पोखरा, २८ मंसीर –
नेपालको लागि अमेरिकी राजदूत अलेना बी टेप्लिट्सले दलहरुले आफ्नो अडानबाट केही पछाडि हटेरवर्तमानमा जारी गतिरोधको समाधान निकाल्नेमा आफू आशावादी रहेको बताउनुभएको छ । पोखरा भ्रमणमा रहनु भएकी उहाँले सोमबार यहाँका निजी क्षेत्रका प्रतिनिधीहरुसँगको भेटघाट तथा छलफलको क्रममा नेपालमा देखिएको समस्या समाधानका निम्ति अमेरिकाले सबै पक्षसँग कुराकानी गरेको जानकारी समेत दिनुभयो ।
नेपालमा नयाँ संविधान जारी हुनुलाई अमेरिकाले कोषेढुङ्गाको रुपमा हेरेको उल्लेख गर्दै राजदूत टेप्लिट्सले संविधान कार्यान्वयन र संशोधनपछि सबैको इच्छा एवं आकांक्षा समेटिनेमा आफू आशावादी रहेको बताउनुभयो । अहिले देखिएको समस्याले संविधानको कार्यान्वयनमा र मुख्यरुपमा नेपालको सम्वृद्धिमा असर पुरयाएको उहाँको धारणा थियो । अहिले देखिएको समस्याको जड प्रदेशहरुको सीमाङ्कन नै भएको बताउँदै उहाँले यो विषय भने जटिल र बहुआयामिक रहेको बताउनुभयो । “जसरी केक काट्दा तह–तह देखिन्छ, सीमाङ्कनको विषय पनि त्यस्तै छ”, उहाँले भन्नुभयो,“सीमाङ्कनले पार्ने दीर्घकालीन असरलाई समाधान गर्नु नै अहिलेको आवश्यकता हो ।”
नेपालमा जारी राजनीतिक समस्या समाधान नभएसम्म लगानी मैत्री वातावरण निर्माण नहुने बताउँदै उहाँले जलविद्युतको विकासले नेपालको कायापलट हुन सक्ने बताउनुभयो । यद्यपी, जलविद्युतको विकासको लागि नेपालको भारतसँगको सम्बन्ध सुमुधर हुनु पर्ने उहाँको धारणा थियो । “ मैले भारतको भाषा बोलेको हैन तर चुनौति भुगोलको हो”,उहाँले भन्नुभयो,“ हुन त चीनले पनि जलविद्युतको क्षेत्रमा काम गर्ला तर भारतसँग बिग्रेको सद्भाव यस्तै रह्यो भने समस्या हुन्छ ।”
उहाँको संकेत नेपालमा उत्पादित विद्युतको बजारिकरणप्रति लक्षित थियो । आफ्नो कार्यकालमा जलविद्युतको विकासमा केही गर्न सके त्यो आफ्नो पनि उपलब्धी हुने उहाँको भनाइ थियो । उहाँले अमेरिकी सरकार मातहतमा रहेको एमसिसी नामक परियोजनामार्फत नेपालको उर्जा र यातायात क्षेत्रको विकासमा सहयोग गरेको प्रसङ्ग झिक्दै उहाँले परियोजनामार्फत नियमनकारी काम भइरहेको जनाउनुभयो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नेपालको जलविद्युत, पर्यटन र कृषिको व्यवसायिकरणको लागि अमेरिकी लगानीको अपेक्षा राख्नुभयो । सीमा क्षेत्रमा भएको आन्दोलन र त्यसको आडमा भारतले लगाएको नाकाबन्दीले नेपालीलाई आत्मनिर्भरताको पाठ सिकाएको बताउँदै उहाँले भन्नुभयो–“ यो अवस्थामा हामी नेपालमा अमेरिकी लगानी आओस् भन्ने चाहन्छौँ ।” सीमा क्षेत्रमा जारी आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीले नेपाललाई परेको समस्या समाधानको लागि अमेरिकी सहयोगको अपेक्षा पनि गर्नुभयो ।
व्यवसायीहरुसँगको भेटको सुरुमा नै पोखरामा ६० प्रतिशतले पर्यटक घटेको हो भन्ने जिज्ञासा राख्नुभएकी राजदूत टेप्लिट्सलाई पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली ले अमेरिकाले आफ्नो ट्राभल एडभाइजरीमा नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाहित गर्न आग्रह गर्नुभएको थियो । होटल संघ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेलले सशस्त्र द्धन्द्धको बेलामा समेत पर्यटकहरु सुरक्षित रहेको प्रसङ्ग उल्लेख गर्दै नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाहित गर्न राजदूत समक्ष आग्रह गर्नुभयो । मधेशमा जारी आन्दोलन र भारतीय नाकाबन्दीको समस्या समाधानका लागि अमेरिकाले आफ्नोतर्फबाट सकारात्मक भूमिका निभाओस् भन्ने उहाँको भनाइ थियो ।
अमेरिकाले आफ्ना देशका नागरिकहरुको लागि जारी गरेको ‘ट्राभल एडभाइजरी”मा नेपाल असुरक्षित भनिएकोबारेको जिज्ञासामा टेप्लिट्सले भन्नुभयो–“ मेरो पहिलो चासो अमेरिकी नागरिकको सुरक्षाको हो तर हामीले जारी गरेको भाषामा सावधानी भने अपनाएका छौँ अनि यसलाई पुनरावलोकन पनि गर्नेछौँ ।”
महिला उद्यमी तथा पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य हीरा भट्टराईले अमेरिकी लगानी भित्र्याउने वातावरण निर्माणको लागि राजदूत समक्ष आग्रह गर्नुभएको थियो ।