पोखरा, २८ मंसीर –
‘कोलगेट भिजिबल ह्वाईट मिस पोखरा’को ग्राण्ड फिनालेको तयारीलाई यसका आयोजक र व्यवस्थापन कम्पनीले तिव्र पारेका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै आयोजक पोखरा जेसिज र व्यवस्थापक कम्पनी ‘ईभेन्ट्स फर यू’ले ग्राण्ड फिनालेको बारेमा जानकारी दिएका हुन् । सातौँ सँस्करणको मिस पोखराको ग्राण्ड फिनाले पुस १५ गते पोखरा सभागृहमा हुँदैछ ।
‘हामीले यो पटकको ग्राण्ड फिनालेलाई विशेष बनाउँदैछौँ ।’ सातौँ सँस्करणका मिस पोखराका सँयोजक किरण केसीले भने–‘त्यसका लागि हामीले आन्तरिक रुपमा तयारी थालिसक्यौँ भने प्रतियोगितामा सहभागीहरु पनि दिनानुदिन आफुलाई निखारिराखेका छन् ।’ पोखरा जेसिजका वर्ष २०१५ का अध्यक्ष छविलाल सुवेदीले पनि यो पटक मिस पोखरा विशेष खालको हुने दाबी गरे । ‘पोखरामा थुप्रै ब्यूटि पेजेन्टहरु हुन्छन् । तर ती सबैभन्दा हामी उत्कृष्ट र विशेष हौँ भन्ने कुरा हाम्रो ईभेन्टले देखाउनेछ ।’ उनले दाबी गरे ।
यो पटक पोखरा जेसिजले मिस पोखरालाई उत्कृष्ट बनाउनका लागि ईभेन्ट कम्पनीसँग सहकार्य गरेको छ । यस अगाडि थुप्रै ब्यूटि पेजेन्टहरु सफल बनाईसकेको कम्पनी ‘ईभेन्ट्स फर यू’ले मिस पोखराको व्यवस्थापन गरिरहेको छ । ‘सातौँ सँस्करणको मिस पोखराको सफलतासँग हाम्रो करिअर पनि जोडिन्छ । त्यसैले व्यवस्थापनमा हामीले कुनै कसर बाँकी राखेका छैनौँ ।’ पत्रकार सम्मेलनमा ईभेन्ट्स फर यूका अध्यक्ष विशाल गुरुङले भने–‘प्रशिक्षण राउण्डलाई निकै व्यवस्थित ढंगले अगाडि बढाईराखेका छौँ । र, ग्राण्ड फिनाले अझै भव्य हुनेछ ।’
यो बीचमा आयोजक र ईभेन्ट कम्पनीको व्यवस्थापनमा प्रतियोगितामा सहभागीहरुलाई विभिन्न प्रशिक्षकहरुले सिकाईरहेका छन् । व्यक्तित्व तथा नेतृत्व विकासका लागि विभिन्न व्यक्तित्वहरुसंग प्रशिक्षण लिईरहेका उनीहरुलाई कोरियोग्राफि भने जयन सुब्बा मानन्धरले सिकाईरहेकी छन् । विभिन्न स्थानमा घुमफिर र सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि प्रतिस्पर्धीहरु सहभागी भैरहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
मिस पोखराको सातौँ सँस्करणको विजेताले पुरस्कार स्वरुप पचास हजार नगद, एउटा स्कुटर र गोल्डेन क्राउन प्राप्त गर्नेछिन् । पोखराको हकमा सुन्दरी प्रतियोगिताको विजेतालाई गोल्डेन क्राउन पहिराउन लागिएको यो पहिलो पटक हो । त्यस्तै प्रतियोगिताको फस्ट रनर अपले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअपले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मिस पोखराको विजेताले विभिन्न खाले अवसरसँगै सोझै मिस नेपालमा सहभागिता समेत जनाउन पाउनेछिन् ।
मिस पोखराको सातौँ सँस्करणको लागि २३ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । ईभेन्टबाट करिब २७ लाख रुपैयाँ आम्दानी गर्ने उसले लक्ष्य लिएको छ । कोलगेट ह्वाईट भिजिबल मिस पोखरा २०१५ को को–स्पोन्सरमा एब्सिका ईन्टरनेशनल एजुकेशन, सब स्पोन्सरमा ग्लोबल रिच एजुकेशन सर्भिसेज प्रा लि, स्पोन्सरमा कान्तिपुर डेन्टल हस्पिटल, चेरिष्मा ईम्पोरियम एण्ड बुटिक र प्रथम पुरस्कार स्पोन्सरमा ग्लोबल मोटर्स प्रालि रहेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution