रोटरयाक्ट न्युरोडद्वारा झोला वितरण

  • पोखरा न्यूज
  • २०७२ माघ ८
रोटरयाक्ट न्युरोडद्वारा झोला वितरण

पोखरा, ८ माघ –

रोटरयाक्ट क्लव अफ न्युरोड, पोखराले आफ्नो तेश्रो स्थापना दिवसको अवसरमा कास्कीको पुरन्चौरस्थित शिवपुरी प्राथमिक विद्यालयमा झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ । क्लवले शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि २७ जना विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लव अफ पोखरा न्युरोडका पुर्व अध्यक्ष सुवास सिग्देलले विद्यार्थीहरुलाई झोला, कापी, कलमसहित सरसफाईका सामग्री हस्तान्तरण गरे । सोही कार्यक्रममा प्रमुख अतिथि सिग्देलले विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेललाई खेलकुदका सामग्री समेत प्रदान गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिग्देलले अभिभावकले अलि धेरै मेहनत गरेर बालबालिकाहरुलाई विद्यालय आउने वातावरण सिर्जना गर्नुपर्ने बताए । कार्यक्रममा क्लवकी अध्यक्ष सुष्मा गौचनले उक्त विद्यालयमा पाँच वर्षसम्म विशेष क्षेत्र निर्धारण गरि विभिन्न सहयोग प्रदान गर्ने बताइन् । उनले आगामी शैक्षिक सत्रको सुरुवातमा सम्पुर्ण विद्यार्थीहरुलाई विद्यालय पोशाक प्रदान गर्ने पनि जानकारी दिइन् ।क्लवकी विशेष क्षेत्र परियोजना संयोजक एवं झोला वितरण कार्यक्रमकी संयोजक स्मीता पराजुलीलेले विद्यार्थीहरुलाई विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताइन् । रोटरयाक्ट क्लव अफ पोखरा, मिडटाउनका सचिव सुजन बरुवालले उक्त सहयोग सानो देखिएपनि महत्वपूर्ण भएको बताए ।

शुक्रबार नै क्लव र विद्यालयबीच विशेष क्षेत्र परियोजना सम्बन्धी सम्झौता भएको छ । क्लवकी अध्यक्ष सुष्मा गौचन र विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले हस्ताक्षर गरे । सोही अवसरमा कक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई शैक्षिक सत्रको अन्त्यमा ५०० रुपैया प्रदान गर्ने पनि जानकारी दिइएको थियो । २७ जना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा १९ जना जनजाति, ७ जना दलित र १ जना ब्राह्मण समुदायका विद्यार्थी अध्ययनरत छन् ।

झोला तथा शैक्षिक सामग्री वितरणमा रोटरी क्लव अफ पोखरा, न्युरोड, होम्स अफ होप, बाबा फाउण्डेशन र दिर्घायु नेपालले सहयोग गरेका हुन् । क्लवले गतवर्ष चलचित्र ‘झोला’ को च्यारिटी सो गरि लाहाचोकका दुई विद्यालयमा झोला वितरण गरेको थियो ।

क्लवकी अध्यक्ष सुष्मा गौचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य निशा पन्थी, स्वागत सचिव अस्मिता श्रेष्ठ र धन्यवाद ज्ञापन पुर्व अध्यक्ष सञ्जिव पौडेलले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस