पशुपालन गरेर उज्यालो भबिस्य बनाउदै अधिकारी दाजुभाइ

पोखरा, १३ पौष –

कालिका–१४, झाँझरमरेका ३ जना अधिकारी दाजुभाईको विदेश मोह हराएको छ । २० देखि २६ वर्ष भित्रका ३ जना यी दाजुभाई सरोज, शैलेन्द्र र प्रकाश रमणको पुरै समय पशु पालनमा बित्ने गरेको छ ।

पोखरा–१ बगर स्थित भिमकाली पाटनमा रहेको संस्कृत मा.वि.को पछाडी सेतीको डिलमा रहेको बञ्जर जग्गा भाडामा लिएर गाई भैंसी पालन गर्दै आफ्नो जिवनको युवा वयलाई गोठ भित्रै समर्पण गरेका छन् ।

विहान ४ बजे उठेर दुध दुहुने, प्याकेट गर्ने र ग्राहकको घर–घरमा पुरयाउने अनि दिनभरी घाँस पराल, खोलेपानी र भकारो व्यवस्थापन गर्नु नित्यकर्म जस्तै बनेको छ । जाडो, गर्मी, बादल वर्षा, चाडपर्व कहिल्यै फुर्सद हुन्न उनीहरुलाई र पनि खुसी छन्, सन्तुष्टी छन्, आफ्नो पेसा प्रति उनीहरु ।

यो उमेर समूहका अधिकांस युवाहरु विदेश पुगेर जिवन समर्पण गरिरहेका छन् । तर उनीहरु आफ्नो मुलुकमा केही गर्न सकिन्छ भनेर हिम्मत गरेको बताउँछन् । तीन भाई मध्ये जेठो सरोज रमण भन्छन् “विदेशमा गएर अरुको दास बन्नु भन्दा आफ्नै माटोमा पसिना चुहाउनु राम्रो लागेर विदेशको मोह छोडियो र स्वरोजगारजन्य पशुपालन व्यवसायमा लागियो।”

अरबको खाडीमा कमाउन जानेहरुको दुर्दशा देखेर पनि अधिकारी दाजु भाइहरुको चेत खुलेको रहेछ । माइला भाइ शैलेन्द्र अधिकारी पनि विदेशमा गर्ने मेहनतलाई यहीं सदुपयोग गरे अरबमा भन्दा बढी कमाउन सकिने बताउँछन् । दिउँसो सरकारी स्कुलमा शिक्षण पेशा गर्दै आएका शैलेन्द्र बिहान बेलुका गोठमै खटिन्छन् ।

कान्छा प्रकाश रमणलाई भने कालिकामा रहेका बा–आमालाई सघाउनुपर्ने चटारो पनि छ । आमाबाबाले पनि गाउँमा हात बाधेर बसेका छैनन् । झण्डै ४० वटा बाख्रा पालन गरेका बाबा विश्वरमण अधिकारीले पनि छोराहरु स्वदेशमै रमाएर पशुपालन र खेती किसानी गरेकोमा खुसी व्यक्त गरे । पैसा कमाउनकै लागी विदेश जानु पर्दैन भन्ने उदाहरण आफ्नो छोराहरु बनेकोमा अधिकारी खुसी र सन्तुष्टी दुबै छन् ।

सरोज पशुपालन तथा अर्गानिक कृषि फार्म दर्ता गराएर विधिवत् व्यवसाय सञ्चालन गर्दै आएका युवाहरुले वार्षिक पाँच लाख रुपैया बचाउँदै आएको बताउँछन् । राज्यले युवा उद्यमी र वास्तविक कृषकहरुलाई टेवा दिने गरी कार्यक्रम ल्याउनुपर्ने उनीहरुको अपेक्षा छ तर राज्यका निकायहरु यथार्थमा युवा लक्षित भन्दा कागजी योजना लक्षित कार्यक्रम ल्याएकोले त्यसबाट वास्तविक र स्वरोजगार कृषकलाई उचित न्याय नगरिएको ठम्याई रहेको छ ।

राज्यले विदेशबाट फर्किएकाहरुलाई युवा लक्षित कार्यक्रममा अनुदान दिने कार्यक्रममा पनि पुरा समय स्वदेशमै बसेर कृषि तथा पशुपालन गरिरहेका युवाहरुलाई निरुत्साही गर्ने गरिरहेको छ । यो प्रकृयाले गर्दा विदेश जानेहरुको पासपोर्टको फोटोकपी मगाएर योजना पारेर लाभ लिने गरिएको पनि कतिपयले गुनासो गर्ने गरेका छन् ।

जिल्ला पशुसेवा कार्यालय कास्कीका कार्यालय प्रमुख राकेश प्रजापति युवा लक्षित कार्यक्रम विदेशबाट फर्किएका दक्ष कृषकहरुलाई विदेश फर्कनबाट रोक्नका लागी ल्याइएको बताउँछन् । उनले मन्त्रालयले जारी गरेको निर्देशिका र सोही अनुसारको कार्यक्रमको फ्रेमलाई कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको बताए ।

कृषि प्रधान देश नेपालले कृषि क्षेत्रमा ठूलो बजेट खर्च गर्दै आएको छ । राज्यले किसान लक्षित कार्यक्रम ल्याउँदा धरातलीय यथार्थता बुझेर मात्र ल्याउनुपर्ने योजना विज्ञहरु बताउँछन् । सिंह दरबारको बन्द कोठामा बसेर बनाइने योजनाहरुले वास्तविक किसानहरुलाई टेवा दिन्छ दिदैन, त्यसतर्फ पनि समीक्षा गर्नु जरुरी छ ।

कालिकाका अधिकारी युवाहरु एक उदाहरण पात्र मात्र हुन् । नेपालका हजारौ गोठ, खोर, टनेल र खेतबारीका गराहरुमा खटिरहेका लाखौं युवाहरुको लागी राष्ट्रको कृषि प्रशासन यथार्थमै व्यवसायिक कृषक र युवा उद्यमी समक्ष उपस्थित हुनु जरुरी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button