शनिबारदेखि हुने हिसान स्पोर्टस् मिटको सम्पूर्ण तयारी पुरा

पोखरा, ३० पौष –

उच्च माध्यमिक विद्यालय संघ (हिसान) कास्कीले माघ २ गते शनिबारदेखि गर्न लागेको नवौँ हिसान स्पोर्टस् मिट–२०७२ को तयारी पूरा भएको छ।

हिसान कास्कीले प्रत्येक वर्ष पोखरा रड्डशालामा गर्दै आएको स्पोर्टस् मिटमा यस पटक पोखराका निजी उच्च माध्यामिक विद्यालयका कक्षा ११ र १२ का करिब एक हजार आठ सय विद्यार्थी सहभागी हुनेछन्। स्पोर्टस् मिट पुरा गर्नका लागि मुल आयोजक समितिसहित विभिन्न उपसमिति गठन भएर तयारी पुरा भैइसकेको हिसानले जनाएको छ।

स्पोर्टस् मिटको खेलकुदमन्त्री सत्यनारायण मण्डलले उद्घाटन गर्ने कार्यक्रम रहेको मुल संयोजक तथा हिसान कास्कीका पूर्व अध्यक्ष रमाकान्त बरालले जानकारी दिए।

स्पोर्टस् मिटमा छात्रछात्रा भलिबल प्रतियोगिता, छात्रछात्रा बास्केटबल प्रतियोगिता र टेबुलटेनिसमा छात्रछात्रा एकल तथा जोडी प्रतियोगिता हुने हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले जानकारी दिए।

स्पोर्टस् मिटमा भलिबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ २३ र छात्रातर्फ १६ टीम सहभागी हुने भलिबल खेल संयोजक दिवाकर जैसीले जानकारी दिए। बास्केटबल अन्तर्गत छात्रतर्फ २६ र छात्रातर्फ १३ टीमले सहभागिता जनाउने बास्केटबल संयोजक राजु कायश्थले जानकारी दिए।

यसैगरी, टेबुलटेनिस प्रतियोगिता अन्तर्गत छात्र एकलतर्फ ४८ जना र जोडीतर्फ २२ रहेका छन् भने छात्रा एकलतर्फ २८ जना र २२ जोडीले प्रतिस्पर्था गर्ने टेबुलटेनिस संयोजक दुर्गादत्त पंगेनीले जानकारी दिए।

गएका वर्षहरूमा भन्दा यो वर्ष स्पोर्टस् मिट फरक र उत्साहजनक रहेको मुल संयोजक बरालले जानकारी दिए। ‘गएका वर्षमा भन्दा यो वर्ष विद्यार्थी र विद्यालयको उत्साहजनक सहभागिता बढेको छ’–बरालले भने–‘यस पटक हिसानमा विद्यालय पनि थपिएका छन् भने स्पोर्टस् मिटमा सहभागी पनि थपिएका छन्।’

हिसान कास्कीले विभिन्न विद्यालय तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याएर शैक्षिक गुणस्तरसँगै खेलकुद विकासका लागि र आपसी सम्बन्ध विस्तारका लागि प्रत्येक वर्ष स्पोर्टस् मिट गर्दै आएको छ। तथा २०५७ सालमा उच्च मावि संघ हुँदै २०६४ सालमा गठन भएको हिसान कास्कीमा अहिले निजी क्षेत्रबाट सञ्चालित ४६ उच्च मावि आवद्ध छन्।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button