राष्ट्रिय औद्योगिक व्यापार मेलाको समापन

पोखरा, १ चैत –

पोखराको नयाँ बजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२ को सोमबार औपचारिक समापन भएको छ । ‘लगानीको सम्वद्र्धन ःउद्योग व्यवसायको प्रवद्र्धन ’ भन्ने नाराका साथ फागुन २१ गतेबाट मेला सुरु भएको थियो । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले प्रतिकुल मौषमका वाबजुद पनि मेला सफल भएको बताएका छन् ।

मेला समापन कार्यक्रमका प्रमुख अतिथी पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइराला रहेका थिए । मेलाको समापन कार्यक्रममा बोल्दै उनले क्रेता र बिक्रेतालाई एउटै थलोमा उभ्याउन तथा आर्थिक गतिविधी चलायनमान बनाउन मेला सफल भएको बताए । मेला र महोत्सवहरुमा सोही क्षेत्रको उत्पादनहरुलाई केन्द्रमा राखेर गतिविधी बढाउनुपर्नेमा उनको जोड थियो । ‘यस क्षेत्रमा आउने पर्यटकहरुलाई सकेसम्म यही क्षेत्रको कृषि र औद्योगिक उत्पादन प्रयोग गराउ सक्नुपर्छ, यसो गर्दा यहाँको पैसा यहीँ रहन्छ’,उनले भने,‘यसले गर्दा स्थानीय अर्थतन्त्रलाई सहयोग पुरयाउँछ र त्यसले व्यवसायीलाई पनि फाइदा गर्छ ।’ उनले सार्क परराष्ट्रमन्त्रीस्तरीय सम्मेलन हुँदै गर्दा सबै क्षेत्रबाट मिलेको सहयोगको खुलेर प्रशंसा गरे ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले सबैको सहयोगले मेला सफल भएको बताउँदै यो मेला पोखराको गौरवको रुपमा परिणत भएको धारणा राखे । उनले मेला आर्थिक गतिविधी चलायनमान बनाउन सहयोगी बनेको धारणा राखे । मेला सफल बनाउन सघाउने सबैलाई उनले धन्यवाद ज्ञापन गरे । सार्क परराष्ट्र मन्त्रीहरुको सम्मेलन पोखरामा आयोजना भएकोमा खुसी प्रकट गर्दै उनले यो कार्यले पोखराको चिनारी अन्तर्राष्ट्रिय जगतमा पुग्ने अपेक्षा गरे ।

शिक्षासेवी तथा कार्यक्रममा सम्मानित व्यक्तित्व जर्ज जोनले पोखरा उद्योग वाणिज्य संघले आफ्नो स्थापनाकालदेखि नै शिक्षा क्षेत्रमा लगानी गर्दै आएको स्मरण गरे । आफू संलग्न भएको सबैजसो शैक्षिक संस्थाहरुमा संघले लगानी गरेको भन्दै उनले धन्यवाद ज्ञापन पनि गरे ।

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्माले कर शिक्षा अभियानमा उद्योग वाणिज्य संघबाट सहयोगको अपेक्षा राखे । कर कानूनको सबैले पालना गर्नुपर्ने बताउँदै उनले कर नतिरेको सम्पति वैधानिक नहुने प्रष्ट पारे ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठले आउँदा दिनहरुमा मेलामा अझ सुधार आवश्यक रहेको बताए । अर्का पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचनले मेला अनुगमनको क्रममा आफूले सुनेका गुनासा र सुझावहरु कार्यान्वयन गरी मेलालाई परिष्कृत गर्नुपर्ने धारणा राखे ।

लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरिले प्रतिकुल अवस्थामा सामूहिक प्रयासबाट मेला सफल भएको भन्दै पोखरा उद्योग वाणिज्य संघ परिवारलाई धन्यवाद ज्ञापन गरे । क्यानका केन्द्रीय अध्यक्ष विनोद ढकालले पोखरालाई साइबर सिटीको रुपमा विकास गरिनुपर्ने धारणा राखे ।

राष्ट्रिय वाणिज्य बैंकका क्षेत्रीय प्रबन्धक गणेशकुमार ढकालले उत्पादनशील क्षेत्रमा लगानी गर्न तथा निजी क्षेत्रको आर्थिक सम्वृद्धिमा सहायक बन्न बैंक सधैँ तयार रहेको बताए । मेलामा राखिएका स्टलहरुमध्ये उत्कृष्ट घोषित हरपल फुड प्रालिको तर्फबाट बोल्दै जगत धामीले पोखरा उद्योग वाणिज्य संघद्धारा आयोजित मेलाले आफ्नो उत्पादनको बजार प्रवद्र्धनमा सघाएको जनाए । पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष मीनराज काफ्लेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन संघका महासचिव रवीन्द्रबहादुर प्रजुले गरेका थिए । करीब १ लाख ५० हजार दर्शकले अवलोकन गरे भने ५ करोडजतिको कारोवार भएको महासचिव प्रजुले जानकारी दिए । मेला र महोत्सवको प्रवर्तक पोखरा उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका नगर विकास समिति, जिल्ला विकास समिति कास्कीको सहयोग ,अर्घाखाँची सिमेण्टको मुख्य प्रायोजन, रुस्लान भोड्काको विशिष्ट प्रायोजन,राष्ट्रिय वाणिज्य बैंक तथा नबिल बैंकको सह प्रायोजन तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा मेला आयोजना गरिएको हो ।

शिक्षासेवी जर्ज जोन सम्मानित

pokhara mela 2

पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला समापनको अवसरमा शिक्षासेवी जर्ज जोनलाई सम्मान गरेको छ । पोखराको शैक्षिक विकासमा पुरयाएको योगदानको कदरस्वरुप संघले दोसल्ला र ताम्रपत्रसहित उनलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले उनलाई सम्मान गरेका हुन् । भारतमा जन्मेका जोनले पृथ्वीनारायण क्याम्पसको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठको संयोजकत्व तथा कवि तीर्थ श्रेष्ठ र पर्यटन व्यवसायी टीकाराम सापकोटा सदस्य रहेको प्रतिभा छनौट समितिले जोनलाई सम्मानको लागि सिफारिस गरेको थियो ।

उत्कृष्ट स्टलहरुलाई पुरस्कार

राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएका स्टलहरुमध्ये विभिन्न विधाका ८ वटा स्टलहरुलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरिएको छ । संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचन संयोजक तथा सुरेश श्रेष्ठ र सुरेश अधिकारी सदस्य रहेको समितिले ती स्टलहरु छनौट गरेको हो । मेलामा रहेका स्टलहरुमध्येबाट उद्योगतर्फ चम्पा कपडा उद्योग, व्यापारतर्फ हरपल फुड प्रालि, कृषिमा सितल जडिबुटी,हस्तकलामा रेन्बो ह्याण्डिक्र्याफ्ट, अटोमा एएसबी अटोमोवाइल्स,सूचना प्रविधीमा जेनेक्स अटोमेसन, फ्लारिकल्चरमा श्रीराम नर्सरी तथा रेष्टुरेण्टतर्फ इमोन क्याफे उत्कृष्ट घोषित भए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button