हेमजा, १३ चैत्र –
नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस पोखराद्वारा स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीहरुका लागि दिइने दुई दिने शोध अभिमुखीकरण गोष्ठी शनिबार देखि सुरु भएको छ ।
शनिबार पहिलो सत्रको अध्यक्षता गर्दै विभागीय प्रमुख प्रा.डा. यदुनन्दन उपाध्यायले शोधको परिचय, प्रक्रिया र महत्त्वका विषयमा प्रकाश पारेका थिए । उनले बढी भन्दा बढी अभ्यासात्मक कार्यकलापले विद्यार्थीहरुमा शोधलेखन क्षमताको विकास हुने र यसले भाषा र भाषा शिक्षणमा ठोस योगदान पुरयाउने बताए । ‘शोध प्रस्ताव लेखन’ कार्यपत्र प्रस्तुत गर्दै उपाध्यायले शोध परिचय, शोध प्रस्तावका अङ्ग, शोधमा समावेश गरिने विषयवस्तु र शोध कार्य सम्पादनका बारेमा चर्चा गरेका थिए । उपाध्यायले विद्यार्थीलाई सक्रिय र क्रियायाकलापमुखी बन्न अनुरोध समेत गरेका छन् ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्र बहादुर लामिछानेले आफ्नो भनाई राख्दै विभागका शैक्षणिक कार्यले अनुसन्धान क्षेत्रमा सहयोग पुगेको विचार ब्यक्त गरेका छन् । गुरुको महानता र विद्वतालाई महाभारतकालीन प्र्रसङ्गसँगै जोडेर क्याम्पस प्रमुख प्रा.डा. लामिछानेले कुशल निर्देशन र अथक परिश्रममा निस्कने शोधका निष्कर्ष फलदायी हुने विचार राखेका छन् । अरुले गरेका कार्यलाई आफ्नो नाम जोडेर प्रस्तुत गर्ने कार्य गैरकानुनी र गैर प्राज्ञिक हुने भएकाले विद्यार्थीहरुलाई स्वयम् कार्य क्षेत्रमा जुटेर अगाडि बढ्न समेत क्याम्पस प्रमुख प्रा.डा. लामिछानेले अनुरोध गरेका छन् ।
क्याम्पसका सन्ध्याकालीन कार्यक्रम प्रमुख चोलाकान्त ओझाले गुणात्मक प्रस्तुतीमा कार्यक्रमको गरिमा झल्कने भएकाले गुणात्मक पक्षमा ध्यान दिनुपर्ने बताए । दोस्रो सत्रमा सभापतित्व गर्दै विभागीय सदस्य प्रा.डा. रामचन्द्र पोखरेलले दृढ इच्छाशक्ति र काम गर्ने जाँगर भएमा अनुसन्धान सहज ढङ्गले सम्पन्न हुने विचार राखेका छन्।
कार्यक्रममा विभिन्न ६ समूहमा ७-७ जना विद्यार्थी र चार-चार निर्देशकसहित शोध पत्र लेखनको अभ्यासात्मक कार्यशाला सञ्चालन गरिएको छ । यसबाट आफूलाई शोध पत्र लेखन सम्बन्धी धैरै ज्ञान र प्रेरणा मिलेको शोधार्थी श्रीभद्र पौडेलले बताएका छन् । दुवै सत्रमा शोधार्थीले विषय छनोट, शीर्षक छनोट र शोध प्रस्ताव लेखनका शीर्षक, समस्या कथन, उद्देश्य, सीमा, जनसंख्या र प्रतिनिधि नमुना उपशीर्षकमा सामुहिक र व्यक्तिगत रुपमा शोध प्रस्ताव तयार गरेका छन् ।
कार्र्यक्रममा विभागका विभागीय सदस्य र कुल ४० जना शेधार्थी विद्यार्थीको सहभागीता रहेको छ । सुलोचना खनालले स्वागत गरेको कार्यक्रमको पहिलो सत्र विन्दु पौडेल र दोस्र्रो सत्र अर्जुन सुवेदीले सञ्चालन गरेका थिए ।





