पोखरा, २३ पौष –
पोखरा उपमहानगरपालिका वडा नं २४ कृष्तीनाच्ने चौरको दम्सादीबाट उपमहानगरपालिकाको वडा नं १७ स्थित पहलतरा जोड्ने फुस्रे खोलामा माथि झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

पुलको अभावमा वर्षौंदेखि लगभग डेढ घण्टा पैदल हिड्न बाध्य कृष्तिनाच्ने चौर, निर्मलपोखरी लगायत स्थानका स्थानीयवासी सो पुल निर्माण सम्पन्न भए पछि भने १० मिनेटमा आवतजावत गर्न सक्ने भएका छन् ।
सस्पेन्सन ब्रीज डिभिजन कार्यालयद्वारा एक करोड २२ लाख ५० हजार रुपैयाको लागतमा निर्माण गर्न लागिएको दुई सय ७६ मिटर लम्बाईको पुलको एक कार्यक्रमकाबीच व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले आज शिलान्यास गर्नुभयो ।
कार्यक्रममा उहाँले पोखराको नजिक रहेर पनि पुलको अभावमा ओझेलमा परेको यस क्षेत्रको विकास आगामी दिनमा बढेर जाने विश्वास व्यक्त गर्नुभयो ।
प्रचुर पर्यटकीय सम्भावना बोकेको यस स्थानको विकासका साथै आसपासका कास्कीको निर्मलपोखरी, स्याङ्जाको पौवै गौंडे, टक्सार, फेदीखोला लगायतका स्थानका सर्वसाधारणका लागि पनि पुल अत्यन्त उपयोगी हुने उहाँले बताउनुभयो ।
पोखरा विमानस्थल शिलान्यास आगामी माघ १६ गते हुने गरी तयारी भैरहेको बताउँदै सभापति अधिकारीले विकास निर्माणमा सबै राजनीतिक दलको सामुहिक प्रतिवद्धता र सहयोग आवश्यक हुने धारणा राख्नुभयो । पोखरा र यस आसपासका क्षेत्रको विकासका लागि उत्तरमा केरला नाकादेखि दक्षिणमा सुनौलीलाई जोड्नुपर्नेमा उहाँको जोड थियो ।
झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष तारानाथ आचार्यले पुलकै अभावमा लामो समयदेखि पिडामा रहेका सर्वसाधारणलाई पुल निर्माण हुने कुराले अत्यन्त उत्साहित बनाएको धारणा राख्नुभयो ।
झोलुङ्गे पुल निर्माणका लागि हेमकुमार श्रेष्ठ, वेदनाथ आचार्य र भीमलाल आचार्यले आवश्यक जग्गा उपलब्ध गराउनुभएको थियो ।
सस्पेन्सन ब्रीज डिभिजन कार्यालयका डि.ई कुमार थापा,स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी, पोखरा उपमहानगरािलका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारी, एनेकपा माओवादी कास्कीका अध्यक्ष दीपक कोइराला, नेकपा एमालेका सचिवालय सदस्इ तेजनारायण अधिकारी, नेपाली काँग्रेस क्षेत्र नं ३ का सचिव रघुनाथ पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शुक्ष्मा पौडेल, निर्माण व्यवसायी ओम गौचन, उपभोक्ता समितिका सल्लाहकार इन्द्रमणि आचार्य लगायतले झोलुङ्गे पुलको निर्माणसँगै यस क्षेत्रमा वासोवास गर्ने कृषक, अध्ययनरत विद्यार्थी, कर्मचारी लगायतलाई निकै सहयोग पुग्ने धारणा राख्नुभयो।





