‘वैद्यसँग एकता नभए ध्रुवीकरण हुन्छ’– महरा

  • पोखरा न्यूज
  • २०७२ चैत्र १८
‘वैद्यसँग एकता नभए ध्रुवीकरण हुन्छ’– महरा

पोखरा, १८ चैत्र –

एकीकृत ने.क.पा. (माओवादी) पार्टी स्कूल विभागको आयोजनामा लुम्लेमा पार्टी स्कूल कार्यक्रम उद्घाटन गरिएको छ ।

कार्यक्रमको एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले बिहीबार एक कार्यक्रमका बीच पार्टी स्कूलको उद्घाटन गरे । एमाओवादी चार नम्वर प्रदेशको स्कूल विभागले आयोजना गरेको पार्टी स्कूल कार्यक्रम चैत्र १८ देखि २१ गतेसम्म चल्नेछ । पार्टीका नेता, कार्यकर्ताको सैद्धान्तिक र वैचारिक क्षमता अभिबृद्धिका लागि सञ्चालित पार्टी स्कूलमा दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास, नेपाली कम्युनिष्ट आन्दोलन, राष्ट्रिय स्वाधिनता, नेपाली समाजका विशेषता, संगठन लगायतका विषयमा पढाई हुने पार्टी पोलिट्ब्यूरो सदस्य हरिराज अधिकारीले जानकारी दिए ।स्कूलमा चार नम्वर प्रदेशका ११ जिल्लाबाट ३५ जना प्रशिक्षार्थीहरु सहभागि हुनेछन् । प्रदेश स्तरीय स्कूल कार्यक्रममा सहभागि प्रशिक्षार्थीहरुले जिल्ला स्तरीय स्कूल सञ्चालन गर्ने स्कूल

विभागका सदस्य रामराज रेग्मीले बताए । पार्टी स्कूलका लागि माध्यामिक तहको पाठ्यक्रम निर्माण गरिएको छ । स्कूलमा झलकपाणि तिवारीले दर्शन, रामराज रेग्मीले वैज्ञानिक समाजवाद, खोपबहादुर कंडेलले राजनीतिक अर्थशास्त्र, अमर गुरुङले संगठन, किसन शर्मा र कृष्ण धितालले कम्युनिष्ट आन्दोलनको इतिहास, पोलिट्ब्यूरो सदस्यहरु डिलाराम आचार्य र हरिराज अधिकारीले कार्यदिशा र कार्यनीति सम्बन्धि कक्षा लिनेछन् ।

पार्टी स्कूल कार्यक्रमको उद्घाटन गर्दै एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले ‘माओवादी धाराहरुको छिट्टै एकता हुने’ बताए । ‘मोहन वैद्यजीहरुसँग एकताको गृहकार्य भइरहेको छ, त्यसैले माओवादी शक्तिहरुबीच छिटै एकता हुन्छ ।’ मोहन वैद्य एकता गर्न तयार नभए उनको पार्टी विभाजित हुनेतिर लक्षित गर्दै नेता महराले भने, ‘वैद्यजीहरु एकता गर्न तयार नभए उहाँको पार्टी रहँदैन, उहाँहरुभित्र विद्रोह हुन्छ र नयाँ ध्रुवीकरणको प्रक्रिया सुरु हुन्छ ।’महराले मणि थापा, मात्रिका यादवहरु एकताका लागि तयार रहेको पनि बताए । ‘मणि, मात्रिकाजी एकताका लागि तयार हुनुहुन्छ, विप्लवका पनि दर्जनौं नेताहरु एकताको प्रतिक्षामा छन्’, उनले भने । कार्यक्रममा महराले ‘कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एकीकृत माओवादी नै भएको’ दावी गरे । ‘एमाओवादी नै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो, एमाले र हामीले भन्ने समाजवाद फरक छ, वर्गसंघर्षलाई स्वीकार नगर्नेहरु कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हुन सक्दैनन्’, महराले भने ।

फरक प्रसङ्गमा महराले सरकारले जनअपेक्षा अनुसार काम नगरेको दावी गरे । ‘सरकार जनताप्रति उत्तरदायी हुन सकेन, त्यसका लागि हामी एमालेसँग गम्भीर कुरा गरिरहेका छौं । अब हामी निर्णायक कुरा गर्छाैं’, महराले भने । उनले ‘कांग्रेसको संसदीय दलको चुनावपछि सत्ता समीकरणबारे सोच्ने संकेत गरे । ‘हामी जनताको काम गर्न सरकारमा गएका हौं, एमालेले गम्भीरतापूर्वक सोचेन भने कांग्रेसको संसदीय दलको चुनावपछि राष्ट्रिय राजनीतिमा फेरबदल आउन सक्छ’ महराले भने ।



पोखरा सेरोफोरो

ताजा अपडेट

९ मिनेट अघि

गाई पूजा आजै

खोजी गर्नुहोस