प्याब्सन कास्कीको २६ औँ स्थापना दिवस सम्पन्न

पोखरा, २४ पौष –

प्याब्सन कास्कीको २६ औ स्थापना दिवस शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा सचिव विश्वप्रकाश पण्डीतले पोखरा विश्व विद्यालयले छात्रवृत्तिमा विभेद गरी गैरकानुनी काम गरेको बताएका छन्। उनले पोखरा विश्वविद्यालयको सिनेटर बैठकमा समेत आफुले सवै विद्यार्थीलाई छात्रवृत्तिको प्रतिस्पर्धामा सहभागि हुन दिनुपर्छ भनेर बहस गरेपनि आफ्नो कुरालाई कसैले नसुनेको गुनासो गरे।

प्याब्सन कास्कीको २६ औ स्थापना दिवसका अवसरमा पोखरामा शुक्रबार आयोजना गरिएको कार्यक्रममा उनले हुने खानेका विद्यार्थीको पक्षमा बहस गरेको भनेर आफुमाथि आरोप समेत लगाइएको दुःखेसो पोखे। उनले शिक्षा क्षेत्रमा सुधारको आवश्यकता रहेपनि यो गर्छू, त्यो गर्छु भनेर उम्लिएर नहिड्ने बताए।

कार्यक्रममा निजी विद्यालयका समस्या राख्ने क्रममा सरकारले शिक्षा सेवा शुल्क भनेर लिएको एक प्रतिशत कर हटाउन माग गरिएपनि उनले सो करले निजी विद्यालयलाई धेरै असर गरेको छ भन्ने आफुलाई नलागेको बताए। उनले करको विषय शिक्षा मन्त्रालयसँगभन्दा पनि अर्थ मन्त्रालयसँग सम्वन्धीत विषय भएको पनि स्पष्ट पारे।

शिक्षा सचिव पण्डीतले नेपालको राजनीति परिपक्क हुन नसक्दा कानुनी शासनको प्रत्याभुति हुन नसकेको र त्यसैको मारमा निजी क्षेत्र प्रताडीत बनेको बताए।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले शिक्षा क्षेत्रमा गर्न सकिने प्रयासका बारेमा छलफल गरी अघि बढ्ने बताए।

पश्चिमाञ्चलका क्षेत्रीय शिक्षा निर्देशक मित्रनाथ गत्र्याैलाले निजी विद्यालयले गुणस्तरीय शिक्षाका लागि पुरयाएको योगदान प्रशंसनीय भएको बताए। कतिपय विषय निजी विद्यालयबाट सामुदायिक विद्यालयहरु सिकिरहेको उनको भनाई छ।

कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले निजी विद्यालयहरुले शिक्षा सेवालाई कसरी समय सापेक्ष बनाउँदै समाजउपयोगी बनाउनेतर्फ ध्यान दिन जरुरी भएको औल्याए।

कार्यक्रममा उच्च मावि शिक्षा परिषद् पश्चिमाञ्चलका प्रमुख अशोक न्यौपाने, हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, प्याब्सनका केन्द्रीय सदस्य माधवशरण उपाध्यायले बोलेका थिए।

त्यसअवसरमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा भई आएका क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइराला, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र क्षेत्रीय शिक्षा निर्देशक मित्रनाथ गत्र्याैतालाई स्वागत गरिएको थियो।

स्थापना दिवसको अवसरमा प्याब्सन कास्कीले एसएलसी परीक्षा – २०७१ मा प्याब्सन अन्तर्गतका विद्यालयबाट सर्वाेत्कृष्ठ अङक ल्याउन एक जना छात्र-छात्रा, २० वर्षभन्दा बढि कार्यरत १५ जना शिक्षक-शिक्षिका, चार जना कर्मचारी र स्थापनाको २५ वर्ष पुरा गरेका चार विद्यालयलाई सम्मान गरेको छ।

प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले स्वागत र सचिव षडानन्द गौतमले कार्यक्रम सञ्चालन गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button