पोखरा, ०८ पौष –
गायक बिक्की गुरुङ र नरेश राईको पप तथा आधुनिक गीतहरुको सङ्ग्रह ‘सञ्जोग’ अनुपम म्युजिकको छैटौँ प्रस्तुतीमा बजारमा आएको छ ।
एल्बममा बिक्कीको स्वरमा ४ वटा र नरेशको स्वरमा ४ वटा गीतहरु रहेका छन् । एल्बममा अनुराग अधिकारी, राजेन्द्र अधिकारी, दुर्गाबहादुर शाह ‘बाबा’, पदम गाहा मगर र नवराज बरालको रचना तथा राजेश क्षेत्री, एन. जे. सागर ठकुरी र नवराज बरालको सङ्गीत रहेको छ । सम्पूर्ण गीतमा राजेश क्षेत्रीको सङ्गीत संयोजन रहेको छ ।
पोखरा लिङ्कन इन्टरनेशनल कलेजका निर्देशक, एडिटेक नेटवर्कका प्रबन्ध निर्देशक तथा सिभिल इन्जिनियर बिक्कीको रेकर्ड भएको यो नै पहिलो एल्बम हो । यसअघि बैङ्लोर बी. एम. एस. कलेज अफ इन्जिनियरिङमा पढदादेखि नै मञ्चीय प्रस्तुती गर्नुभएका गुरुङ नेपाल स्टार २००५मा पनि उत्कृष्ट गायक ठहरिनुभएको थियो । ‘अनौपचारिक रुपमा विभिन्न प्रस्तुतीहरु गरे पनि यो नै मेरो डेब्यु एल्बम हो’ गुरुङले भन्नुभयो, ‘अहिलेसम्म पाएको स्रोता र शुभचिन्तकको सुझावले हौएिको छु ।’
यसअघि नै एलिजा स्टार–२ का फस्ट रनर अप हुनुभएका दार्जिलिङका अर्का गायक नरेश राईको पनि यो नै पहिलो एल्बम हो । ५ वर्षअघि पारिवारिक कामले पोखरा आउनुभएका राईलाई पोखराको माहौलले आकर्षित गरेपछि यहीँ सङ्घर्ष गर्ने रहर जागेर यहीँ बसेको उहाँको भनाइ छ । हाल त्रिवेणी सङ्गीतालयमा सङ्गीतको औचारिक ज्ञान हासिल गरिरहनुभएका राई पनि यो एल्बमबाट निकै आशावादी देखिनुभएको छ । भन्नुहुन्छ, ‘म पोखराको साङ्गीतिक माहौलबाट निकै प्रभावित छु, यहीँका सङ्गीतकर्मीहरुसँग हातेमालो गर्दै अघि बढ्ने छु ।’
एल्बमका प्रस्तुतकर्ता लोकेन्द्र अर्यालले असल मित्रताको चिनोका रुपमा आफूले यो एल्बम स्रोतासामु ल्याएको बताउनुभयो । यसले गीत सङ्गीतप्रति रुचि नभएकालाई पनि आकर्षित गर्ने अर्यालको दाबी छ । सवारी दुर्घटनामा परी ज्यान गुमाएकी आफ्नी अर्धाङ्गिनी जमुना पहारी अर्यालमा समर्पण गरी लोकेन्द्रले प्रस्तुत गर्नुभएको एल्बमका गायक बिक्की र नरेशको प्रतिभालाई बाहिर ल्याउनु जरुरी भएकाले पनि आफूले यो पहल गरेको उहाँले बताउनुभयो ।
एल्बमका पोखरासँग सम्बन्धित केही गीतहरुको म्युजिक भिडियो निर्माणको तयारीमा रहेको उत्पादक तथा वितरक अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिनुभयो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution