्र पौडेल, रामजी पौडेल, मैजु बि.क., निलम ढुंगानाले प्रस्तुति राखेको प्रचार संयोजक अर्जुन अधिकारीले जानकारी थिए ।

संस्थाका अध्यक्ष धर्ममानसिह भण्डारीको अध्यक्षतामा भएको महोत्सव समापन अवसरमा संचालन सचिव लक्ष्मी पाण्डेले गरेकी थिइन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस