पोखरा, ०४ पौष –
उपन्यासकार निस्प्रभ सजीको पहिलो उपन्यास ‘डार्लिङ हार्बर’को पोखरामा शनिबार चर्चा भएको छ । यसअघि दुई कविता सङ्ग्रहका कवि सजीको पहिलो उपन्यासको चर्चा पोखरामा रयाण्डम रिडर्स सोसाइटी अफ् नेपालले गरेको हो ।
कास्कीकै हेमजामा जन्मेर हाल अष्ट्रेलिया बस्दै आउनुभएका उपन्यासकार सजीले आफू जहाँ रहे पनि पोखराको परिवेशले आफूलाई दिएको साहित्यिक प्रेरणा सम्झिरहने बताउनुभयो । आफू जन्मेको र हुर्केको परिवेशलाई उपन्यासमा उतार्न सक्दा आफूलाई गौरवबाोध भएको भन्दै सजीले उपन्यास सकेसम्म पठनीय बनाउने प्रयास गरेको बताउनुभयो । सजीका यसअघि भूपरिवेष्टित खुट्टाहरु र इजलासमा लाहुरे फुल नामक २ कविता कृति प्रकाशित छन् ।
सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कवि तीर्थ श्रेष्ठले पोखराको परिवेश नै साहित्यिक दृष्टिबाट ऊर्वर रहेको बताउनुभयो । सजीले यहीँबाट आर्जन गरेको साहित्यिक ऊर्जालाई अष्ट्रेलियामा रहँदा पनि निरन्तरता र अझ उच्च स्तरमा अघि बढाउनु प्रशंसनीय रहेको श्रेष्ठको भनाइ थियो । कविका रुपमा परिचित सजीलाई डार्लिङ हार्बरले उपन्यासकारका रुपमा स्थापित गर्नेमा शङ्का नभएको उहाँको दाबी थियो ।
कृतिको चर्चा गर्दै सोसाइटीका निवर्तमान अध्यक्ष गनेस पौडेलले नेपाली साहित्यमा डार्लिङ हार्बर एक छुटाउनै नहुने कृति भएको दाबी गर्नुभयो । सो कृतिका सम्पादक समेत रहनुभएका पौडेलले सो कृतिलाई नेपाली साहित्यले बेवास्ता गर्ने हो भने सिङ्गो साहित्यको भविष्यलाई ठुलो क्षति पुग्ने जिकिर गर्नुभयो । कतिपय कृतिको चर्चा सुरुमा नभए पनि पछि त्यसको महत्त्व बुझेपछि स्थापित हुँदै जाने भन्दै उहाँले डार्लिङ हार्बरको चर्चा समयको क्रमसंगै बढ्दै जाने दाबी गर्नुभयो । कृतिमा प्रेमको कथा भएको तर सस्तो प्रेमको कथा नभएको उहाँको भनाइ थियो ।
अर्का समीक्षक ईश्वरमणि अधिकारीले डार्लिङ हार्बरले पोखरा र वरिपरिको परिवेशलाई समेटेकाले पनि आफ्नोपन भेटिने बताउनुभयो । पोखराले गौरव गर्न लायक लेखकको कृतिले नेपाली साहित्यमा ठुलै महत्त्व राख्नेमा पनि अधिकारीले विश्वास व्यक्त गर्नुभयो । बिक्रम, मधु र आभाको कथाले पाठकलाई एकोहोरो तानिरहने भन्दै उहाँले उपन्यास पठनीय रहेको बताउनुभयो ।
प्रकाशक बुक हिलका सञ्चालक भूपेन्द्र खड्काले डार्लिङ हार्बरले नाकाबन्दी र भूकम्पले निराश बनाएको साहित्यिक बजारमा केही आशा जगाएको बताउनुभयो । सो उपान्यासको छिटै दोस्रो संस्करण बजारमा आउने पनि उहाँले जानकारी दिनुभयो ।
सचिव रुपिन्द्र प्रभावीको सञ्चालन र उपाध्यक्ष केशवशरण लामिछानेको स्वागतमा भएको कार्यक्रममा सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार गर्ने कार्यक्रममा आगामी पुस २५ गते युवा लेखक युग पाठकले सल्मान रुस्दीको कृति ‘सर्टानिक भर्सेस’माथि परिचर्चा गर्नुहुने जानकारी दिइएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution