बालगृह व्यवस्थापन तथा सञ्चालन र बाल अधिकारबारे अभिमूखिकरण तालिम

पोखरा, ०६ पौष – 
कानूनमा देखिएका जटिलताको समाधान गर्दै बालगृहहरुलाई अझ व्यवस्थित बनाएर सञ्चालन गर्न पश्चिमाञ्चल क्षेत्रमा रहेका बालगृहहरुले प्रतिवद्धता जनाएका छन् । बालगृहहरुको महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय समितिको आयोजनामा बालगृह व्यवस्थापन तथा सञ्चालन र बाल अधिकारबारे अभिमूखिकरण तालिमपछि बालगृह सञ्चालकहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

कास्कीको धम्पुसमा आईतबार र सोमबार गरी दुई दिनसम्म चलेको उक्त तालिममा बालगृह व्यवस्थापन, वर्तमान समस्या र चुनौतिको समाधान, कानूनी अवस्था, बालगृहहरुका कमि कमजोरीहरु, बाल अधिकार, संस्थाको लेखा व्यवस्थापन, लैंिगक सचेतना लगायतका विषयमा कास्कीका बाल अधिकार अधिकृत बद्री वाग्ले, गैर सरकारी संस्था महासंघका उपाध्यक्ष एवं कानून व्यवसायी मनोजकुमार कँडेल, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का, जिल्ला विकास समिति कास्कीका सामाजिक विकाश अधिकृत अर्जुन न्यौपाने, कास्कीका प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसी, थ्रि एन्जल्स नेपालका कार्यकारी निर्देशक डा राजेन्द्र गौतम लगायतले सहजिकरण गर्नुभएको थियो ।

तालिम समापनको अवसरमा बोल्दै प्रमुख अतिथी एवं प्रमुख महिला विकाश अधिकृत लक्ष्मी जिसीले बालगृह सञ्चालकहरुलाई सरकारले दुख दिने नियतले बेला बेलामा निगरानी गरेको नभई अभिभावकत्वका लागि यसो गरिएको बताउनुभयो । ‘तपाईँहरुलाई अरुले औँला उठाएको हामी सहन सक्दैनौँ, त्यस्तो आरोपले हामीलाई पोल्छ, बाहिरबाट आरोप आउनुपहिले सजग गराउनु हाम्रो कर्तव्य हो, हामीलाई अन्यथा नसोच्नुस’ सरकारले गर्ने बालगृहहरुहरुको पटक पटक गर्ने अनुगमनको सन्दर्भमा उहाँले भन्नुभयो । बालगृह सञ्चालकहरुलाई लाग्ने आरोपको संरक्षणका लागि सरकारलाई अप्ठेरो परिरहेको समेत उहाँले बताउनुभयो । सो अवसरमा जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत बद्रि वाग्लेले बालबालिकाको क्षेत्रमा काम गर्ने सम्पूर्ण संघ संस्था एउटै डुंगामा रहेको बताउनुभयो । ‘कुनै एक संस्था वा संस्थामा आवद्ध व्यक्तिको गल्तीले बालबालिकाको क्षेत्रमा काम गर्ने सबै संस्थाहरुलाई आरोप आउन सक्छ ।’ उहाँले भन्नुभयो ‘यसमा सबै सजग हुनपर्छ’ ।

त्यस्तै गैर सरकारी संस्था महासंघका उपाध्यक्ष एवं कानून व्यवसायी मनोजकुमार कँडेलले तालिम आँफैमा व्यवहारिक भएकाले व्यवहारमा लागू गर्न र कुनै हालतमा मापदण्ड विपरित काम नगर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा बालगृहहरुको महासंघका केन्द्रिय अध्यक्ष रमेश खतिवडाले विगतमा गरेका कमजोरी केलाएर भविष्यमा कसरी सिर्जनशील बन्न सकिन्छ भनेर तालिमले सहयोग पुर्याउने बताउनुभयो । सहभागीको तर्फबाट आफ्नो भनाई राख्दै पूर्व सभाषद समेत रहनुभएकी उर्मिला थापामगरले तालिम फलदायी रहेको बताउनुभयो । तालिममा पश्चिमाञ्चलका विभिन्न जिल्लामा रहेका बालगृह सञ्चालकहरु मध्ये ४८ जनाको सहभागिता रहेको थियो ।

बालगृहहरुको सञ्जाल कास्कीका अध्यक्ष गोमा ढकालको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सञ्जालका सचिव विजयकुमार प्रधानले गर्नुृभएको थियो ।

यसअघि आईतबार गैर सरकारी संस्था महासंघका केन्द्रिय सचिव रामप्रसाद सुवेदीले तालिमको उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button