पोखरा, २३ पौष –
विप्लव नेतृत्वको नेकपा माओवादीले युद्धकालिन जनसरकारको झल्को दिनेगरी जन परिषद घोषणालाई निरन्तरता दिएको छ । द्वन्द्वकालिन समयमा माओवादीले समानान्तर सरकारका रुपमा चलाएको जनसरकारकै झल्को दिनेगरी विप्लव माओवादीले जनपरिषद घोषणा गरेको हो ।
जनपरिषद घोषणाको निरन्तरता स्वरुप माओवादीले तमुवान स्वायत्त जनपरिषद घोषणा गरेको छ । माओवादीका स्थाई समिति सदस्य धर्मेन्द्र वास्तोलाको प्रमुख आतिथ्यता तथा केन्द्रीय जनपरिषद नेपालका प्रमुख सन्तोष बुढामगरको उपस्थितिमा किसन सिंह गुरुङको नेतृत्वमा २१ सदस्यीय स्वायत्त प्रादेशिक जनपरिषद घोषणा गरेको हो । परिषदको उपप्रमुखमा माया चेपाङ सर्वसम्मत चयन हुनुभएको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा उल्लेख छ । परिषदमा रहेका अन्यको नाम भने सार्वजनिक गरिएको छैन ।
तमुवान परिषद विहीबार सार्वजनिक गर्दै माओवादी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले संसदीय प्रणाली असफल भएकाले जनपरिषद घोषणा गर्नुपरेको बताए । उनले भने,–‘संसदीय प्रणाली नेपालमा असफल भइसक्यो, अब संसदीय व्यबस्था फालेर जनवादी सत्ता स्थापना गर्नेतर्फ जान जरुरी छ, यसैको तयारी स्वरुप जनपरिषद घोषणा गरेका हौं ।’ उनले राष्ट्रिय एकताका लागि पहिचानसहितको स्वायत्त प्रदेश निर्माण गर्नुपर्ने धारण राख्दै भने,–‘ईतिहासमा जातजातीले राज्य गरेको तर कालान्तरमा एकीकरण भएपछि तिनैलाई दमन गरेर राख्दा राष्ट्रिय एकता हुन सकेन, अब राष्ट्रिय एकताका लागि जात, वर्ग र क्षेत्रलाई समेटेर प्रदेश निर्माण गर्नुपर्छ ।’ उनले पहिचानको कुरा गर्दा संसदबादीले जातीय पक्षधर भनेर सबै जातलाई कहाँ राज्य दिन सकिन्छ र ? भनेर बठ्याईं गरेको भन्दै यसैले अहिलेको समस्या निम्त्याएको बताए ।
बास्तोलाले बृहद शान्ति सम्झौता भन्दा पछि हटेर ल्याईएको संविधानले देशको समस्या समाधान गर्न नसक्ने बताए । उनले जनताले रिजेक्ट गरेको संविधानको औचित्य नभएको पनि जिकिर गरे ।
उनले भारतको चाकरी र दलाली गरिरहेका संसदवादी दलले भारतको आशिर्वाद पाउन आन्तरिक प्रतिष्पर्धा गर्नेगरेको आरोप लगाए । उनले संसदवादी सिस्टमले काम गर्ने भएकाले केपी ओलीको ठाउँमा रामचन्द्र, प्रचण्ड वा जो सुकै व्यक्ति आएपनि देशमा देखिएको समस्या समाधान नहुने ठोकुवा गरे । देशको समस्या समाधान गर्न सिस्टम नै परिवर्तन गर्नुपर्ने उनको भनाई थियो ।
स्थाई समिति सदस्य बास्तोलाले भारतले नेपालमाथी अहिलेमात्र नभई सँधै नाकाबन्दी लगाईरहेको तर्क गरे । स्वतन्त्र रुपमा नेपालले पाउनुपर्ने पारवहन सुविधा भारतले कहिल्यैपनि नदिएको बताउँदै उनले पुँजीवाद भित्र यो हुनु स्वाभाविक भएको बताए । अमेरीकाले रुष, कोरिया, ईरान, ईराक लगायतका देशमा यसैगरी नाकाबन्दी लगाउँदै आएको दाबी गर्दै उनले भारतले पनि अमेरीकाकै सिको गरेर नेपालमाथी नाकाबन्दी लगाईरहेको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution