सहारा एकेडेमी आमा सेतुलीमाया स्मृतिवृत्तिबाट सम्मानित

पोखरा, ७ माघ –

पोखराको सहारा एकेडेमी आमा सेतुलीमाया शाक्य स्मृतिवृत्तिबाट सम्मानित भएको छ । सिद्धि—सेतुली स्मृति प्रतिष्ठान, पोखराले प्रत्येक दुई-दुई वर्षमा प्रदान उक्त पुरस्कार यस बर्ष सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीलाई बिहीबार पोखरामा प्रदान गरीएको हो । उक्त पुरस्कारको राषि नगद एक लाख रहेका छ ।

सेतुलीमायाको नवौं पुण्य तिथिको अवसरमा वरिष्ठ कलाकार एवं प्रतिष्ठानका संरक्षक कृष्णप्रसाद श्रेष्ठले सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई सम्मान गरेका हुन । संस्थागत प्रयासबाट समाजसेवाका साथै नेपालको फुटबल खेलको विकाससँगै अनाथ बालकहरुको संरक्षण, सम्वद्र्धन र खेल प्रशिक्षणमा सहारा एकेडेमीले गरेको योगदानको मुल्याङकन गर्दै उक्त सम्मान गरीएको प्रतिष्ठानले बताएको छ ।

बरिष्ठ कलाकार कृष्णप्रसाद श्रेष्ठले विश्वरत्न शाक्य एक उदाहरणीय पात्र भएको बताउदै अन्य छोरा छोरीले यस्तै गरी आमा बाबुको सम्मान गर्नुपर्ने बताए । ९१ वर्षिय शाक्यले बाबुआमाको नाममा प्रतिष्ठान स्थापना गरेर बालबालिका, महिला, जेष्ठ नागरिकको साथै लोककल्यणमा गरेको समाजसेवा उदाहरणीय कार्य गरेको श्रेष्ठले बताए । क्लबलका अध्यक्ष वीरभद्र आचार्यले यो सम्मानले थप जिम्मेवारी र कर्तव्यबोध गराएको बताउँदै समाजसेवामा एउटा इट्टा थपेको बताए । क्लबले बनाएको छविलाई अझ उचो बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दै सधै एकेडेमिमा आफुहरु समर्पीत हुने बताए ।

२०५५ सालमा विक्रम थकालीको कप्तानीमा रारा कप खेल्न बनाइएको सहारा क्लवले उक्त कपको उपाधि जितेपछि त्यसलाई २०५५ भदौं ३० पुर्नगठन गरी कार्तिक ११ गते प्रशासन कार्यालयमा दर्ता भएर संस्थागत रुप पाएको थियो । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरेको हो । एकेडेमीमा विपन्न वर्गका १६ जिल्लाका २६ बालक रहेका छन् । कार्यक्रममा बोल्दै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले आमा बाबु ईश्वर समान भएको बताउँदै धर्म भनेको नै मानव सेवा भएको बताए ।

सम्मानित संस्था सहारा क्लब र एकेडेमीको बारेमा चर्चा गर्दै रेडियो अन्नपूर्णका प्रमुख कार्याकारी अधिकृत दीपेन्द्र श्रेष्ठले पोखारालाई चिनाउने हिमाल, तालसँगै सहारा क्लब पनि भएको बताए । सहारा क्लबको टिमवर्क ‘रोडमोडल’ भएको बताउँदै आफ्नो नामलाई सार्थक बनाउन क्लब सफल भएको बताए । प्रतिष्ठानका संस्थापक संरक्षक विश्वरत्न शाक्यले असहाय आर्थिक अवस्था कमजोर भएका महिला, बालबालिका परित्यक्त बृद्धबृद्धाहरुको भरणपोषणमा सहयोग गर्ने उद्देश्य राखेर नै संस्था स्थापना गरिएको जनाए । उक्त सम्मानबाट २०६६ सालमा सम्मानित एचआईमी संक्रमित लक्ष्मी अधिकारीले आँकुरा नेपाल संस्थालाई बचाउन प्रतिष्ष्ठानले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरीन ।

प्रतिष्ठानका अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर राधेश्याम कायस्थ, प्रतिभा छनोट समितिका संयोजक नरेन्द्रमान लालचन, संस्थाका सचिव पशुपति श्रेष्ठ लगायतले वोलेका थिए । सेतुलीमायाँ शाक्यको निधनपछि उनका कान्छा छोरा, पोखराका वरिष्ठ फोटो पत्रकार तथा साहित्यकार विश्वरत्न शाक्यको सक्रियतामा प्रारम्भिक अवस्थामा दश लाखको अक्षयकोष स्थापना गरिएकोमा अहिले १६ लाख पुगेको छ । आमा सेतुलीमाया शाक्य स्मृति वृत्तिबाट यसअघि एचआईभी सङंक्रमितहरुको संस्था आँकुरा एकल तथा संक्रमित महिला समूहकी अध्यक्ष लक्ष्मी अधिकारी, वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी काठमाडौँकी संस्थापक दिलशोभा श्रेष्ठ र लमजुङको बेशीसहरस्थित आदर्श महिला तथा बालविकास केन्द्र सम्मानित भई सहेका छन ।

यसै बिच, प्रतिष्ठानले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले हालै स्थापना गरेको जेष्ठ नागरिक मिलन केन्द्र डे केयर सेन्टरको सञ्चालनको लागि अक्षयकोषको बनाउन १ लाख ५० हजार सहोग गरेको छ । आँकुरा नेपाललाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुका साथै प्रतिष्ठानका ८० वर्ष माथिका जेष्ठ नागरिकलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनेमा कृष्णप्रसाद श्रेष्ठ, लक्ष्मीकुमारी गुरुङ, प्रेमबहादुर गुरुङ, उत्तराकुमारी पालिखे, गुञ्जबहादुर गुरुङ, वीरबहादुर गुरुङ, भेषरत्न शाक्य र लालसिंह गुरुङ रहेको थियो भने उहाँहरुलाई स्वामी तपानन्द गिरी र अध्यक्ष कार्कीले सम्मान गरे ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button