वन पैदावारको व्यवसायीक कारोबारबारे गोष्ठी

  • पोखरा न्यूज
  • २०७२ मंसिर २९
Post Thumbnail

पोखरा, २९ मंसीर –

पश्चिमाञ्चल क्षेत्रका उद्योगी-व्यवसायीहरुले वन पैदावारको व्यवसायीक कारोबारबारे जानकारी लिएका छन् । उनीहरु वन भनेको काठको स्रोत मात्र नभएर विभिन्न खाले उद्योगहरुलाई चाहिने कच्चा पदार्थको स्रोत समेत रहेकोमा स्पष्ट भएका छन् ।

पोखरामा सम्पन्न तीनदिने वनसम्बन्धी व्यावसायिक योजना निर्माण गोष्ठीपछि उनीहरुले यस्तो निचोड निकालेका हुन् । नेपाल उद्योग वाणिज्य संघको आयोजना एवं बहुसरोकारवाला वन कार्यक्रम तथा पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको सहआयोजनामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा पश्चिमाञ्चलका १६ जिल्लाका झण्डै ४० जना उद्योगी-व्यवसायीको सहभागिता रहेको थियो ।

गोष्ठीमा बन पैदावारको व्यवसायिक प्रयोग, त्यसको बजारिकरण तथा बनसँग आश्रित उद्योग स्थापनाको सम्भावनाबारे समेत जानकारी दिइएको पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले बताए । तालीम समापन कार्यक्रमको अध्यक्ष समेत रहेका उनले तालीमले वन पैदावारलाई आम्दानीको स्रोत बनाउन सिकाएको बताए ।

समापन कार्यक्रममा बोल्दै वनमै आश्रित रहेर फर्निचर उद्योग संचालन गरेका सफल व्यवसायी प्रकाश सेरचनले वनसम्बन्धी कानूनी बुझ्न सके यो व्यवसाय राम्रो भएको बताए । उनले वनसम्बन्धी कानूनी जटिलताहरुलाई फुकाएमा मात्र वनका सबै उत्पादनहरु व्यवसायीक प्रयोजनमा लगाउन सकिने जनाए ।

तालीममा सहभागि गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वर पाण्डे, यसैगरी लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठ,प्रशिक्षकहरु प्रकाश कटुवाल र कविर स्थापितले पनि समापनको अवसरमा वन पैदावारको व्यवसायिकरणबारे आ– आफ्ना धारणा राखेको पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका महासचिव तथा कार्यक्रम संचालक रवीन्द्रबहादुर प्रजुले जनाए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस