पोखरा. १९ चैत्र –
कास्कीको कालिका गाउँ विकास समितिले चालू बर्षको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाविसले प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणको बिषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कालिका गाविस वडा नम्बर ९ पिप्लेमा भएको कार्यक्रमका सहभागीहरुले गाउँ शिक्षा समिति गठन नगरी योजनामा बजेट विनियोजन गरिएको गुनासो गरेका छन् । स्थानीय बसन्त बहादुर थापाले गाविसमा शिक्षा समिति गठन नभएपनि बर्षेनी बजेट छुट्याईएको भन्दै तत्काल शिक्षा समिति गठन गर्न आग्रह गरे । यस्तै नेपाली काँग्रेस गाउँ सभापति भानुभक्त ढकालले पनि केही दिनभित्रै गाउँ शिक्षा समिति गठन गर्न र यो बर्षका लागि विनियोजन भएको बजेट सोही समिति मार्फत कार्यान्वयन गर्नका लागि अनुरोध गरेका छन् । जवाफमा गाविस सचिव शोभाखर ढकालले केही दिनभित्रै शिक्षा समिति गठन गर्ने प्रतिबद्धता जनाए । गाउँ शिक्षा समिति नै नभएको होईन, उनले भने–तर पूर्ण समिति बनेको छैन, केही दिनभित्रै पूर्णता दिनेछौं ।
कार्यक्रमका अवसरमा सेवाग्राही नागरिकहरुले वडा बाट प्राथमिकतामा पारेर पठाईएका योजनाहरु पहुँचका आधारमा गाविसमा काटिएको, लक्षित बर्ग कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको, भूकम्प पीडितले राहत नपाएको, राहतमा राजनीतिकरण भएको, विषयगत कार्यालयका कर्मचारीहरुबाट सेवा पाउन नसकेको जस्ता गुनासो गरेका थिए । गाविस सचिव ढकालले भूकम्पको राहात वितरणका लागि अनुगमनको काम सकिएको र सम्बन्धित निकायबाट निर्णय भएपछि तत्काल वितरण गर्ने, लक्षित वर्गका कार्यक्रमलाई प्रभावकारी र उद्देश्य मुलक बनाउन सक्दो पहल गरिरहेको, वडाका योजना गाविसमा नकाटिएको जवाफ दिए । नेकपा एमालेका गाउँ अध्यक्ष निर्मल दियाली सुनारले योजनाहरुमा राजनीतिकरण नभएको स्पष्ट पारे । हामीले वडा तहबाट आएका योजनामा कुनै हस्तक्षेप गरेका छैनौं, उनले भने–बरु स्थानीयको माग भन्दा बढी बजेट पार्नका लागि हामीले पहल गरेका छौं ।
गाविस बोर्ड सदस्य तथा कृषि सेवा केन्द्रका प्रतिनिधी काली प्रसाद अधिकारीले कर्मचारी अभावका कारण किसानको घरघरमा पुग्न नसकेको भन्दै जनशक्ति र पूर्वाधारको अनुपातमा निकै राम्रो सेवा दिएको र थप सुधार गर्ने बताए । कालिका स्वास्थ्य चौकी प्रतिनिधी मधुमाया भण्डारीले पनि सेवाग्राहीलाई सेवा दिनका लागि कुनै पनि कञ्जुस्याँई नगर्ने बताईन् । गाविसमा भएका बिकास निमार्णका कार्यहरु र सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा सेवा प्रदायक निकायलाई सेवाग्राहीप्रति जवाफदेही बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । गाविस अध्यक्ष शोभाखर ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार प्रकाश ढकालले गरेका थिए । कार्यक्रममा गाविस स्थित राजनीतिक दल तथा सरोकारवालाहरुले गाविसको सदरमुकाममा मात्रै हुँदै आएको सार्वजनिक सुनुवाई विकेन्द्रिकरण गरी वडा तहसम्म लगिएकोमा खुशी हुँदै गाउँको विकास र समृद्धीका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता जनाए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution