
दिननाथ बराल
पोखरा ९, मंसिर
कास्की सार्दी खोलामा रहेको गण्डकी रेन्बो ट्राउट फामले रेन्बो ट्राउट जातको ताजा माछा पोखरामै उपलब्ध गराएको छ । उक्त फार्मले पोखराको जरेवरमै गण्डकी ट्राउट सिटि सप स्थापन गरेसंगै उक्त जातका ताजा माछा पोखरामा उपलब्ध गराएको होे ।
अब पोखरेलीहरुले आफ्नो घर घरमा रेन्बो ट्राउट ताजा माछाको स्वाद लिन सक्ने भएका छन् । आफ्नो फार्म र अन्य रेन्बो ट्राउट माछा उत्पादन गर्ने कृषकहरुको लागि बजारीकरण गरी पोखरेलीइलाई ताजा तथा स्वादिस्ट रेन्बो ट्राउट माछा खुवाउन पोखरामा उक्त सप हालै संचालनमा ल्याएको फार्मका अध्यक्ष लक्षिन गुरुङले बताए ।
जसरी चाउचाउ पकाउदा सादा पानी उमालेर चाउचाउ र सुप राखेर खाने गरीन्छ त्यसै गरी रेन्बो ट्राउट माछा पनि माछा र त्यसको मसला किनेर सादा पानीमा पकाएर खान सकिने उनले बताए । उनले भने “माछा खानु भन्दा माछा पकाउनु ठुलो कुरा हो, अब हाम्रो फार्म र यस रेन्वो ट्राउट जातको माछा पकाउदा आवश्यक पर्ने ग्रेभी मसला समेत हामीले बजारमा ल्याएकोले यसमा उपभोक्ताहरुले कुनै चिन्ता गर्नु पर्दैन।” रेन्बो ट्राउट माछा को मुल्य प्रति केजी ८ सय ५० रुपैया रहेको छ भने प्रतिकेजी माछालाई पुग्ने मसलाको मुल्य ६० रुपैया पर्दछ ।
आफ्नो फार्मको रेष्टुरेण्टमा पाउने स्वादको मसला आफुहरुले पोखरामा ल्याएकोले माछाका रेन्बो ट्राउट माछाका पारखीहरुलाई माछा सहित मसला लगेर सहज रुपमा आफ्नै रेष्टुरेण्टको स्वादमा घरमै बसेर खान सकिने उनले दाबी गरे । कुलरवक्समा १२ घण्टा सम्म ताजा माछा रहन सक्ने गरी उक्त माछा पोखराबाट विक्रि सुरु भएको हो भने १२ घण्टा पछि पनि उक्त माछा विक्रि नभएको खण्डमा त्यसलाई सुकुटी माछा बनाईने भएको अध्यक्ष गुरुङले बताए ।
बार्षिक रुपमा २१ टन उक्त जातको माछा उत्पादन गर्ने गरेको फार्मले आफ्नो उत्पादन सहित अन्य कृषकहरुको माछाको बजारीकरण गर्न पनि पोखरामा उक्त सप स्थापना गरीएको फार्मका व्याबस्थापक अमृत गुरुङले बताए । बार्षिक रुपमा करोडौं मुल्य बराबरको माछा नेपाल भित्रिएको सन्दर्भवमा गण्डकी रेन्बो ट्राउट फामले पछिल्लो ४ बर्षदेखि रेन्बो ट्राउट जातको माछा विदेशसम्म निर्यात गर्दै आएको व्याबस्थापक गुरुङले बताए । ईन्धन सहज हुनसाथ कम्तीमा दुई केजी भन्दा बढी माछा अडर गर्ने कुनै पनि पोखरेली उपभोक्ताको घरसम्म निशुल्क डेलिभेरीको सेवा दिने भएको उनले बताए ।
अन्य माछा भन्दा रेन्वो ट्राउट जातको माछा बढी स्वादीलो हुने, ओ मेगा थ्री तत्व पाईने भएकोले क्यान्सर प्रतिरोधात्मक, मासुको भित्रि भागमा मसिनो काँडा कम भएकोे, गुणस्तरीय प्रोटीनको मात्रा बढी पाईने भएकोले यसको सेवन वालवालीका देखि बृद्धसम्मको लागि स्वास्थ्यका दृष्टिले फाईदा जनक भएको विज्ञहरु बताउछन ।