फुटबलमा २३ वर्षअघि कोरिएको सुनौलो इतिहास दोहोरिदै

पोखरा, ०८ माघ –

२३ वर्ष लामो उपाधिको खडेरीलाई नेपालले शुक्रबार समाप्त पारेको छ । विगत दुई दशकदेखि पटक–पटक चुक्दै आएको नेपालले शुक्रबार बंगालादेशको बंगबन्धु गोल्डकपको उपाधि जितेको हो । नेपाली फुटबलमा देखिएको विवाद र केही समययता लागेको ‘म्याच फिक्सिङ’ आरोपले निराशा छाएको नेपाली फुटबलप्रेमीलाई बंगबन्धु गोल्डकपको उपाधिले खुसी दिलाएको छ ।

युवा खेलाडीले भरिपूर्ण नेपाली टोलीले बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा बहराइनको यू–२३ टोलीविरुद्ध जुझारु खेल प्रदर्शन गरेको थियो । नेपाललाई उपाधि दिलाउने क्रममा विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले गोल गरेका थिए ।

nepal football

विकेशको सुन्दर खेल

खेलको पाँचौँ मिनेटमा विमलले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए । फ्रिकिकबाट प्राप्त बलमा अञ्जन विष्टले गरेको हेडलाई बहराइनका गोलकिपरले क्लियर गर्न नसकेको बललाई विमलले जाली चुमाएका थिए । खेलमा पछि परेपछि बहराइनले नेपाली टोलीमाथि लगातर दबाब बढाएको थियो । तर, नेपालका गोलकिपर विकेश कुथूले उत्कृष्ट प्रदर्शन गरे । २४औँ मिनेटमा बहराइनका खेलाडी सिक्स यार्ड बक्सबाट हानेको प्रहारलाई विकेशले विफल तुल्याएका थिए । दोस्रो हाफमा पनि विकेशले उत्कृष्ट बचाउ गरे । बहराइनका रसिदले गरेको डिबक्सबाट सेकेन्ड बार च्याप्दै गरेको उत्कृष्ट प्रहारलाई विकेशले विफल तुल्याएका थिए ।

तीन रातो कार्ड

खेलमा नेपालले अग्रता लिएपछि बहराइनले शारीरिक खेल प्रदर्शन गरेको थियो । त्यसक्रममा दुवै टोलीका खेलाडीबीच तनावसमेत उत्पन्न भयो । ८१औँ मिनेटमा दुवै टोली १०–१० खेलाडीमा सीमित भए । बहराइनका खेलाडीले नेपालका मिडफिल्डर विक्रम लामालाई लडाएपछि दुवै टोलीका खेलाडीबीच हात हालाहाल भएको थियो । त्यसपछि रेफ्रीले नेपालका सुमन लामा र बहराइनका अली थवाईलाई रातो कार्ड देखाएका थिए । यस्तै, दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा नेपालका कप्तान विराज महर्जनलाई डरलाग्दो ट्याकल गरेपछि बहराइनका अब्दुल अजिजले रातो कार्ड पाए ।

चार मिनेटमा दुई गोल

नेपालले ८७औँ मिनेटमा दोस्रो गोल गर्‍यो । अञ्जन विष्टले डिबक्समा मिहिनेत गरेर निकालेको बलमा विशाल राईले उत्कृष्ट फिनिसिङ गरे । यस्तै, इन्जुरी समयको पहिलो मिनेटमा नेपालले तेस्रो गोल गर्‍यो । काउन्टर आक्रमणमा विमलले मिलाएको सुन्दर पासमा नवयुगले हेडमार्फत बललाई जाली चुमाए ।

उपाधिसँगै ५० हजार डलर

उपाधिसँगै नेपालले ५० हजार डलर (५४ लाख रुपैयाँ) हात पार्‍यो । यस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ खेलाडी, दुई प्रशिक्षक र एक फिजियोलाई ५–५ लाख नगद दिने घोषणा गरेको छ । यता, राष्ट्रिय खेलकुद परिषद्ले पनि खेलाडीलाई जनही २ लाख दिन सरकारलाई सिफारिस गर्ने बताइसकेको छ ।

नवयुग उत्कृष्ट खेलाडी

ह्याट्रिकसहित चार गोल गरेका नवयुग प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । फाइनलमा एक गोल गर्नुको अलावा नवयुगले सेमिफाइनलमा माल्दिभ्सको यू–२३ टोलीविरुद्ध ह्याट्रिक गरेका थिए । उनी प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीसमेत बने । फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका विमल भने ‘म्यान अफ दी फाइनल’ घोषित भए ।

नेपाली जनतालाई ट्रफी : प्रशिक्षक

उपाधि जितेपछि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो रणनीति सफल भएको बताए । खेलपछिको पोस्टम्याच पत्रकार सम्मेलनमा महर्जनले भने, ‘खेलाडीमाथि मलाई विश्वास थियो । उनीहरूले मेरो निर्देशन पालना गरे । अनि हामी लक्ष्य प्राप्त गर्न सफल भयौँ ।’ उनले नेपाली टोलीलाई समर्थन गरेकोमा सबैलाई धन्यवाद दिँदै अघि भने, ‘२३ वर्षपछि उपाधि जित्न सकेकोमा खुसी छु, यो ट्रफी सारा नेपालीको हो ।’

प्रधानमन्त्रीदेखि शीर्ष नेताको बधाई

उपाधि जितेपछि प्रधानमन्त्री केपी ओलीले नेपाली टोलीलाई बधाई दिएका छन् । ओलीले नेपाली टोलीले उपाधि जित्दा आफू खुसी भएकोसमेत जनाएका छन् । यता, एमाओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेताहरूले पनि नेपाली टोलीलाई बधाई दिएका छन् ।

यस्तै, नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत नेपालले उपाधि जितेकोमा खुसी व्यक्त गरेका छन् । यसैगरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नेपाली फुटबलले पनि आमनेपालीलाई उत्साहित बनाएको जनाएका छन् । उनले खेलाडीलाई जनही २ लाख रुपैयाँ पुरस्कार दिन सरकालाई सिफारिस गर्ने बताएको खबर नयाँ पत्रिकामा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button