पोखरा, ८ माघ –
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले कुनैपनि अतिवादी तरिकाले समस्याको निकाश ननिस्कने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ कास्कीले शुक्रबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार वा मधेशी मोर्चा जोसुकैले अतिवादी तरिका अप्नाएपनि त्यसले देशमा अहिले देखिएको समस्याको निकाश ननिस्कने दाबी गरेका हुन् ।
नेपाल सम्भावना र चुनौतिको दोसाँधमा रहेको भन्दै प्रचण्डले राष्ट्रिय एकता र राष्ट्रिय सहमति अपरिहार्य भएको बताए । उनले चुनौतिलाई अवसरमा बदल्नका लागि कांग्रेस र एमाले सरकारमा आउनुपर्नेमा जोड दिए । सरकार परिवर्तनको चर्चा चलिरहेका बेला प्रचण्डले अहिले सरकार गिराउने र नयाँ बनाउने समय नभएको भन्दै एमाओवादी यसमा संलग्न नभएको स्पष्ट पारे ।
विराटनगरको रंगेलीमा विहीबार भएको घट्ना दुःखद र दुर्भाग्यपूर्ण भएको भन्दै उनले भने,–‘सरकार, दल वा मधेशी मोर्चा जसले घट्ना घटाएपनि त्यो गलत हो, यस्ता अतिवादी तरिकाले निकाश निस्कदैन, यो गलत हो ।’
पूर्व प्रधानमन्त्री समेत रहेका एमाओवादी अध्यक्ष प्रचण्डले सिमाङ्कनमा विवादित भएको ठाउँ झापा, मोरङ सुनसरीमा यसअघी झडप र मृत्यू हुनेगरी कुनैपनि घट्ना नघटेपनि विहीबार घट्ना भएपछि आफू चिन्तित भएको बताए । उनले विहीबारको विराटनगर घट्नाले उग्र रुप नलियोस् तथा यसले साम्प्रदायिकता ननिम्तियोस् भन्नका लागि आफूले पहल गरिरहेको बताए ।
स्वतन्त्र र सार्वभौम सम्पन्न देश त्यसमा पनि भुपरिष्ठत देशमा नाकाबन्दी लाग्नु बिडम्बनापूर्ण भएको टिप्पणी गरे । भारतको नाम नलिई नाकाबन्दीको बारेमा बोलेका उनले नहुन नाकाबन्दी लागिसकेकाले अब यसको सम्मानजनक तरिकाले खुलाउने प्रयास भइरहेको बताए । संविधान संसोधन भएपछि नाकाबन्दी खुल्ने उनले दाबी नै गरे । यद्यपी उनले नाकाबन्दी खुल्ने विषय मधेशी मोर्चासँगको सहमतिसँग जोडिएको विषय भएको पनि प्रष्ट पारे ।
आन्दोलनरत स्वयम् मधेशी मोर्चा र नागरिक अगुवाहरुले सहमतिका लागि प्रधानमन्त्री केपी ओली बाधक भएको बताईरहेका बेला प्रचण्डले भने सहमतिका लागि ओली बाधक नभएको जिकिर गरे । उनले भने,–‘सहमतिका लागि ओली बाधक होईन, संविधान संसोधन प्रक्रिया क्याविनेटबाट अगाडी बढेको जगजाहेर छ, सहमतिको लागि प्रयास पनि गरिरहेकै देखिन्छ, यसले ओली बाधक हो भन्ने पुष्टी गर्दैन र होइन पनि ।’
प्रचण्डले बाबुरामको नयाँशक्ति संसारकै सबैभन्दा भद्दा र बुर्जुवा शक्ति भएको टिप्पणी गरे । उनले भने,–‘बिचार र सिद्धान्त दुबैले बाबुरामको नयाँशक्ति संसारकै भद्दा र सबैभन्दा बुर्जुवा शक्ति हो, यो शव्द मात्रै नयाँ हो, अरु सब पुरानै छ र यसले केही गर्न सक्तैन ।’ बाबुरामले कसैको डिजाईनमै पार्टी परित्याग गरेकाले आफ्नो र पार्टीको प्रयासमा पनि एमाओवादीमा नफर्केको बताए । आफ्ना पार्टीका एक बरिष्ठ सदस्यको भनाई भन्दै प्रचण्डले भने,–‘वैद्य हुँदा संविधान कुनैपनि हालतमा बनाउन दिदैनथे, बाबुराम पार्टीमा रहिरहेका भए कुनैपनि हालतमा पार्टी बन्न दिदैनथे, त्यसैले वैद्य नहुँदा संविधान बन्यो, अब बाबुराम नहुँदा पार्टी बन्छ ।’ प्रचण्डले जनयुद्धकालिन घट्ना व्यूँताउने प्रयास भइरहेको भन्दै यसले कसैलाई पनि राम्रो नगर्ने चेतावनी दिए । उनले भने,–‘जनयुद्ध कालिन घट्ना व्यूँताए सबै माओवादी मुछिन्छ, अनि सेना पनि विवादमा आउँछ, यसले कसैलाई पनि राम्रो गर्दैन ।’ उनले युद्धकालिन सबै घट्ना सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) मार्फत हुनुपर्ने बताए ।
प्रचण्डले माओवादी विभाजनको कुनैपनि दृष्टिकोणबाट पुष्टी नभएकाले एकता आवश्यक रहेको उनले बताए । सबै माओवादी एक हुनुको विकल्प नभएको भन्दै उनले त्यसका लागि पहल सकारात्मक रुपमा अघि बढेको जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution