पोखरा, १० माघ –
पाहुना टोली भारतको ईण्डियन आर्मी गोर्खा ब्रिगेड टिमलाइ गत बर्षको उपविजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लवले अतिरिक्त समयमा पराजित गर्दै पोखरामा जारी १४ औं संस्करणको आहा रारा गोल्ड कपको सेमिफाईनलमा प्रबेस गरेको छ ।
हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आईतबार पोखरा रंगशालामा भएको दोश्रो क्वाटरफाइनल खेलमा पाहुना टोली भारतको ईण्डियन आर्मी गोर्खा ब्रिगेड टिमलाई अतिरिक्त समयमा २–० ले पराजित गर्दै मनाङ मस्र्याङ्दीले अन्तिम चारमा स्थान बनाएको हो । मनाङको जितमा अमित तामाङ र ओलावालेले एक एक गोलको योगदान दिए ।

निर्धारित समयमा दुबै तर्फ गोल रहित बराबरीमा खेल टुंगिए पछि अतिरिक्त समय १०÷१० गरी २० मिनेट थपिएको हो । थपिएको अतिरिक्त समयको ८ अर्थात खेलको ९६ औं मिनेटमा अमित तामाङले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरे । गोर्खा ब्रिगेडका प्रशान्त गुरुङले खेलको ९६ औं मिनेटमा करीब २० यार्ड नजिकै मनाङका ओला वालेलाई लडाए पछि रेफ्रि सुदिस पाण्डेले दिएको फ्रिकिको अवसरलाई तामाङले गोल गरी खेलमा देखिएको गोलको खडेरीलाई टारे । खेलको एक सय १ मिनेट अर्थात अतिरिक्त समयको पहिलो हापको थपिएको एक मिनेटको ईन्जुरी समयमा ओलावालेले आसिस लामाको पासमा गोल गरी जित सुनिष्चित पारेका हुन । खेलमा म्यान अफ दी म्याच मनाङका विशाल श्रेष्ठ घोषित भए ।
खेलको ८६ औं मिनेटमा पहिलो पहेलो कार्ड पाएका गोर्खा ब्रिगेडका प्रशान्त गुरुङले मनाङका ओला वालेलाई लडाए पछि पुनः दोश्रो पहेलो कार्ड पाएसंगै रेडकार्ड हुदै खेलबाट बाहिरिनु परेको थियो । १४ मिनेट १० खेलाडीमा सिमित भएको गोर्खा ब्रिगेडले पाएका केहि अवसरलाई सदुपयोग गर्न नसक्दा आहा रारामा यस बर्ष पनि क्वाटरफाईनल भन्दा माथिको यात्रा तय गर्न नकेन । पाहुना टोलीको समर्थनमा रंगशालामा एक सय मिनेट विताएका दर्शकहरुले लगातार मनाङको दुई गोल भए पछि आफ्नो गन्तव्यमा लागेका थिए । केहि दर्शक भने मनाङको झण्डा सहित प्याराफिटमा हुटिङ गरेका थिए । ११ आंंैं आहा रारामा जाउलाखेलसंग क्वाटरफाइनल खेलमा २–० ले पराजित भएको गोर्खा ब्रिगेडले दोश्रो पटक सहभागि हुदा पनि क्वाटरफाइनल भन्दा माथिको यात्रा तय गर्न सकेन । गोर्खा ब्रिगेडका मनिस तामाङ, विजय थापाका केहि प्रयास असफल भएपछि निर्धारित समयमा राम्रो खेल प्रदर्शन गर्दा गर्दै अन्ततः मनाङसंग हार व्यहोर्नु पर्यो । गोर्खा ब्रिगेडका म्यानेजर केपी राईले आफुहरुले यस बर्ष मनाङ बिरुद्धको खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दा गर्दै रेफ्रिको गलत निर्णयका कारण हार व्यहोर्नु परेको आरोप लगाए । उनले भने “हामी धेरै खुसी छौं, पोखरेलीहरुको धेरै माया पाएका छौं, खेल हो हार जित तर रेफ्रिले सहि निर्णय गर्नु पर्छ । ”

मनाङका छिरीङ लोप्सान गुरुङले आफ्नो टिमको ७५ प्रतिशत खेलाडीहरु विना मैदानमा उत्र्रिएका कारणले गर्दा जित निकाल्न अतिरिक्त समय नै कुर्नु परेको बताए । उनले एन्फा प्रति आक्रोस पोख्दै भने “एन्फामा पहिले पनि यस्तै हुन्थ्यो तर आज पनि राष्ट्रिय खेलकुद परिषदले भनेको नमान्ने पहिलेकै त्यही व्यक्ति र छत्रछायामा रहेकोले हाम्रा मुख्य ७ जना खेलाडीहरुलाई पोखरा आउन रोकियो । ” यहि अबस्था रहे आफुहरुले छिट्टै एन्फाद्धारा आयोजना हुने कुनै पनि खेलहरु नखेल्ने निर्णय गर्न सक्ने चेतावनी दिएका छन । उनले भने “राष्ट्रका लागि खेलाडी उत्पादन गर्न हामी जस्ता क्लवहरुले लगानी गरेको हुन्छ, तर क्लवले चाहादा खेलाडीहरुलाई डर धम्की दिएर रोकिन्छ भने हामीले खेलाडी उत्पादन गरेको के अर्थ । ” राष्ट्रिय टिमका कप्तान विराम मर्हजन, विशाल राई, विक्रम लामा, हेमन गुरुङ, विमल घर्तीमगर, अनन्त तामाङ र अन्जन विष्ट राष्ट्रिय टिममा आवद्ध भएको कारणले गर्दा मनाङले आइृतबारको खेलमा उनीहरुलाई उतार्न सकेन । खेलकुदको सवच्र्वो (उच्च) निकाय राखेपलाइ पनि नटर्ने एन्फा बिरुद्ध कसैले नियन्त्रण गर्न नसकेको प्रति उनले गुनासो गरे ।
भोलि सोमबार डिफेण्डीङ च्याम्पीएन अर्थात लिग विजेता रुस्लान थ्रि–स्टार क्लव बिरुद्ध विभागिय टोली त्रिभुवन आर्मी क्लव विच तेश्रो क्वाटरफाईनल खेल हुने भएको छ । आर्मीले जाउलाखेल युथ क्लवलाई पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाउदा गत बर्षको विजेता थ्रि–स्टारले सिधै वाई पाएर क्वाटरफाईनलमा स्थान पाएको हो । सहारा एकेडेमीको सहयोगार्थ उक्त प्रतियोगिता माघ १६ गतेसम्म चल्ने भएको छ ।





