गणित शिक्षा परिषद् कास्कीमा शर्मा

पोखरा, १० माघ –

गणित शिक्षा परिषद् कास्कीको चौथो अधिवेशन तथा साधारणसभाबाट वेदप्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा केशव अम्गार्इँ, सचिवमा डिल्लीराम अधिकारी, सहसचिवमा प्रभाष पौडेल र कोषाध्यक्षमा स्थिरबाबु सुवेदी चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा सरस्वती अधिकारी, गणेशप्रसाद अधिकारी, भूमिराज अधिकारी, विनोद अधिकारी, शिवलाल रिमाल र जयराम कायस्थ रहनुभएको प्रचार प्रसार संयोजक अनुराग अधिकारीले जानकारी दिनुभयो । त्रिभुवन शर्माको संयोजकत्वमा परमेश्वरी कट्टेल र ईश्वरमणि अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले सम्पूर्ण पदाधिकारी सर्वसम्मत रुपमा छनोट भएको घोषणा गरेको थियो ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पश्चिमान्चल क्षेत्रिय शिक्षा निर्देशक मित्रनाथ गर्तौलाले गणित विषयलाई व्यावहारिक बनाइनुपर्नेमा जोड दिनुभयो । गणित विषय वास्तविक रुपमा गाह्रो नभई गाह्रो बनाइएको आरोप लगाउँदै उहाँले यसमा रहेको हाउगुजी हटाउने प्रयास शिक्षकहरुले नै गरे नेपालको शैक्षिक नतिजामै सुधार देखिने दाबी गर्नुभयो । कार्यक्रममा विशेष अतिथि प्रा. डा. कृष्णकुमार श्रेष्ठले गणित विषयमा देखिएका समस्यालाई छलफलमा ल्याई त्यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

परिषद्का अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक युनियन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी, हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, मदरल्याण्ड उच्च माविका निर्देशक त्रिभुवन शर्मा, नेपाल गणित समाजका केन्द्रीय सहसचिव परमेश्वरी कट्टेल, नेपाली भाषा शिक्षक परिषद्का अध्यक्ष लोकचन्द्र खनाल, सामाजिक अध्ययन मन्चका अध्यक्ष भीमप्रसाद न्यौपाने, परिषद्का उपाध्यक्ष वेदप्रसाद शर्मालगायतले शुभकामना दिनुभएको थियो ।

साधारणसभाले कोषाध्यक्ष डिल्लीराम अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र सचिव केशव अम्गार्इँले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन पारित गरेको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button