पोखरा, १३ माघ –
आहा ! राराको ईतिहासमा ८ पटक सहभागि भएर लगातार दुई वर्ष फाईनलमा पुगेर पुलिससंग पराजित हुदै उपविजेतामा चित्त बुझाएको त्रिभुवन आर्मीले यस वर्षको उपाधि जित्ने दाउमा रहेको छ ।
जाउलाखेल युथ क्लव र क्वाटरफाईनलमा डिफेण्डीङ च्याम्पीएन तथा लिग विजेता रुस्लान थ्रि–स्टार क्लवलाई पराजित गर्दै अपराजित यात्रा जारी राखेको आर्मीले पहिलो सेमिफाईनल खेलमा पनि आयोजक सहारा क्लवलाई पन्छाउदै १४ औं संस्करणको आहा ! रारा गोल्ड कपको फाईनलमा प्रवेश गरेको हो । सहारा एकेडेमीको सहयोगार्थ हजारौं दर्शकहरु माझ बुधबार पोखरा रंगशालामा आयोजना भएको खेलमा आयोजक सहारा क्लवलाई अतिरिक्त समयको साहायताबाट आर्मीले २–० ले पन्छाउदै आहा ! राराको उपाधि नजिक पुगेको हो । ९० मिनेटको निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि खेलमा १५-१५ गरीे ३० मिनेट अतिरित्त समय थप गरीएको हो । आर्मीको जितमा म्यान अफ दी म्याच घोषित सन्तोस तामाङ र दिप लामाले एक एक गोलको योगदान दिए ।
आक्रमक शैलिमा प्रस्तुत भएका दुबै टोलीले निर्धारित समयमा गोल गर्न नसके पछि थपिएको ३० मिनेको अतिरिक्त समयमा सहाराको डिफेन्सीपको रणनिति तोड्दै आर्मीले एक पछि अर्को गोल गरी २–० को नतिजा निकाल्दै यस बर्षको आहा रारा गोल्ड कपको उपाधि जित्ने दाउमा प्रस्तुत भएको छ । खेलको १ सय २ मिनेटमा सन्तोस तामाङले बाया साईडमा करीब २५ यार्ड नजिकै पाएको बललाई सेकेण्ड वार च्याप्दै प्रहार गरेको बलले जाली चुमेको हो । विपक्षि गोल रक्षक विनय श्रेष्ठ भने फष्ट बारमा रहेका थिए । पहिलो गोल भएको ५ मिनेट बित्न नपाउदै आर्मीका दिप लामाले एक गोल गरी जित सुनिस्चित पारे । करीब २५ यार्ड नजिक पाएको बललाई उनले दिशा दिदा गोल भएको हो ।
यस वर्षको आहा ! रारामा अघिल्ला दुई खेलमा एक गोल पनि नखाईकन अघि बढेको आर्मी बिरुद्धको खेलमा सहाराले बुधबारको खेलमा जित निकाल्न फलामको चिउरा चपाए सरी भयो । पाएका केहि अवसरलाई सदुपयोग गर्न नसक्दा सहारा प्रतियोगिताबाट बाहिरिएको हो । आर्मीले निर्धारित समयमा पाएका राम्रा केहि अवसर गुमाउदा जित निकाल्न अतिरिक्त समय नै कुर्नु पर्यो । १२ औं संस्करणको आहा !राराको उपाधि जितेको सहाराले गत वर्ष नव जन जाग्रिती क्लव सिमरासंग पहिलो चरणको खेलबाटै बाहिरिएको थियो ।
सहाराका प्रशिक्षक किरण श्रेष्ठले आफ्नो रणनिती अनुसार खेलाडीहरुले खेल्न नसकेको कारणले गर्दा अतिरिक्त समयमा गोल खानु परेको उनले बताए । आर्मीका प्रशिक्षक मेघराज केसीले सहारा सूरुबाटै डिफेन्सीप रणनितीमा खेलेको कारणले गर्दा जित निकाल्न अतिरिक्त समय नै कुर्नु परेको उनले बताए । उनले भने “हामीले सहाराको रणनिती जब तोड्न सफल भयो तब लगातार दुई गोल गर्न सफल भएका हौं।”
सहाराले नव जनजाग्रिती युथा क्लव र पाहुना टोली भारतको युनाईटेड सिक्कीमलाई पन्छाउदै सेमिफाइनलमा यात्रा बनाएको थियो भने आर्मीले जाउलाखेल युथ क्लव र क्वाटरफाईनलमा डिफेण्डीङ च्याम्पीएन तथा लिग विजेता रुस्लान थ्रि–स्टार क्लवलाई पराजित गर्दै सेमिफाईनलमा यात्रा बनाएको थियो ।
भोलि विहिबार दोश्रो सेमिफाइनल खेल रमपम झापा ११ बिरुद्ध लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लवल बिच खेल हुने भएको छ । झापा ११ ले नेपाल पुलिस क्लव र बंगलादेशको पाहुना टोली गजिर चाट स्पोटीङ क्लवलाई पराजित गरी सेमिफाईनलमा यात्रा बनाएको हो । मनाङले भने भारतको गोर्खा ब्रिगेडलाई क्वाटरफाईनलमा पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो । हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता माघ १६ गतेसम्म चल्ने भएको छ ।
यसै बिच, राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठलाई ईच्छाशक्ति अटोमोवाईल्स प्रालिका संचालक तथा खेलकुदप्रेमी इच्छामान बुद्धाचार्यले सहयोग गरेका छन । खेलाडीको हौसला स्वरुप उनले १० हजार ५ सय ५५ रुपैयाको चेक आर्मीका प्रशिक्षक मेघराज केसीलाई बुधबार रंगशालामा हस्तान्तरण गरेका हुन । आर्मीमा आबद्ध भएका श्रेष्ठले बंगबन्दु गोल्ड कपमा नेपालको जित हुदा ह्याट्रिक गर्न सफल भएका थिए ।