तेइसौँ वार्षिकोत्सवमा टप्स उच्च माविमा विभिन्न कार्यक्रम

  • पोखरा न्यूज
  • २०७२ मंसिर २४
तेइसौँ वार्षिकोत्सवमा टप्स उच्च माविमा विभिन्न कार्यक्रम

पोखरा, मङ्सिर २४ –
पोखराको रामघाटस्थित टप्स उच्च माविले आफ्नो तेइसौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी बिहीबार मनाएको छ ।

विद्यालयमा आयोजित विशेष कार्यक्रम विद्यालयका संस्थापक-प्राचार्य रत्नमान गुरुङले टप्सले गुणस्तरीय शिक्षाका लागि आफ्नो कार्यक्रमलाई केन्द्रित गरिरहेको जानकारी दिनुभयो । शिक्षाका क्षेत्रमा कडा प्रतिस्पर्धा रहेको बताउँदै उहाँले टप्सले आफूलाई हल्लामा भन्दा स्तरमा माथि उठाउन प्रयास गरेको दाबी गर्नुभयो ।

शिक्षक रुपिन्द्र प्रभावीद्वारा सञ्चालित कार्यक्रममा शिक्षकहरुका तर्फबाट शिक्षिका चेतमाया गुरुङ, विद्यार्थीहरुका तर्फबाट सङ्गीत तिवारीले शुभकामना दिनुभएको थियो । सो अवसरमा सुपरभाइजर चित्रकुमार गुरुङले शिक्षकहरुका तर्फबाट प्राचार्य रत्नमान गुरुङ र संस्थापिका भक्ति गुरुङलाई पुष्पगुच्छा र खादाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।

सो अवसरमा आयोजना गरिएको टप्स हाजिरी जवाफ प्रतियोगितामा सेती सदनका रमिश गुरुङ, असिम गुरुङ र सरस्वती अधिकारीको समूह प्रथम भएको थियो । यस्तै, काली सदन र मादी सदन दोस्रो भएका थिए भने मस्र्याङ्दी सदन तेस्रो भएको थियो । अङ्ग्रेजी विभागका प्रमुख मणिप्रसाद डुम्रेले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक सुजन थापा र हरि केसी निर्णायक रहनुभएको थियो ।

वि.सं. २०५० मङ्सिर २४ स्थापना भएको टप्सबाट हालसम्म ७९५ जनाले एस.एल.सी. उत्तीर्ण गरेका छन् भने उच्च माध्यमिक तहमा विज्ञान र व्यवस्थापन सङ्कायमा पढाइ सञ्चालन भइरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस