पोखरा, १७ चैत्र –
नेपाल विद्यार्थी संघ नेपालको शैक्षिक क्षेत्रका विकृतिहरु अन्त्य गर्नुपर्नेमा जोड दिएको छ ।
संघले बुधबार छुट्टाछुट्टै कार्यक्रमका बीच नेपाल पाठ्यपुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, जिल्ला शिक्षा कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय, कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेको हो ।
ज्ञापन पत्रमा विद्यार्थीहरु भविष्यका कर्णधार हुन् । आम विद्यार्थी र सम्पूर्ण शैक्षिक क्षेत्रलाई मर्यादित, सम्मानित र स्वच्छ शैक्षिक वातावरणसहित अगाडि लैजानका निम्ति हामी सबै सरोकारवालाहरुको जिम्मेवारी हो भन्ने कुरा स्मरण गराउन चाहन्छौं भनिएको छ ।
संघले नयाँ शैक्षिक सत्रको सुरुवात सँगसँगै विद्यार्थीहरुले पाठ्यपुस्तक खरिदको क्रममा विद्यालय सञ्चालक र पुस्तक व्यवसायी बीचको मिलेमतोमा महंगो मूल्यमा पाठ्यपुस्तक खरिद गर्न बाध्य बनाएकोे गैह्र जिम्मेवार कार्यको भत्सना गर्दै शैक्षिक सत्र २०७३ को पाठ्यपुस्तक खरिदमा कम्तिमा २०% छुट सम्पूर्ण विद्यार्थीहरुलाई उपलब्ध गराउन माग गरेको छ ।
संघले आजैका दिनबाट विद्यार्थीलाई छुटको व्यवस्था गर्नका लागि सम्पूर्ण पुस्तक व्यवसायीलाई अनुरोध गरेको छ । विद्यार्थीहरु नठगिइकन सहज रुपमा शिक्षामा पहुँच प्राप्त गरुन् भन्ने नेविसंघ कास्कीको चाहना हो, यसका निम्ति सम्पूर्ण विद्यार्थी संगठन, अभिभावक, जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयलगायत सम्पूर्ण सरोकारवालाहरुलाई अनुरोध गर्दछौं संघ कास्कीका सचिव विक्रमादित्य सिंह गिरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
संघले आफ्ना माग पूरा नभएको खण्डमा विद्यार्थीहरुलाई ठगिनबाट जोगाउनका निम्ति नेविसंघ कास्की अत्यन्तै कडा आन्दोलनको मैदानमा उत्रन बाध्य हुने र उक्त आन्दोलनबाट आउन सक्ने अकल्पनिय परिस्थितिको जिम्मेवारी स्वयम् पुस्तक व्यवसायीहरुले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।





