तमुवान—मगरात मोर्चाले मंसिर २८ पोखरामा बृहत प्रदर्शन गर्ने

पोखरा, ८ मंसिर-
तमुवान संयुक्त संघर्ष समिति र मगरात संघर्ष समितिको आयोजनामा मंसिर २८ गते पोखरामा बृहत प्रर्दशनसहित सभा गर्ने भएको छ ।
पहिचान सहितको संघीयता, तमुवान प्रदेश सुनिश्चितता, मगरात प्रदेश घोषणा, जनसंख्याको आधारमा पुर्ण समानुपातिक प्रतिनीधित्व लगायतका मागसहितको छुट्टा छुट्टै आन्दोलनरत तमुवान संयुक्त संघर्ष समिति र मगरात संघर्ष समितिको मंगलवार पोखरामा सम्पन्न बृहत बैठकले आफ्ना माग पुरा गराउन संयुक्त मोर्चाबन्दी हुदै मंसिर २८ गते तमुवानको राजधानी पोखरामा बृहत प्रर्दशन र सभा गर्ने निर्णय गरेको हो ।

यसरी नै संयुक्त मोर्चाले मंसिर १५ गते गोर्खा, तनहुँ, स्याङ्जा र पर्वत जिल्लामा जिल्ला भेला र संघर्ष समिति गठन गर्ने, मंसिर १७ गते मौलिक भेषभुषा, धनुषबाणसहितको प्रर्दशनसहित तमुवान र मगरातका प्रमुख जिल्ला अधिकारी मार्फत नेपालका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई खवरदारी पत्र पठाउने निर्णय गरेको तमुवान संयुक्त संघर्ष समितिका सचिव गजेन्द्र लिम्बुले जानकारी दिनुभयो ।

तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुको अध्यक्षतामा भएको बृहत बैठकमा मगरात संघर्ष समितिका केन्द्रीय संयोजक तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर, मगरात संयुक्त मञ्च नेपालका संयोजक लोकबहादुर थापामगर, मगरात संघर्ष समिति मगरात प्रदेशका संयोजक बसन्त घर्ती मगर, तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङ, तमुवान संयुक्त संघर्ष समितिका राजनीतिक सल्लाहकार गणेशमान गुरुङ, तमुवान संयुक्त संघर्ष समिति अनुगमन समितिका संयोजक सुन्दर गुरुङले तमुवान—मगरात संघर्षको मोर्चागत आवाश्यकता र अधिकार प्राप्तिका लागि सशक्त आन्दोलनको विविध पक्षमा धारणा व्यक्त गर्नुहुदै जातिय पहिचान सहितको अधिकार प्राप्तिका लागि मधेशी मोर्चा, थरुहट, लिम्वुवान, खम्बुवान, तामसालिङ, नेवा, खसान लगायतका आन्दोलनलाई समन्वय गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

आन्दोलनलाई सशक्त बनाउन संगठन निर्माण, प्रशिक्षणात्मक भेला, अन्तरक्रिया र प्रचार प्रसारमा जोड दिने भएको सचिव लिम्बुले जानकारी दिनुभयो । यसैविच तमुवानको आन्दोलनका लागि बुधवारदेखि वडा, समाज, टोलहरुमा संघर्ष समिति निर्माण अभियान संचालन गर्ने बताइएको छ । कार्यक्रममा संघर्ष समितिका संयोजकहरु एसटीओ हर्कबहादुर गुरुङ, जगनबहादुर गुरुङ, ईन्स्पेटर मानकाजी गुरुङ, क्या.मेकबहादुर गुरुङ, पदमबहादुर गुरुङ, बलाराम गुरुङ, धर्मराज गुरुङ, जुना लिम्बु, जगनप्रसाद गुरुङ लगायतले आन्दोलनको बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button