राष्ट्रपतिमाथि भएको अपमानजनक घटनाको विरोधस्वरुप अनेमसंघले विरोध सभाको आयोजना

  • पोखरा न्यूज
  • २०७२ पौष ६
Post Thumbnail

पोखरा, ०६ पौष –
जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा विवाह पञ्चमीको दिनमा राष्ट्रपति जानुपर्ने परम्परागत कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मधेशी मोर्चाको एक समूहले गरेको अपमानजनक घटनाको विरोधस्वरुप अनेमसंघ कास्कीले पोखराको सभागृहचोकमा एक विरोध सभाको आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि अनेमसंघ केन्द्रीय सचिव सृजना शर्माले देशको राष्ट्रपपतिको अपमान भनेको सिंगो नेपालको मात्र नभई विश्वकै महिलाहरुको अपमान भएको बताउँदै हामी सम्पूर्ण क्षेत्रमा महिलाहरु, युवा, विद्यार्थी संगठन, व्यापारी, उद्योगी, नागरिक समाज सबैले विरोध जनाउँदै मधेशी मोर्चाका उच्छृंखल गतिविधि गर्ने मतियारहरुको खोजी गरी कडाभन्दा कडा कारवाहीको लागि सरकारसँग जोडदार माग गर्नुपर्छ भन्नुभयो ।

विरोध कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला उपसचिव प्रभाव कोइराला, अनेमसंघ केन्द्रीय सदस्य एवम् गण्डकी इन्चार्ज मित्रकुमारी गुरुङ्ग सुवेदी, केन्द्रीय सल्लाहकार गजकुमारी गुरुङ्ग, अनमेसंघ नगर अध्यक्ष गंगा कुँवर लगायतले राष्ट्रपतिमाथि भएको अपमानको घोर विरोध गर्दै उक्त घटनामा सम्मिलित व्यक्तिहरुलाई कडा कारवाहीको माग गर्नुभएको थियो ।

अनेमसंघ कास्कीका का.वा.अध्यक्ष सुशील पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनमेसंघ जिल्ला समितिका पदाधिकारी, पोखरा नगर, लेखनाथ नगर कमिटीका अध्यक्ष एवं सदस्यहरु, सम्पूर्ण वडाका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन अनेमसंघ जिल्ला समितिका सचिव शशीकला बरालले गर्नुभएकोथियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस