‘झरीको किनार’ को पोखरामा लोकापर्ण तथा परिचर्चा

पोखरा, ११ पौष –

कवि चैतन्य अधिकारीले ‘झरीको किनार’ कविता संग्रह बजारमा ल्याएका छन्। पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन गरेको अधिकारीको कविता संग्रह ‘झरीको किनार’ को पोखरामा शनिबार लोकापर्ण तथा परिचर्चा भएको छ।

jhari 2

कृतिको लोकापर्णपछि संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले नेपाली कवितामा आफ्नोपन हराइरहेका बेला कवि चैतन्यले सरल, शिष्ट र वौद्धिक कवितामा आफ्नोपन दिएको बताए। कवितालाई बढी बौद्धिक र क्रान्तिकारी बनाउन खोज्दा धेरै कविहरु चिप्लने गरेको भन्दै सरुभक्तले कवि चैतन्यले सरल र फरक स्वादमा कविता लेखेको बताए।

कवि तीर्थ श्रेष्ठले आफ्नो कविताको अनुहारमा अरुकै अनुहार झल्कन नहुने भन्दै चैतन्यले आफ्नै अनुहार देखिएको बताए। उनले शिष्ट र सरल भावमा कविता लेखेकोमा शुभकामना दिँदै सफलताको शुभकामना दिए। चैतन्य प्राकृतिक विचित्र लाग्दो वैविध्यतामा रमाउने कवि भएको श्रेष्ठले बताए।

संग्रहको परिचर्चा गर्दै समिक्षक गनेस पौडेलले कविता सरल र फरक स्वादका भएपनि कुनै कविता कमजोर रहेको बताए। कतिपय ठाउँमा कविताले खाजेको भाव भन्दा पनि आफु हावी हुँदा कविता चिप्लिएको पौडेलले बताए। यसैगरी अर्का परिचर्चाकार जीवनसागर भण्डारीले कविताले प्रकृति, माटो देशप्रेम बालेको बताए। देश र माटोप्रतिको प्रेम, प्रकृति र समाजिक विषय सरल ढङ्गमा आएको भएपनि संग्रह गीत, गजल, मुक्तक र कविता सबैखाले मिसिएको जस्तो गरी आएको बताए।

कविको परिचय दिँदै कवि सरस्वती प्रतिक्षाले अधिकारी लामो समय विदेशमा अध्ययन गरी योग्यता हाँसिल गरेपछि देशकै सुगन्धमा रमाउन आएका कवि भएको बताईन्। केमिकल इन्जिनियरिङ जापानमा विद्यावारिधि, व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका चैतन्य विदेशका धेरै अवशरहरु छाडेर देशमै कर्म गर्ने थोरै व्यक्तिमा पर्ने बताईन्। इन्जिनियरिङको विद्यार्थी चैतन्य नेपाली साहित्यमा लाग्नु पनि शुखद कुरा भएको उनको भनाई थियो। कार्यक्रममा कवि डाक्टर वसन्त गौतम र अमृत सुवेदीले अधिकारीको कविता वाचन गरेका थिए।

परिवारका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दीपक समिपले स्वागत र सचिव अर्जुन अधिकारीले संचालन गरेका थिए । कविता संग्रह ‘झरीको किनार’मा ८ खण्डमा ६२ कविता छन्।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button