टेण्डर आह्वान गरेर मात्र डेभिसफल्सका सटरहरु भाडामा दिन व्यवसायीको माग

दिननाथ बराल

पोखरा, १७ कात्तिक-

पोखरा डेभिसफल्सका सटरहरु टेण्डर आह्वान गरेर मात्र भाडामा दिन व्यवसायीहरुले माग गरेका छन । भदौमा नै पुरानो टेण्डरको म्याद सकिएका सटरहरुलाई मोटो रकम लिएर बिना टेण्डर पुरानै व्यक्तिहरुलाई सटर दिएको केहि व्यवसायी तथा पोखराको डेभिस फल्स गुप्तेश्वर संरक्षण युवा समिति कास्कीले आरोप लगाएको छ ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको तथा पोखराको छोरेपाटन उच्च माविले भोग चलन गर्दै आएको पोखरा–१७ छोरेपाटनस्थित डेभिसफलका सटरहरु मोटो रकम लिएर बिना टेण्डर पुरानै व्यक्तिहरुलाई दिएको आरोप लगाएको छ । पुनः टेण्डर आह्वान गर्दा धेरै रकम उठ्ने भएकोले आफुहरुले पुनः टेण्डर खुलाउन माग गरेको समितिका अध्यक्ष हिक्मतजंग कार्कीले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन बताए । उनले भने “ छोरेपाटन स्कुल व्यवस्थापन समितिले मोटो रकम असुलेर बिना टेण्डर पुरानै व्यक्तिलाई सटर जिम्मा लगाइएको छ, यसमा हाम्रो आपती हो ।” स्कुल व्यवस्थापन समितिलाई पत्र लेखि पुनः टेण्डर आह्वान गर्न पटक÷पटक माग गर्दा वेसास्ता गरेको उनले आरोप लगाए । अध्यक्ष कार्कीले अहिले पुरानै व्यक्तिलाई सटर दिने स्कुल व्यवस्थापन समितिको निर्णय गैरकानूनी भएको भन्दै पुनः टेण्डर आह्वान गरेर पारदर्शी ढङ्गले सटर भाडामा लगाउनुपर्ने माग गरेका छन ।

स्कुल सञ्चालनमा सघाऊ पुगोस् भन्ने उद्धेश्यले २०५५ सालमा नगरविकास समितिको स्वामित्वमा रहेको जग्गामा स्कुलले नै सटर बनाएर भाडामा लगाएको होे । गत भदौमा टेण्डरको म्याद सकिएपछि स्कुलले नयाँ टेण्डर आह्वान नगरी पुरानै व्यक्तिलाई थप ५ वर्ष सटर दिने निर्णय गरेको थियो । यसअघी ४÷४ वर्षको लागि टेण्डर आह्वान हुने गरेको थियो भने यस वर्ष टेण्डर पनि आह्वान नभएको र एकैपटक ५ वर्षको नविकरण गर्नुमा स्कुल व्यवस्थापन समितिका पदाधिकारी पैसाको प्रलोभनमा परेको स्थानियको आरोप छ । व्यवसायीहरुले मासिक दश हजार देखि ४० हजार रुपैया सम्म सटरको भाडा दिने गरेका छन । करीब १५ बर्ष देखि सटर भाडामा दिदै आएको भए पनि हाल ३७ वटा सटरहरु भाडामा लगाइएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित डेभिस्फल्सका सटरहरुमा व्यवसायी गरिरहेका केही व्यवसायीहरुले आफूहरुले बिचमा आएर सटर किनेपनि हचुवाकै भरमा नविकरण गर्दा आफूहरुको पसल पुरानै व्यक्तिको नाममा जाँदा समस्यामा परेको बताए । एक व्यवसायी सरु पाण्डेले आफूहरुले २ लाखमा सटर किनेपनि अहिले स्कुल व्यवस्थापन समितिले पुरानै व्यक्तिको नाममा सटर नविकरण गरिदिएकाले आफुहरु ठुलो आर्थिक मागमा परेको बताईन् । उनले भनिन्,–‘स्कुल व्यवस्थापन समितिको लापरवाहीले हामी समस्यामा प¥यौं, पहिलेको पसल सञ्चालक अहिले छैनन् उनलाई अब कहाँ खोज्ने ? हामीलाई अहिले नामसारी गर्न पनि समस्या भयो, पुरानो व्यक्ति नहुँदाको फाईदा उठाउँदै व्यवस्थापन समितिले हामीलाई पहिलेको सटर छाड्न दवाब दिइरहेको छ ।’ अर्का व्यवसायी राजेशकुमार जयसवालले पनि सटर किनेको व्यक्ति ल्याउन वा सटर छाड्न व्यवस्थापन समितिले दवाब दिइरहेको बताए । पाण्डे र जयसवाल दुबैले पुरानै व्यक्तिलाई सटर दिने हो भने हालसाविक गरेर आफूहरुले पनि पाउनुपर्ने अन्यथा नयाँ टेण्डर आह्वान गर्नुपर्ने माग गरेका छन ।

यसैबीच, छोरेपाटन स्कुल व्यवस्थापन समितिका अध्यक्ष टिकाराम पौडेलले भुकम्पका कारण व्यवसायी प्रभावित भएकाले टेण्डर आह्वान नगरी पुनः पुरानै व्यवसायीलाई सटर भाडामा दिएको बताए । उनले भने “ हामीले कुनै व्यवसायीहरुसंग मोटो रकम लिएका छैनौं, पुरानै व्यवसायीलाई सटर दिएपनि २४ प्रतिशतले भाडादर बृद्धि हुने गरी दिएका हौं ।” विगत लामो समय देखि तिव्वतीयन नागरीकहरुहरुको ८ वटा स्टलहरु लिएर बसेकोले यस्तो अबस्थामा टेण्डर आह्वपान गर्दा कतै पहिलाका व्यवसायीहरु विस्थापित हुन्छन की भन्ने डरले पनि आफुहरुले पुरानै व्यवसायीहरुलाई विना टेण्डर नविकरण गरेको अध्यक्ष पौडेलले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button