आज र भोलि पोखरा क्षेत्रमा पेट्रोलीय पदार्थ वितरण गर्न नसकिने

पोखरा, २८ असोज    :

के तपाँई पेट्रोल तथा डिजेल पाउने आशामा पोखरा क्षेत्रका पेट्रोल पम्पमा लाईनमा बस्नु भएको छ तर आश नगर्नु होला, यस क्षेत्रमा भएको स्टक रहेको पेट्रोलिय पदार्थ सकिएकोले आपुर्ति नभएसम्म तत्काल पेट्रोलिय पदार्थ नपाईने भएको छ ।

भारतको अघोषित नाका बन्दीको कारणले गर्दा पोखरा क्षेत्रमा तीन साता देखि सहज रुपमा पेट्रोलियम पदार्थ नआएकोले आफुहरुले चाहेर पनि पेट्रोलियम पदार्थ दिन नसेकेको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव राजन गोगंजुले बताए । नाकावन्दी पछि पोखरा क्षेत्रमा भैरहवाबाट २० हजार पेट्रोल र २४ हजार डिजेल मात्र पोखरामा भित्रिएकोले पोखरा क्षेत्रमा पेट्रोलियम पदार्थको चरम अभाव भएको महासचिव गोगंजुले बताए ।

उनका अनुसार गगन गौडा डिपोमा रहेको स्टक पेट्रोल घटस्थापनाको दिनमा पोखरा क्षेत्रमा ५९ हजार लिटर र बुधबार एक लाख ११ हजार लिटर वितरण गरीएको छ । पोखरा क्ष्ोत्रमा अहिलेको अबस्थामा १० लाख लिटर पेट्रोल अर्थात पेट्रोलका एक सय ट्याङकर आवश्यक छ भने २० लाख लिटर डिजेल अर्थात २ सय डिजेलका ट्याङकर आवश्यक रहेको महासचिव गोगंजुले बताए ।

नेपालीहरुको चाड दशैमा यात्रुहरुको आवागमन सहज बनाउन नेपाल आयल निगम लेखनाथमा रहेको गगन गौंडा डिपोबाट सार्वजनिक र अत्यावश्यकीय सवारीका साधनहरुलाई आफुसंग रहेको स्टक पेट्रोलियम पदार्थ वितरण गरेकोले यही अबस्थामा पोखरा क्षेत्रमा पेट्रोलियम पदार्थ वितरण गर्न नसकिने डिपो प्रमुख मनोज ठाकुरले बताए । उनले भने “नाकावन्दी भएको तीन साता भई सक्यो, भारतबाट पेट्रोलियम पदार्थ आएको छैन, रक्सौलबाट यस क्षेत्रमा आउने पेट्रोलियम पदार्थ ल्याउनको लागि हालसम्म कुनै आधिकारीक रुपमा वोलाएको पनि छैन, भैरहवाबाट ल्याउने प्रयास हुदा हुदै भैरहवामै अन्त्यन्त न्युन आयात भएकोले यस क्ष्ोत्रमा पाउन निकै कठिन छ ।” भएको पेट्रोलियम पदार्थलाई विवेकपुर्ण रुपमा प्रयोग गर्न आग्रह गर्दै ठाकुरले यो अबस्थामा ईन्जनको विकल्प खोज्न समेत अनुरोध गरेका छन ।

देशै भरी पेट्रोलियम पदार्थ अभाव भएपनि पेट्रोलियम पदार्थमा कालो बजारी भएको छ । एक सय ९ रुपैयको पेट्रोलको मुल्य ५ सय रुपैयासम्म तिरेर उपभोक्ताहरुले प्रयोग गर्न थालेका छन । भैरहवा, चितवन, विरगन्जबाट पोखरा क्षेत्रका उपभोक्ताहरुले समेत चार गुणा भन्दा बढी मुल्य तिरेर पनि महङगो पेट्रोलियम पदार्थ प्रयोग गर्न थालेका छन । प्रयोग भएको उक्त पेट्रोलियम पदार्थमा मिसावट भएकोले सवारी साधनलाई समेत प्रभाव पार्न थालेको उपभोक्ताहरुले बताएका छन । मिसावट भएका पेट्रोलियम पदार्थले सवारी साधनका इन्जिनलाई गंभिर असर पर्ने भन्दै प्राविधिकहरुले प्रयोग नगर्न सुझाव दिएका छन ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button