उर्जा संकट गहिरिएको बेला व्यवसायीहरुलाई सोलार जडान तालिम

पोखरा,१० फागुन –

उर्जा संकट गहिरिँदै गर्दा पोखराका विद्युतीय सामाग्री जडान गर्ने व्यवसायीहरुलाई उर्जा बचत तथा सोलार जडान सम्बन्धी तालीम दिइएको छ । तालीममा पोखराका करीब ३५ जना विद्युतीय सामाग्री बिक्री, मर्मत तथा जडानसम्बन्धी कार्य गर्ने व्यवसायीहरु सहभागि थिए । तीन दिने तालीममा उनीहरुलाई घरघरमा सोलार जडान तथा उर्जाको कसरी वचत गर्ने भन्ने विषयमा तालीम दिइएको पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ, पोखरा उद्योग वाणिज्य संघ, युएन ह्वाबिट्याट, पोखरा उपमहानगरपालिका, र क्लिन इनर्जी नेपालको संयुक्त आयोजनामा भएको तालीम समापन कार्यक्रममा बोल्दै कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष देव क्षेत्रीले उर्जा संकटले देश ग्रस्त हुँदा यसको किफायती प्रयोग तथा वैकल्पिक उर्जाको उपयोगलाई प्रवद्र्धन गर्न तालीम आयोजना गरिएको बताए । निःशुल्क उपलब्ध हुने सौर्य उर्जालाई आफ्नो दैनिक जीवनमा प्रयोगमा ल्याउन सके पैसाको बचत मात्र होइन स्वच्छ वातावरण निर्माणमा समेत सघाउ पुग्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै नेपाल इलेक्ट्रिक मेकानिकल क्लवका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले तालीमले पछिल्लो समय जनचासो बढेको सोलार प्यानल जडानमा काम गर्ने र काम गर्न इच्छुक व्यवसायीहरुलाई मद्दत पुगेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यक्रम संयोजक रञ्जन भट्टले २१ औँ शताब्दी उर्जा संकटको शताब्दी भएको बताउँदै सौर्य उर्जाको प्रयोग बढाउनु तथा कम उर्जा खपत गर्नु अहिलेको आवश्यकता भएको जनाए । तालीमका प्रशिक्षक अरुण डंगोलले तालीमलाई सही रुपले व्यवहारमा उतार्न आग्रह गरे । तालीमका प्रशिक्षार्थी धिरेन्द्र प्रधानले तालीम सोचेभन्दा पनि बढी फलदायी रहेको बताउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिँदा आम्दानी पनि राम्रो हुने धारणा राखे । कार्यक्रमको संचालन समेत गरेका संघका महासचिव रवीन्द्रबहादुर प्रजुले आवश्यक परे व्यवसायीहरुलाई अन्य तालीम पनि आयोजना गरिने जनाए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button