कास्कीकी गुरुङ सहित उसु खेलाडी सागकालागि छनोट

काठमाडौं, ०६ पौष –

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने उसु खेलाडीको छनोट सोमबार पूरा भएको छ ।

नेपाल उसु संघद्वारा आयोजित राष्ट्रव्यापी खुला छनोट उसु प्रतियोगताबाट सान्सौं तर्फ ६ पुरुष र ३ महिला गरी ९ खेलाडी छनोट भए । aथाउलोतर्फ समान ४–४ पुरुष-महिला गरी ८ खेलाडी छानिएका छन् । प्रत्येक स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएका हुन् ।

सान्सौं र थाउलो दुवैमा मिलाएर नेपाल आर्मी क्लबबाट सर्वाधिक ८ खेलाडी छनोट भएका छन् । आर्मीका प्रशिक्षकमा राजिव महर्जन हुन् । सान्सौंको पुरुष ५२ केजीमा १० औं सागका स्वर्ण विजेता भक्तपुरका  राजकुमार रसाइली, ५६ केजीमा कैलालीका राजेश चौधरी, ६० केजीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका मंगलप्रसाद थारु, ६५ केजीमा बाँकेका सरोज पुन, ७० केजीमा आर्मीका चित्रसिंह ठकुरी तथा ७५ केजीमा काठमाडौंका धनवीर महर्जन
छनोट भए ।

सान्सौंकै महिला ५२ केजीमा कास्कीकी झरणा गुरुङ, ६० केजीमा नेपाल प्रहरीकी जुनी राई र ७० केजीमा आर्मीकी विन्दु पुन मगर छानिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा भएको प्रतियोगिताको थाउलोतर्फ पुरुष नान छ्वान-नान कुन सुमा एपीएफका युवराज थापा तथा महिला नान छ्वान-नान ताउ सुमा आर्मीकी निमा घर्ती मगर पहिलो भए । थाइची छ्वान-थाइची चियन सुको पुरुषमा आर्मीका हरिप्रसाद गोले र महिलामा आर्मीकी सविता राईले सागमा सहभागिता पक्का गरे । त्यस्तै पुरुष कुन सु-ताउ सुमा आर्मीका विश्व बुढा मगर तथा महिला चेन सु-छियन सुमा आर्मीकी ओशिन राई छानिएका छन् । छान छ्वानको पुरुषमा आर्मीका विजय थापा सिन्जाली र महिलामा एपीएफकी सुष्मिता तामाङ पहिलो दिन
नै छनोट भइसकेका छन् ।

तीनदिने प्रतियोगितामा १ सय १५ खेलाडीले प्रतिस्पर्धा गरेको उसु संघले जनाएको । प्रतियोगतामा प्रहरीले पहिलोपटक उसुमा प्रतिस्पर्धा गरेको प्रहरीका प्रशिक्षक श्याम लामाले जनाएका छन् ।

१० औं संस्करणदेखि उसु सागमा पहिलोपटक समावेश गराइएको थियो । त्यसबेला उसुले २ स्वर्ण जितेका थियो । ११ औंमा पनि उसुले नेपाललाई २ स्वर्ण दिलाइसकेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button