‘आफ्नोपना’ नै धौली चल्ने मुख्य आधार- घनश्याम

  • पोखरा न्यूज
  • २०७२ मंसिर २२
‘आफ्नोपना’ नै धौली चल्ने मुख्य आधार- घनश्याम

पोखरा, २२ मंसिर-

नेपाली फिल्मले आफ्नै कथा कत्तिको बोलेको छ ? यो एउटा वहशको विषय हो । यद्यपी नेपाली फिल्महरु धेरैजसो ‘प्रभावित कथा’बाट निर्माण भएका हुन्छन् । त्यसैले नेपाली दर्शकहरु नै नेपाली फिल्मप्रति त्यति आकर्षित भएको पाईदैन ।

पछिल्लो उदाहरण हेर्ने हो भने नेपालकै सँस्कार र विषयलाई लिएर निर्माण भएको फिल्महरुले दर्शकको मन जितेका छन् । यसको एउटा ज्वलन्त उदाहरण हो प्रदर्शनरत फिल्म ‘कबड्डी कबड्डी’ । थकाली सँस्कारलाई आधार बनाएर निर्माण भएको यो फिल्मलाई दर्शकले रुचाएको धेरै कारण मध्ये एउटा कारण हो ‘नेपालीपन’ । अर्को शब्दमा भन्नुपर्दा ‘आफ्नोपन’ । आफ्नोपन बिक्छ भन्ने कुरा यसले प्रमाणित गरिदिएको छ ।

यस्तै थुप्रै आफ्नोपन बोकेका फिल्महरु यसअगाडि पनि हिट नभएका होईनन् । तर पछिल्लो समय नेपाली फिल्म दक्षिण भारतीय फिल्मको प्रभावमा बढि पर्ने गरेका छन् ।

देश समस्यामा छ । र, यतिबेला नेपालीलाई आफ्नोपन चाहिएको छ । जसले नेपाल भित्रको सँस्कारको कथालाई लिएर फिल्म बनाएका छन् उनीहरु सफल यो बेलामा हुन सक्छन् । पछिल्लो पटक रिलिजको लाईनमा बसेका फिल्महरु मध्ये एउटा फिल्म ‘धौली’ हो । र, यसको निर्माण पक्षले यसलाई नेपालीपन बोकेको फिल्म भनेका छन् ।

‘हाम्रै सँस्कार, रितिरिवाज र परिवेशभित्रै रहेर यो फिल्मको कथा बुनिएको छ । र, फिल्मको प्रस्तुतीकरणमा पनि यो कुरालाई विशेष ध्यान दिएको छु ।’ धौलीका निर्देशक घनश्याम लामिछानेले भने–‘दर्शकले फिल्म रुचाउने कुरामा म ढुक्क छु ।’ आफ्नोपनसँगै फिल्ममा दर्शकले भरपुर मनोरञ्जन पनि लिन पाउने दाबी लामिछानेले गरे । फिल्म काठमाण्डौ बाहिर पुस १० गते र काठमाण्डौमा पुस १७ गते प्रदर्शन हुँदैछ ।

फिल्ममा लोपोन्मुख कटवाल प्रथा, झाँकी प्रथा, झारा बोलाउने प्रचलन जस्ता गाउँघरका क्रियाकलाप समेत समेटेको छ । दलित महिला ‘धौली’ र ब्राह्मण युवाबीचको प्रेम सम्बन्धका कारणले आउने समस्यालाई यो फिल्मले कथाबस्तुमा बुनेको निर्माणपक्षले जनाएको छ ।

स्पाईनी ब्याबलर क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्ममा गीता अधिकारी प्रमुख भुमिकामा देखिएकी छन् । त्यस्तै विष्णु गौतम, प्रकाश घिमिरे, गजित विष्ट, विद्या कार्की, सम्भु थापा, अनु शाह लगाएतले फिल्ममा अभिनय गरेका छन् ।

प्रस्तुतकर्ता सम्भु थापा रहेको फिल्मको कार्यकारी निर्माता किरणकुमार आत्रेय हुन् । सन्तोष आत्रेय, नरबहादुर गोदार र सम्भु थापाले पनि फिल्ममा लगानी गरेका छन् । दिव्यराज सुवेदीको छायाँकन रहेको फिल्ममा बसन्त सापकोटाले संगीत दिएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस