सन्देश श्रेष्ठ
पोखरा, २४ पौष –
नयाँ वर्ष २०१६ को स्वागतार्थ पोखराको लेकसाईडमा आयोजित सडक महोत्सव अवधीमा पोखराका होटल रेष्टुरेण्ट भरिएपछि पोखरेली पर्यटन व्यवसायीमा पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्कने आशा जगाएको छ । गत वैशाख १२ गते गएको बिनाशकारी भुकम्प र मधेश आन्दोलनका कारण भारतले लगाएको अघोषित नाकाबन्दीले थलिएको पोखराको पर्यटनलाई उक्त महोत्सवमा देखिएको पर्यटक चापले पर्यटन व्यवसाय पुनः पुरानै अवस्थामा फर्कने आशा जगाएको हो । यद्यपी सडक महोत्सव सकिएसँगै पर्यटक चाप भने खस्कन थालेको पर्यटन व्यवसायी बताउँछन् ।
सडक महोत्सव अवधीमा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाईडका होटलहरु भरिएका थिए । न्यू ईयर ईभको दिन कयौं आन्तरिक पर्यटकहरु होटलमा बस्ने कोठा नपाएर भौतारिनु परेको थियो भने नजिकका क्षेत्रकाहरु अबेर राती घर फर्कन बाध्य भएका थिए । महोत्सव शुरु भएदेखी नयाँ वर्ष शुरु हुने २ दिन अघिसम्म करीब ६० प्रतिशत अकुपेन्सी रहेको लेकसाईडका होटलहरु न्यू ईयर ईभ र न्यू ईयरको दिन शत प्रतिशत अकुपेन्सी रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । महोत्सव अघीसम्म करीब २० देखी ३० प्रतिशतको हाराहारीमा मात्र अकुपेन्सी रहेको होटलहरुमा महोत्सवसँगै अकुपेन्सी ह्वात्तै बढेको उनले बताए । उनले आन्तरिक पर्यटकबाट पनि पर्यटन व्यवसाय चल्न सक्छ भन्ने आशा र विश्वास जगाएको बताए ।
रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेबान) पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले पनि महोत्सवका कारण होटल तथा रेष्टुरेण्ट व्यवसायमा आशा जगाएको बताए । उनले महोत्सव अवधीमा होटलको अकुपेन्सी राम्रो हुनुका साथै रेष्टुरेण्ट तथा बारहरुमा पनि व्यापार धेरै राम्रो भएको बताए । महोत्सवको मूख्य दिन न्यू ईयर ईभमा करीब १ लाख पर्यटकले महोत्सवको अवलोकन गरेको रेबान अध्यक्ष भट्टराईको दाबी छ । उनले महोत्सव अवधीमा व्यापारमा झण्डै २÷३ सय गुनाले व्यापार बृद्धि भएको बताए ।
पोखरामा करीब ४ सय ५० होटल छन् । जसमध्ये ३ सय १० वटा होटल पर्यटक स्तरका छन् । जसमा १८ हजार बढी बेड रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष पराजुलीले बताए ।
नयाँ वर्ष २०१६ को सडक महोत्सवमा देखिएको आन्तरिक पर्यटकको चापले पर्यटन क्षेत्रलाई एउटा सन्देश दिएर गएको छ । विदेशीलाई मात्र पर्यटक ठान्ने लेकसाईडका पर्यटन व्यवसायीलाई आन्तरिक पर्यटकको महत्व दर्शाएको छ । र आन्तरिक पर्यटकलाई पनि आकर्षण गर्न सके पर्यटन क्षेत्र धानिन सक्छ भन्ने प्रमाण छाडेर गएको छ ।
महोत्सवमा करीब ९० प्रतिशत आन्तरिक पर्यटक सहभागि भए भने बाँकी १० प्रतिशत विदेशी पर्यटक थिए । रेबान पोखराका अध्यक्ष भट्टराईले विदेशी मुद्रा आर्जन गर्न विदेशी पर्यटक आवश्यक भएपनि आन्तरिक पर्यटकले पनि होटल÷रेष्टुरेण्ट धानिनसक्छ भन्ने महोत्सवमा आएको पर्यटक चापले प्रमाण दिएको बताए । आन्तरिक पर्यटकलाई पर्यटक नै हैन भनेर सोंच्ने सरकार र व्यवसायीलाई यसले गतिलो पाठ सिकाएको उनको भनाई छ । होटल संघका अध्यक्ष पराजुलीले पनि नेपाली व्यवसायीहरु आन्तरिक श्रोतबाट पनि चल्न सक्छ भन्ने सन्देश सडक महोत्सवमा आएको आन्तरिक पर्यटकको चापले दिएको स्विकार्छन् । उनले ३० देखी ४० प्रतिशत आन्तरिक पर्यटक र करीब ३० प्रतिशत वाह्य पर्यटक भित्राउन सकेमात्रै पनि पर्यटन व्यवसाय नाफामा जाने बताए ।
कुनै समय थियो लेकसाईडका पर्यटन व्यवसायी आन्तरिक पर्यटकलाई पर्यटक नै होईन भन्ने सोंच्थे । पहिलो कुरा त लेकसाईडका होटल रेष्टुरेण्टमा नेपालीहरु पस्दै पस्दैनथे । अक्कलझुक्कल पसेका नेपालीहरुलाई पनि होटल तथा रेष्टुरेण्ट व्यवसायीले वास्ता गर्दैनथे । उनीहरु नेपाली ग्राहकले के खर्च गर्न सक्लान् भन्ने सोंच्थे । जसका कारण उनीहरु नेपाली पर्यटकलाई राम्रो कोठा दिन गाह्रो मान्थे भने अर्डर गरिएका खानाका परिकारहरुमा पनि ढिलासुस्ती गर्थे । क्वालिटी र सर्भिस दुबैमा ध्यान दिन्नथे । तर अहिले परिस्थिति विलकुलै फेरिएको छ । भुकम्प र नाकाबन्दीका कारण वाह्य पर्यटक ह्वात्तै घटेपछि लेकसाईडका होटल तथा रेष्टुरेण्टहरु आन्तरिक पर्यटककै भरमा सिमित छन् । केही नाम चलेका रिसोर्ट तथा होटल बाहेक अन्य प्रायः सबै आन्तरिक पर्यटककै भरमा धानिदै आएका छन् । आन्तरिक पर्यटकलाई गरिने व्यवहार पनि बदलिएको छ । हिजो नेपाली पर्यटक भन्ने वित्तिकै नाक खुम्च्याउने पर्यटन व्यवसायी आज प्याकेज दिएर लोभ्याउने प्रयासमा छन् । अनि पहिले विदेशीलाई सेवा दिएर त्यसपछि मात्रै नेपाली पर्यटकलाई ध्यान दिने व्यवसायी अहिले समान व्यवहार गर्न थालेका छन् । यसैका कारण होला हिजोआज लेकसाईडका होटलहरुमा नेपाली पर्यटक प्रशस्तै जान थालेका छन् ।
नेपाली पर्यटक आकर्षण गर्न पश्चिमाञ्चल होटल संघले ३० प्रतिशतसम्म छुट प्याकेज घोषणा गरेका छन् । यद्यपी यी सबै होटलहरुमा लागु भएको देखिन्न । छुट दिने भनिएपनि होटलमा जाँदा कुनै÷कुनै होटलले छुट नदिएको पर्यटकको गुनासो छ । होटल संघका अध्यक्ष पराजुली पनि यसलाई स्विकार्दै भन्छन्,‘हामीले छुट दिने घोषणा गरेका हौं, अधिकांशमा लागु छ तर केही होटलहरु संघमा दर्ता नहुँदा समस्या आएको हो ।’ उनले संघमा आबद्ध होटलहरुले छुट दिने गरेको दाबी गर्दै संघमा दर्ता नभएका होटलहरुले छुट नदिदा आलोचित हुनुपरेको बताए ।
प्रकृतिको वरदान पोखरालाई स्वच्छ र सफा राखे मात्रैपनि पोखराको पर्यटन व्यवसाय मनग्गे चल्ने पश्चिमाञ्चल होटल संघका अध्यक्ष पराजुली बताउँछन् । उनी भन्छन्,–‘नेपाल सुन्दर देश हो, त्यसमा पनि पोखरा प्रकृतिको वरदान हो, यसलाई स्वच्छ, सफा र सुन्दर राख्न सके मात्रैपनि पर्यटन व्यवसाय मनग्गे चल्छ ।’ बाटोमा फोहोर फाल्ने प्रवृत्ति पोखरेलीमा बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै यसलाई नरोके पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गरे । उनले मानवीय संरचना थप्न सके पोखराको पर्यटनमा सुनमा सुगन्ध थपिने बताए । उनले भने,–‘काहुँ डाँडामा यशोधरा वाटीका, सराङकोट र शान्ति स्तुपामा भौतिक पूर्वाधार थप्न सके अहिले चल्दै आएको २ रात बस्ने पर्यटकको बसाई केही दिन लम्व्याउन सकिन्छ ।’
रेबान पोखराका अध्यक्ष भट्टराईले सरकारले नै पर्यटन नीतिमा परिवर्तन गर्नुपर्ने औंल्याए । उनले यति बजेसम्म मात्रै होटल÷रेष्टुरेण्ट सञ्चालन गर्न पाईन्छ नत्र हस्तक्षेप गर्ने भन्ने प्रशासनका कारण पर्यटन व्यवसायमा समस्या आएको भन्दै यसलाई परिमार्जन गरेर चौविसै घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । त्यस्तै नेपाली पर्यटकलाई हरियो प्लेट (पर्यटक गाडी)मा चढ्न नदिने नीति नै गलत भएको भन्दै यस्ता नीतिका कारण पर्यटन क्षेत्रले गति लिन नसकेकाले यसलाई सच्याउन आवश्यक रहेको औंल्याए । पर्यटन व्यवसाय नेटवर्किङ (एक ठाउँको पर्यटक अर्को ठाउँमा र त्यस ठाउँको पर्यटक अर्को ठाउँमा लगेर पनि पर्यटन व्यवसाय उकास्न सकिने उनको भनाई छ । त्यस्तै, सरकारले कर्मचारीमा पेड होलिडे संस्कृतिको विकास गर्न सकेपनि पर्यटन व्यवसाय फस्टाउने उनको बुझाई छ । पर्यटन व्यवसायीले पनि आन्तरिक र वाह्य पर्यटक भनेर विभेद नगरी सबै पर्यटकलाई समान सम्मान, प्याकेज, सर्भिस र गुणस्तरमा बृद्धि गरेको खण्डमा पर्यटन व्यवसाय सहजै फष्टाउने उनले निश्कर्ष सुनाए ।
गत वैशाख १२ गते गएको भुकम्प पछि पोखराको पर्यटनमा पुर्नजागरण ल्याउन गठन भएको पोखरा पर्यटन पुर्नजागरण समिति (पिटीआरसी) का संयोजक गणेशबहादुर भट्टराई भने यसमा फरक मत राख्छन् । महोत्सवको देखिएको उभार केही दिनका लागि मात्रै भएकाले यसलाई नियमित बनाउन नेपालीको आयस्तर उकासिनुपर्ने उनी बताउँछन् ।नेपालीको आयस्तर बढाउन जिडिपी बढ्नुपर्ने र त्यसका लागि सबै ब्यबसायी बन्नुपर्ने र खर्च गर्ने बानीको पनि विकास हुनुपर्ने उनको भनाई छ । उनले महोत्सवमा आएका आन्तरिक पर्यटकले गरेको खर्चलाई हेर्ने हो भने नेपालीको खर्च गर्ने बानी बढ्न थालेको देखिएकाले यसलाई सकारात्मक रुपमा लिन सकिने बताए ।
संयोजक भट्टराईले पोखरा रोजाईमा परेका कारण नेपालका विभिन्न ठाउँबाट पोखरा आउने गरेको बताए । उनले अब पर्यटनको विकास गर्ने हो भने महोत्सवलाई ब्राण्डिङ्ग गर्दै राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरसम्म पु¥याउनुपर्ने आवश्यक्ता औंल्याए । साथै पुराना राम्रा चिज, रितिरिवाज, कल्चरहरुलाई यथावत राखेर नयाँ कामको शुरुवात गरेर पर्यटक आकर्षण गर्नुपर्नेमा जोड दिए ।
यसैगरी दिनहुँ युवा बाह्य मुलुक गइरहेकाले उनीहरुलाई रोकेर स्वरोजगार बनाउनुपर्ने र त्यसका लागि राज्यले नीति ल्याउन सके पनि पर्यटनको विकास हुने बताए । डाँडा डाँडामा पर्यटन व्यवसाय गर्न सकिने भन्दै उनले यसका लागि युवा शक्तिको खाँचो रहेको बताए ।