पोखरा, २३ फागुन –
उद्यमशीलता, स्वतन्त्रता र समानताको नारालाई आत्मसात् गर्दै स्थापना भएको पद्मावती मिडिया प्रालि द्धारा सञ्चालित रेडियो जननी ९०.६ को दोस्रो वार्षिकोत्सव समारोहको तयारी अन्तिम चरणमा पुगेको छ । रेडियोले १०६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन फागुन २५ गते मंगलबार आफ्नो दोस्रो वार्षिकोत्सव एवम् जननी अवार्ड २०७२ र जननी सम्मान २०७२ र जननी दोस्रो उद्यमी आवाज स्मारिका विमोचन गर्दैछ । ति सबै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको रेडियोले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
दोस्रोे वार्षिकोत्सवको अवसरमा रेडियोले पोखराका २९ वटै वडाका क्रियाशिल महिलाहरुको समुह मध्ये उत्कृष्ट ३ वटा समुहलाई जननी अवार्ड–२०७२ बाट सम्मान गर्दैछ । यस्तै विभिन्न क्षेत्रमा सक्रिय रुपमा कार्यरत रहि विशिष्ट योगदान पुरयाएका महिलाहरुलाई जननी सम्मान–२०७२ बाट सम्मान गरिनेछ । यस अन्र्तगत शिक्षा, स्वास्थ्य, पर्यटन, सहकारी, सामाजिक क्षेत्र, कृषि, साहित्य तथा संगित, विज्ञान तथा प्रविधी, उद्यमशिलता, महिला तथा बालबालिका, अपाङ्गता क्षेत्रमा योगदान पुरयाएका महिलाहरुलाई सम्मान गर्न लागिएको रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सम्मान कार्यक्रमले महिलाहरुलाई सामाजिक गतिविधीमा अझ सक्रिय रुपमा अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास उँहाले व्यक्त गर्नुभयो ।
यस्तै २०७१ सालमा जननी अवार्डबाट सम्मानित ३ वटा महिला समुह मध्ये उद्यमशीलतामा उत्कृष्ट कार्य गरी हस्तकला उद्योग समेत स्थापना गरेको नमुना हस्तकला उद्योग मालेपाटन ५ लाई पद्मावती हस्तकला उद्योग राष्ट्रबैङचोक पोखराबाट पद्मावती अवार्ड प्रदान गरिने पनि अध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।
यसै गरि महिला उद्यमीहरुको आवाजसँगै रेडियो जननी प्रति शुभेच्छुक÷शुभचिन्तक र श्रोताको भनाईलाई समेटेर “जननी दोस्रो उद्यमी आवाज” स्मारिका २०७२ पनि रेडियोले समेत प्रकाशन गर्दैछ । ति सम्पूर्ण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । जननी अवार्ड र जननी सम्मान कार्यक्रमलाई काष्टर नेपाल प्रालिले प्रायोजन गरेको छ ।
पत्रकार सम्मेलनमा, रेडियो जननीका स्टेशन म्यानेजर तथा वार्षिकोत्सव कार्यक्रमका संयोजक विमला भण्डारीले समाजमा उद्यमशीलतालाई अगाडी बढाउने र फरक खालको भुमिका निर्वाह गर्ने सोचका साथ अगाडि बढीरहेको रेडियोले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । साथै वार्षिकोत्सव कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि सबैको सहयोग मिल्ने अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रम सम्पन्न गर्नका लागि रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीको संयोजकत्वमा वार्षिकोत्सव मुल समारोह समिति गठन गरिएको छ । कार्यक्रम व्यवस्थापन संयोजकमा निर्देशक हसिना बस्नेत, अर्थ संयोजकमा अनिशा श्रेष्ठ, प्रचारप्रसार संयोजक मिना राना, समूह परिचालन तथा व्यवस्थापन संयोजक शोभा भण्डारी, मञ्च व्यवस्थापन संयोजक सुनिता सुनार, अतिथी सत्कार संयोजकमा गंगा मरासिनी र प्राविधीक संयोजकमा रिमा शाहीलाई चयन गरिएको छ ।
“जननी अवार्ड २०७२” का लागि टोल विकास संस्था नगर समन्वय समिति, पोखराका अध्यक्ष उज्जवल खत्रीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । समितिमा पोखरा उपमहानगरपालिकाका कार्यक्रम अधिकृत दुर्गा न्यौपाने र पोखरा उपमहानगरपालिका वडा नं ९ का सचिव लोकदर्शन कोइराला रहेका सदस्य रहेका छन् । जननी सम्मानका लागि वरिष्ठ पत्रकार नारायण कार्की र पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष दिपक श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय छनोट समिति गठन
गरिएको छ ।
रेडियोले गत वर्ष पहिलो वार्षिकोत्सवका अवसरमा “जननी अवार्ड २०७१” बाट नमुना आदर्श आमा समूह वडा नं ५, शान्ति दर्शन महिला समूह वडा नं ९ र नारी परोपकार केन्द्र वडा नं ८ लाई सम्मान गरेको थियो भने आमाहरुका लागि रेडियो जननी भन्ने लक्ष्य सहित पोखराका २८ वटै वडाका २८ जना सफल आमाहरुलाई “आमा सम्मान कार्यक्रम २०७१” बाट सम्मान गरेको थियो ।
रेडियो जननीका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका कार्यकारी निर्देशक हसिना बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने रेडियोका प्रस्तोता गंगा मरासिनीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।