भूकम्प, त्यस पछि मधेष आन्दोलन र मित्रराष्ट भारतले नेपाल माथि गरेको नाकावन्दीको कारणले समग्र पोखरा क्षेत्रको पर्यटन क्षेत्र खस्केका बेला यहाँका प्रशासनले पर्यटनको दिगो विकास गर्न सहकार्य गर्ने भएका छन । पश्चिमाञ्चल होटल संघको छैटौं बार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्ने यहाँका प्रशासनीक निकायका जिम्मेवार व्यक्तिहरुले समग्र पोखरा क्षेत्रको पर्यटनको दिगो विकास हुने गरी निजी क्षेत्रसंगै सहकार्य गरी अघि बढ्ने बचन दिएका हुन ।
उक्त बार्षिक साधारण सभाको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशासक शंकर प्रसाद कोईरालाले पोखरा क्षेत्रको खस्केको पर्यटन क्षेत्रलाई पहिलाकै अबस्थामा फर्काउन र त्यस भन्दा अझ राम्रो गर्न यहाँका पर्यटन व्यवसायीहरुसंग सुझावको अपेक्षा गर्दै यहाँको पर्यटनको विकासको लागि केन्द्रसम्म ध्यानआकषर्ण गर्न आफुहरुले पहल गर्ने वचन दिएका हुन । उनले भने “कहिले काहि यसरी पर्यटन खस्केका वेला सरकार र निजी क्षेत्रले एक आपसमा सहकार्य गरी गन्तव्य र पर्यटनको बजारीकरणसंगै निजी क्षेत्रले दिने सेवा सुविधाको मार्केटीङ गर्नु पर्दछ । ” आफु २०३९ सालदेखि प्रत्यक्ष-अप्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा लागेको बताएका क्षेत्रिय प्रशासक कोईरालाले पोखराको पर्यटनको विकासमा आफुहरुले कुनै पनि कन्जुसाई नगर्ने बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले मधेष आन्दोलन र भारतको नाकावन्दीको कारणले गर्दा आफुहरुले चाहेर पनि अत्यावसेक बस्तुहरुको सहज आपुर्ति गर्न नसेको बताए । उनले भने “यो अबस्थामा पर्यटन व्यावसायीहरु मात्र मागमा परेका छैनन आम जनताहरु मागमा परेका छन । ” भारतले यस अघि पनि नाकावन्दी गर्दै आएको भए पनि नेपालीहरुले परनिर्भरताको कारणले गर्दा पटक पटक यस्तो समस्या भोग्नु परेको बताउदै उर्जाको वैकल्पीक उपायहरुको खोजि गर्न आग्रह गरे । पोखराको पहिचान फेवा, वेगनास ताल मात्र नभई अन्य तालहरु पनि भएकोले विभिन्न तालहरुको संरक्षण गर्नु पर्ने उनले बताए ।
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश खनालले योजना विना नेपालको पर्यटन क्षेत्र अघि बढेको दाबी गर्दै पोखराको समग्र पर्यटनको विकासको लागि योजना आवश्यक भएको बताए । राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका पश्चिमाञ्चल संयोजक गोविन्दराज पहारीले पोखराको पर्यटनको ईतिहासमा सवै भन्दा बढी पर्यटन क्षेत्र यति वेला खस्केको दाबी गरे । अस्थीर राजनीतिका कारणले गर्दा देशको पर्यटनसंगै अर्थतन्त्र खस्केको उनले बताए । संघका सल्लाहकार सुन्दरकुमार श्रेष्ठले द्धन्दकालमा पनि नखस्केको पर्यटन क्षेत्र यति वेला खस्कन पुगेकोले चिन्क्ता व्यक्त गर्दै यसको प्रवद्र्धनको लागि सवै एक जुट हुनु पर्ने समय आएको बताए ।
संघका अध्यक्ष भरतराज पराजुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रेवान पोखराका अध्यक्ष गोपि बहादुर भट्टराई, नाट्ट पश्चिमाञ्चल क्षेत्रिय संघका अध्यक्ष रामचन्द्र शर्मा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, संघका महासचिव भोकेन्द्रकुमार श्रेष्ठ लगायतले खस्केको पर्यटनको विकासको लागि एक हुनु पर्नेमा जोड दिएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution