आले छैठौँ सँस्करणको बिग आइकन

  • पोखरा न्यूज
  • २०७२ फागुन २५
आले छैठौँ सँस्करणको बिग आइकन

पोखरा, २५ फागुन –

चितवन पटिहानीका साजन आले छैठौँ सँस्करणको बिग आइकन बनेका छन् । तीन जना फाईनलिस्ट सृष्टि गुरुङ, अनु गुरुङ र अम्बिका पुनलाई भोटले पछाडि पार्दै साजनले बिग आइकनको टाईटल जितेका हुन् ।

बिग आइकनको टाईटलसँगै साजनले १ लाख ७५ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर र दुई हप्ते बेलायतको साँगीतिक यात्रा गर्ने अवसर प्राप्त गरेका छन् । खचाखच दर्शकमाझ मंगलबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा अभिनेत्री करिश्मा मानन्धरले साजनलाई विजेता घोषणा गरेकी थिईन् । साजनलाई नेपाल जनरल मार्केटिङ ज्योती ग्रुपकी प्रबन्ध निर्देशक सुरुची ज्योतीले हिरो ड्यास स्कुटरको साँचो हस्तान्तरण गरिन् । त्यस्तै केहि समयपछि साजन साँगीतिक यात्राका लागि काठमाण्डौ थापाथलीस्तिथ द ब्रिटिश कलेजको प्रायोजनमा बेलायत भ्रमणमा निस्कनेछन् ।

big icon 2

विजेता बनेसँगै साजनले आफुलाई भोट गरेर जिताउने सम्पूर्ण शुभचिन्तक र स्रोतालाई धन्यवाद दिए । विजेता बन्न आफ्नो लागि ठुलो उपलब्धि भएको बताउँदै बिग आइकन जस्तो ठुलो मञ्च प्रदान गर्ने बिग एफएम प्रति उनले श्रद्धा व्यक्त गरे । साथै नेपाली साँगीतिक क्षेत्र आफुले अझै धेरै गर्नु बाँकि रहेको भन्दै बिग आइकनको साख जोगाउन हरप्रकारको प्रयत्न आफुले गर्ने उनले उद्घोष गरे ।

स्थानियस्तरमा हुने विभिन्न साँगीतिक कार्यक्रममा गीत गाउँदै आएका साजनले गोरखाको एक जना फेसबुक साथीमार्फत बिग आइकनको बारेमा थाहा पाएका थिए । त्यसपश्चात उनी पोखरा आएर बिग आइकनको फाराम भरेका थिए । करिब साढे २ महिना चलेको बिग आइकनको अडिसनमा उनी पोखरा आएर आफन्तसँग बसेका थिए ।

त्यस्तै बिग आइकनको फस्ट रनरअप पोखरा मालेपाटनकी अनु गुरुङ बनिन् । टाईटलसँगै उनले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । अम्बिका पुन सेकेन्ड रनरअप भएर ५० हजार रुपैयाँ पुरस्कार हात पारिन् भने थर्ड रनरअप हुँदै सृजनाचोककी सृजना गुरुङले २५ हजार रुपैयाँ जितिन् । फाईनलमा पुगेका सम्पूर्ण प्रतिस्पर्धीले बिग आइकनको कारणले साँगीतिक क्षेत्रमा आफुहरुको छुट्टै पहिचान भएको भन्दै बिग एफएमलाई धन्यबाद दिए । साथै उनीहरुले फाईनलसम्म पुग्न सहयोग गर्ने स्रोता र निर्णायकहरुलाई पनि धन्यबाद दिए ।

यो पटकको बिग आइकनमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायक रहेका थिए । मंगलबार भएको छैठौँ बिग आइकनको ग्राण्ड फिनालेमा उत्कृष्ट १० प्रतिस्पर्धीले पनि आफ्नो प्रस्तुती राखेका थिए । प्रतियोगीहरुले गीत प्रस्तुत गर्दै गर्दा यो पटक कोरसहरु स्टेजमा नाचेका थिए । सम्पूर्ण गीतमा राखिएका नृत्यलाई रोहन नेपाली ‘शिव’ले कोरियोग्राफि गरेका थिए ।

बिग आइकनको प्रमुख अतिथिको रुपमा कार्यक्रममा आएकी अभिनेत्री करिश्मा मानन्धरले साँगीतिक प्रतिभाहरुको लागि यति वृहत मञ्च खडा गरिदिएकोमा बिग एफएमलाई धन्यबाद दिईन् । मोफसलमा रहेको एउटा एफएमले राष्ट्रियस्तरमा प्रभाव राख्ने यस्तो खाले कार्यक्रम गर्नु निकै सुखद कुरा भएको उनले बताईन् । साथै उनले यस्तो खाले कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरिन् ।

कार्यक्रममा बोल्दै बिग एफएमका अध्यक्ष महेश भण्डारीले छैठौँ बिग आइकनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्रोता र सुभेच्छुकहरुलाई धन्यबाद दिए । ‘सबैको साथ र सहयोगले गर्दा नै बिग आइकनलाई हामीले निरन्तर छैठौँ सँस्करणसम्म ल्याउन सक्यौँ ।’ अध्यक्ष भण्डारीले भने–‘आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौँ ।’ साथै उनले बिग आइकनलाई सफल बनाउने साढे दुई महिना यता निरन्तर लाग्ने बिग एफएम टिमलाई पनि धन्यबाद ज्ञापन गरे ।

बिग आइकनको ग्राण्ड फिनालेकै क्रममा एफएमले नयाँ ‘भिडियो बिज्ञापन’ सार्वजनिक गरेको थियो । चर्चित भलिबल खेलाडि तथा अभिनेत्री सिपोरा गुरुङ र स्टाईलिश बिशाल गुरुङले अभिनय गरेको भिडियो बिज्ञापनलाई सोभित बस्यालले निर्देशन गरेका हुन् । बिग आइकनको ग्राण्ड फिनालेमा उपस्थित सबैले भिडियो बिज्ञापन उत्कृष्ट भएको प्रतिकृया दिए । साथै ग्राण्ड फिनालेको टिकट विक्रिबाट उठेको २८ हजार ३ सय ५० रुपैयाँ पोखरा उद्योग वाणिज्य संघ अन्तरगत संचालित बालश्रम न्यूनिकरण कार्यक्रमका परियोजना संयोजक भक्तराज रसाईलीलाई बिग एफएमका अध्यक्ष महेश भण्डारीलले हस्तान्तरण गरेका थिए ।

छैटौ संस्करणको बिग आइकनमा टाइटल स्पोन्सरको रुपमा सामसुङ ग्यालेक्सी जे सेभेन मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका थिए ।

त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन, कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, आईटी पार्टनरमा कम्यूनिकेट मिडिया, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक, एड्भरटाईजिङ पार्टनरमा परिचय एड्भरटाईजिङ र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस