पोखरा, २५ फागुन –
पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२, पोखरा उद्यमशीलता चाहनेहरुको लागि सिक्ने थलो बनेको छ । मेलामा राखिएका विभिन्न स्टलहरुमा राखिएका स्वदेशी तथा विदेशी उत्पादन एवं सूचना प्रविधीसम्बन्धी स्टलहरु व्यवसाय गर्न चाहनेहरुको लागि नयाँ जानकारी प्राप्त गर्ने थलो बनेको हो ।
‘मेलामा राखिएका स्वदेशी तथा विदेशी उत्पादनका स्टलहरु व्यापार गर्नको लागि मात्र नभएर उद्यमशिलता सिक्नका लागि समेत सहायक भएको छ’, मेलाको स्टल व्यवस्थापन उपसमिति संयोजक तथा संघका द्धितीय उपाध्यक्ष मीनराज काफ्लेले भने,‘ कृषि तथा साना उद्योगहरुका उत्पादनहरु आकर्षक मात्र हैनन, उद्यमशीलता सिकाउने खालका रहेका छन् ।’
मेलामा हालसम्म करीब ३ करोडको कारोवार भएको तथा झण्डै ६० हजार दर्शकले मेला अवलोकन गरेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव तथा प्रचारप्रसार उपसमिति संयोजक रवीन्द्रबहादुर प्रजुले जनाए । उनका अनुसार मेलालाई भव्य र सभ्य बनाउन कुनै कसर बाँकी राखिएको छैन । मेला अगाडि बढ्दै गर्दा दर्शकहरुले देखाउनु भएको सदासयताप्रति धन्यवाद ज्ञापन गर्दै उनले रचनात्मक सुझाव दिन आग्रह पनि गरे । मेलामा सहभागि संख्या बढ्दै गर्दा स्टलहरुमा व्यापार पनि बढेको छ । क्यान इन्फोटक अन्तर्गत डोममा राखिएका सूचना प्रविधी सम्बन्धी स्टलहरुमा युवाहरुले बढी चासो देखाएका छन् भने रेडिमेड कपडा तथा अन्य दैनिक जीवनमा आवश्यक पर्ने सामाग्री रहेको स्टलहरुमा गृहिणीहरुले चासो देखाएको महासचिव प्रजुले जनाए । मेलामा पोखरा डायविटिज एवं थाइराइड क्लिनिकले मधुमेह तथा थाइराइडको निशुल्क परिक्षण गराएको छ । सो स्टलमा समेत स्वास्थ्य सम्बन्धी जानकारी राख्नेहरुले चासो देखाएका छन् ।
मेला अन्तर्गत प्रवेश टिकमा राखिएको कलर्स मोवाइल पुरस्कार फागुन २४ गते … नम्बरको टिकट तथा फागुन २५ गते … नम्बरको टिकटले प्राप्त गरेको टिकट व्यवस्थापन उपसमिति संयोजक अमितराज मुल्मीले जानकारी दिए । गृहलक्ष्मी ग्याँस कम्पनीको प्रायोजनमा उत्कृष्ट नृत्य गर्ने एक जनालाई भरिएको ग्याँससहितको गृहलक्ष्मी ग्याँस शान्ति राना मगरले प्राप्त गरिन् । पत्रकार महासंघ कास्कीका सदस्य दीपक कोइरालासहितको निर्णायक टोलीले उत्कृष्ट नृत्यकर्ता चयन गरेको हो ।
बुधबार मेलामा लोकदोहोरीतर्फ अमरविरही गुरुङ,राजु गुरुङ, प्रजापति पराजुली,तारापति सुवेदी, जीवन दाहाल,शिवहरि ढुंगाना, विजय केसी,पार्वति जिसी,इन्द्रा गुरुङ, दुर्गा गुरुङलगायतको प्रस्तुति रहनेछ । यसैगरी हाँस्यव्यङ्ग्यतर्फ पोखरेली धुर्मुस युवराज भण्डारी र पोखरेली माग्ने बूढा राजेन्द्र नेपालीको प्रस्तुति रहने मेलाको साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काले जानकारी दिए । । पपतर्फ विभिन्न कलाकारसँगै राजधानीको टुम्वेलवेड र इन्भिजिवल व्याण्डको लाइभ प्रस्तुति रहेको छ । साँझ अवेरसम्म चल्ने साँगितिक कार्यक्रमले युवा दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास आयोजकको रहेको छ । यता मंगलबार रामचन्द्र काफ्ले, काजल गुरुङ, जुना रिजाल, मंजु पौेडेल, अम्बर विरही गुरुङ, प्रजापति पराजुली , रामजी पौडेल, तिलकबम मल्ल लगायका कलाकारले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । मेला अन्तर्गत भएको फेसन सोले दर्शकहरुको मन जितेको थियो । विभिन्न डिजाइनरहरुले तयार पारेका पोशाक लगाएर मोडलहरु ¥याम्पमा उत्रँदा दर्शकहरुले तालीले स्वागत गरेका थिए । लोकदोहोरीमा नाच्ने र पप कन्सर्टमा रमाउनेहरुले मेलाले आफूहरुलाई ठूलो मनोरञ्जन प्रदान गरेको बताए । मेला अन्तर्गत आयोजना भएको अन्तर जिल्ला उद्योग वाणिज्य संघ लोकदोहोरी प्रतियोगितामा तनहुँ उद्योग वाणिज्य संघको टोलीलाई हराउँदै वालिङ उद्योग वाणिज्य संघ अर्को चरणमा प्रवेश गरेको छ । मेला अन्तर्गत फागुन २८ गते कन्दरा र देउराली व्याण्डको सांगितिक प्रस्तुति रहनेछ । राष्ट्रिय रुपले चर्चित दुबै व्याण्डको प्रस्तुति विशेष रहने साँस्कृतिक उपसमिति संयोजक खड्काले बताए ।
मेला अन्तर्गत बुधबार ‘बिजनेस आवर’ अन्तर्गत व्यवसायिक जीवनमा सफलता प्राप्त गरेका तीन जना विज्ञहरुले आर्थिक सम्वृद्धिबारे प्रवचन दिने छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य स्वर्णीम वाग्ले र डाक्टर गोविन्दबहादुर थापा तथा पर्यटनवीद बच्चुराम श्रेष्ठले आर्थिक सम्वृद्धिबारे प्रवचन दिने कार्यक्रमको संयोजन गरेका पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष दीपिलराज श्रेष्ठले जानकारी दिए । उद्यमशीलता विकास, पोखराको आर्थिक सम्भावना लगायतका विषयमा अन्तरक्रियात्मक छलफल हुने उनले जनाए । बिजनेस आवर बिहान साढे ९ बजेबाट सुरु हुनेछ । अन्तरक्रियात्मक कार्यक्रममा विद्यार्थी, अर्थतन्त्रबारे जानकारी राख्ने महानुभाव तथा आर्थिक क्षेत्रका विज्ञहरु सहभागी हुनेछन् । सो कार्यक्रममा प्रवेश निशुल्क रहेको छ । लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने मुल नाराका साथ आयोजित मेलामा राखिएको प्रवचनले उद्यमशिलता विकास पुग्ने आयोजकको अपेक्षा छ ।