धौलीलाई रुचाए उपत्यका बाहिरका दर्शकले

  • पोखरा न्यूज
  • २०७२ पौष १४
धौलीलाई रुचाए उपत्यका बाहिरका दर्शकले

पोखरा, १४ पौष –

नेपाली फिल्म धौलीलाई दर्शकले रुचाएका छन् । यो शुक्रबारदेखि काठमाण्डौ बाहिरका शहरहरुमा प्रदर्शन भैरहेको यो फिल्मको मौलिक पक्षलाई दर्शकले विशेष रुचाएका छन् । व्यापारको हिसाबले पनि अरु दुई फिल्म ‘आधा पेज’ र ‘टिस्टा पारिको साईनो’ भन्दा धौली धेरै अगाडि रहेको हलवालाहरुले बताएका छन् ।

मोफसलका शहरको प्रदर्शनबाट राम्रो दर्शक प्रतिक्रिया पाएको धौली फिल्मको यूनिट काठमाण्डौ प्रदर्शनलाई लिएर अझै बढि आशाबादी देखिएको छ । काठमाण्डौ रिलिज अबको शुक्रबार रहेको छ । शुक्रबारबाट काठमाण्डौमा प्रदर्शन हुने फिल्मका लागि निर्माण यूनिट यतिबेला काठमाण्डौ केन्द्रित बनेको छ । सम्पूर्ण निर्माता तथा निर्देशक पोखराका रहेको यो फिल्मको निर्माण यूनिट काठमाण्डौ पुगेर आवश्यक प्रचारलाई तिव्रता दिईरहेको छ ।

‘काठमाण्डौ बाहिरको दर्शक प्रतिक्रियाले हामी उत्साहित बनेका छौँ । हेरेका जति दर्शकले फिल्म रुचाईदिनुभएको छ ।’ निर्देशक घनश्याम लामिछानेले भने–‘काठमाण्डौका दर्शकले फिल्मलाई अझै रुचाउने हामीले अनुमान लगाएका छौँ ।’ विशेषगरि काठमाण्डौका मल्टिप्लेक्स दर्शकले फिल्मलाई रुचाउने अनुमान निर्माणपक्षको छ ।

उपत्यका प्रदर्शनका लागि निर्माताहरु सन्तोषकुमार आत्रेय, सम्भु थापा, निर्देशक घनश्याम लामिछाने, मुख्य अभिनेता विष्णु गौतम लगाएत देश दौडाहा भ्याएर काठमाण्डौ पुगेका छन् । यो टोलीले बुधबार काठमाण्डौमै फिल्मको प्रेस शो पनि गर्ने जनाएको छ ।

फिल्म धौलीलाई निर्माण पक्षले यसलाई नेपालीपन बोकेको फिल्म भनेका छन् । फिल्ममा लोपोन्मुख कटवाल प्रथा, झाँकी प्रथा, झारा बोलाउने प्रचलन जस्ता गाउँघरका क्रियाकलाप समेत समेटेको छ । दलित महिला ‘धौली’ र ब्राह्मण युवाबीचको प्रेम सम्बन्धका कारणले आउने समस्यालाई यो फिल्मले कथाबस्तुमा बुनेको निर्माणपक्षले जनाएको छ ।

स्पाईनी ब्याबलर क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्ममा गीता अधिकारी प्रमुख भुमिकामा देखिएकी छन् । त्यस्तै विष्णु गौतम, प्रकाश घिमिरे, गजित विष्ट, विद्या कार्की, सम्भु थापा, अनु शाह लगाएतले फिल्ममा अभिनय गरेका छन् ।

प्रस्तुतकर्ता सम्भु थापा रहेको फिल्मको कार्यकारी निर्माता किरणकुमार आत्रेय हुन् । सन्तोष आत्रेय, नरबहादुर गोदार र सम्भु थापाले पनि फिल्ममा लगानी गरेका छन् । दिव्यराज सुवेदीको छायाँकन रहेको फिल्ममा बसन्त सापकोटाले संगीत दिएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस