जनमुखी सहकारीद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

पोखरा, १० माघ –

पोखराको सभागृहचोकस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाले घाचोकको जनजागरण नमूना सामुदायिक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सहकारीको आठौं वार्षिकोत्सवको अवसरमा शनिबार विद्यालयमा कार्यक्रमको आयोजना गरि एक थान कम्प्युटर प्रदान गरिएको हो ।

सहकारीका अध्यक्ष रविनकुमार विकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर नेपाली र प्रधानाध्यापक बुद्धि मिजारलाई कम्प्युटर हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै अध्यक्ष विकले विद्यालयको दैनिक क्रियाकलापमा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्प्युटर सहयोग गरेको बताए । उनले सञ्चालक समितिमा छलफल गरि आगामी दिनमा पनि विद्यालयलाई अन्य सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रधानाध्यापक बुद्धि मिजारले विद्यालयको शैक्षिक गुणस्तर उकास्न पञ्च वर्षीय योजना निर्माण गरेको बताए । उनले शिक्षकको दिगो व्यवास्थपन गर्न नसक्दा गुणस्तर कायम राख्न समस्या भएको जानकारी दिए ।

उक्त अवसरमा सहकारीका सञ्चालक समिति सदस्य उमेश अछामीले स्व. आमा डिलमाया अछामीको स्मृतीमा २५ हजार रुपैयाँको अक्षयकोष निर्माण गर्ने घोषणा गरे । उनले कक्षा ८ मा उत्कृष्ट हुने १–१ जना छात्र र छात्रालाई अक्षयकोषको व्याजबाट पुरस्कार प्रदान गर्ने बताए । सोही अवसरमा सहकरीका संस्थापक अध्यक्ष रामबहादुर बयलकोटी, व्यवस्थापक केशव बर्देवा, शेयर सदस्य सुकु नेपालीले गरिव तथा जेहोन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए । कार्यक्रममा जनजागरण नागरिक सचेतना केन्द्रकी सामाजिक परिचालक रेनु शर्मिला नेपालीले सहकारीका अध्यक्ष रविनकुमार विकलाई योजनापत्र हस्तान्तरण गरेको थिइन् । विद्यालयले सहकारीले मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रममा विश्वकर्मा सेवा समाजका अध्यक्ष निर्मल दियाली, सहकारीका संस्थापक अध्यक्ष रामबहादुर बयलकोटी, निवर्तमान अध्यक्ष भविन्द्र विश्वकर्मा, उपाध्यक्ष सन्तबहादुर विश्वकर्मा, सचिव गोपाल बस्याल लगायतले बोलेका थिए । कार्यक्रममा सहकारीका सञ्चालक समिति सदस्य र कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

२०६६ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल १ देखि ८ कक्षासम्म १ सय ६५ जना विद्यार्थी अध्ययनरत छन् । ति मध्य १ सय ६४ जना मिजार र १ जना विश्वकर्मा जातिका हुन् । विद्यालय रहेको घाचोकको ८ नं. वडामा १८० घरधुरी दलित रहेका छन् । दलित समुदायको श्रमदान, आर्थिक संकलन र विभिन्न संघसंस्थाको सहयोगको विद्यालय स्थापना गरिएको हो । विद्यालयमा प्राविमा १ र पुर्व प्राविमा २ जना शिक्षको दरबन्दी रहेको छ । हाल निजी श्रोतबाट ८ जना शिक्षकले अध्यापन गराइरहेका छन् । विद्यालय निर्माणमा १४ घर दलितले १० रोपनी जग्गा दान गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button