पोखरा, २७ पौष –
अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आज (सोमबार) तय भएको साधारणसभा स्थगित भएको छ । एन्फा कास्कीमा आर्थिक पारदर्शिताको विषयमा अध्यक्ष धरमबहादुर लामिछाने र उपाध्यक्ष मिलन गुरुङबीच विवाद चर्किएपछि त्यसको समाधानका लागि भन्दै बोलाईएको विशेष साधारण सभा अल नेपाल फुटवल एशोसियसनको पत्रपछि रोकिएको हो । केन्द्रले आफ्नो स्विकृति बिना साधारणसभा नगर्न भन्दै एन्फा कास्कीलाई पत्राचार गरेपछि साधारणसभा स्थगित गरिएको एन्फा कास्कीका अध्यक्ष धरमबहादुर लामिछानेले जानकारी दिए ।
यसअघी बसेको एन्फा कास्कीको बैठकले सोमबार साधारणसभा बोलाउने निर्णय गरेको थियो । सो निर्णय र एन्फा कास्कीमा विवाद सम्बन्धि समाचार पत्र-पत्रिका र अनलाईनमा प्रकाशन÷प्रशारण भएपछि केन्द्रले हस्तक्षेप गर्दै साधारणसभा स्थगित गर्न निर्देशन दिएको हो । केन्द्रले एन्फा कास्कीलाई विवाद के हो ? र साधारणसभा गर्नुपर्ने कारण खुलाएर जवाफ दिन निर्देशन समेत दिएको छ । आइतबार सम्ममा जवाफ दिन केन्द्रले निर्देशन दिएपनि एन्फा कास्कीले सोमबार मात्रै पत्रको जवाफ पठाएको छ ।
केन्द्रले साधारणसभा नगर्न निर्देशन दिएपछि एन्फा कास्कीले सोमबार सल्लाहकार संस्था र व्यक्तिहरुसँग छलफल गरेको छ । छलफलमा एन्फा कास्कीका कार्यसमितिबीचमै मत बाझिएको श्रोतले बताएको छ । श्रोतका अनुसार संस्थापन पक्षले वर्तमान कार्यसमितिमा खाली पदमा मनोनयन गरेर समितिलाई पूर्णता दिनुपर्ने बताएको थियो भने अर्को पक्षले साधारणसभा बोलाएर नयाँ म्यान्डेट लिनुपर्ने बताएको थियो ।
छलफलमा आर्थिक अपारदर्शीताको विषयमा भएको विवाद साम्य भइसकेको भन्दै यसलाई उछालिएको भन्दै पदाधिकारीले गुनासो गरेका थिए । छलफलमा आर्थिक अपारदर्शीताको विषयमा एकले अर्कालाई आरोप लगाउने अध्यक्ष लामिछाने र उपाध्यक्ष गुरुङ दुबै सहभागि थिए भने दुबैले आर्थिक अनियमितता नभएको जिकिर गरेका थिए । उनीहरुले अघिल्लो वर्ष सञ्चालित मनकामना केबलकार पोखरा कप फुटवल प्रतियोगितामा केही व्यक्ति र संस्थाहरुले पूर्व घोषित सहयोग रकम नदिएको भन्दै सो रकम कसैलेपनि दुरुपयोग नगरेको स्पष्टीकरण दिएका थिए । अध्यक्ष लामिछानेले काम गर्ने क्रममा कमिकमजोरी भएपनि सुधारेर फुटवलको विकासका लागि आफूले काम गर्ने बताएका थिए ।
सल्लाहकार व्यक्ति तथा संघसंस्थाका प्रतिनीधिहरुले भने केन्द्रको निर्देशन मान्न कार्यसमितिलाई सुझाव दिएको छ । साथै उसले विवाद सल्टाएर केन्द्रको अनुमतिमा साधारणसभा बोलाएर नयाँ कार्यसमिति चयन गर्न सुझाव दिएको छलफलमा सहभागि एक प्रतिनीधिले जानकारी दिए ।
स्मरण रहोस् एन्फा कास्कीको विवादकै कारण मंसिर अघि नै सम्पन्न हुने पोखरा कप फुटवल प्रतियोगिता यस वर्ष मिति पनि तोकिएको छैन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution