
पोखरा २८ पौष –
पांचौ संस्करणको एस ओ एस बगर भाइखलक एट ए साइड भेट्रान फुटवलको उपाधी फोर्टी फाउण्डेशन काठमाण्डौले चुमेको छ । पोखराको पुरानो टुडिखेलमा सम्पन्न फुटवल प्रतियोगितामा भाटभटेनी हेल्थ क्लव काठमाण्डौलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै फोर्टी फाउण्डेशनले उपाधी हासिल गर्न सफल भएको हो ।
मंगलबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा दोश्रो हाफको २३ औ मिनेटमा नायक धिरेन शाक्य क्याप्टेन रहेको फोर्टी फाउण्डेशनका जर्सी नम्बर ९ का खेलाडी ओमकृष्ण श्रेष्ठको गोलले फोर्टी फाउण्डेशनलाई उपाधी चुम्न सफल गरायो । उक्त खेलमा म्यान अफ दी म्याचको उपाधी समेत गोलकर्ता श्रेष्ठले चुम्न सफल भए । उपाधी संगै फोर्टी फाउण्डेशनले नगद ४४ हजार ४ सय ४४ , शिल्ड , मेडल र प्रमाण पत्र प्राप्त गरेको छभने प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भाटभटेनी हेल्थ क्लवले ३३ हजार ३ सय ३३ नगद, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
प्रतियोगिताका बिजेताहरुलाई ससस्त्र प्रहरी बल मुतिmनाथ बाहिनीका बाहिनीपति ससस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) जानकीराज भट्टराई, राष्ट्रिय खेलकुद परिषद सदस्य फत्त बहादुर गुरुङ, जिल्ला खेलकुद बिकास समिती कास्की अध्यक्ष यम बहादुर गुरुङ, आयोजक बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङ, सहारा क्लव पोखराका पूर्व अध्यक्ष बिक्रम थकाली लगायतले पुरस्कार वितरण गरेका थिए ।
पांचौ संस्करण सम्म आइपुग्दा ए.बि.सी क्लव अमरसिंहले ह्याट्रिक गरेको छभने गतवर्ष सिभिल मल एम.वाइ.सी. काठमाण्डौले उपाधी कब्जा गरिसकेको छ ।





