पोखरा, ०७ चैत्र –
आगामी वैषाख ०१ भीत्र पोखरा उपमहानगरपालिकालाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्ने नगरपालिकाको अभियान अन्तरगत आज एक कार्यक्रममका बिच वडा नं ७ लाई प्लाष्टिक झोला र गिलास निषेधित क्षेत्र घोषणा गरिएको छ ।
“प्लाष्टिक झोलालाई निषेध गरौँ, वैकल्पिक झोलाको प्रयोग गरौँ” भन्ने नाराका साथ वडा कार्यालयमा आयोजित कार्यक्रमका बिच नगरपालिकाका कार्यकारी अधिकृत झलक राम अधिकारीले उक्त वडालाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अधिकृत अधिकारीले वैषाख सम्म पोखरालाई प्लाष्टिकका झोला तथा गिलास निषेधीत घोषणा गर्ने अभियान कुनै पनि हालतमा पुरा गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै आफुहरुको अभियानका क्रममा वडा नं.७ लाईपनि घोषणा गरि थप टेवा पुगेको बताउदै उहाँले यसको कार्यान्वयनमा जागरुकता देखाउन वडावासिहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै महिला समन्वय समिति तथा वडा नागरिक मञ्च ७ की अध्यक्ष प्रभा पन्तले प्लाष्टिकको विकल्पमा वैकल्पिक झोलाको प्रयोग गरि दैनिक आनीबानीमा समेत परिवर्तन ल्याउनु पर्ने बताउनुभयो । नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल पोखरालाई सुन्दर र सफा राख्नका लागी आमनागरीकहरु जागरुक बन्नु पर्नेमा जोड दिनुभयो । वडा नं. ७ की सचिव यशोदा बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तेजनारायण अधिकारी र संचालन टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राममोहन आचार्यले गर्नुभएको थियो ।





