ह्याप्पी आवर पोखरा, गुड फ्राईडे पोखरा, होलिडे पोखरा अभियान सञ्चालन गर्नुपर्छ- क्षेत्रीय प्रशासक

पोखरा, २१ चैत्र –

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद कोईरालाले नेपालको पर्यटनको विकासमा निजी क्षेत्रले उल्लेखनीय योगदान गरेरनै पर्यटनमा बिकास सम्भब भएको भन्दै सरकारी तवरवाट उपयुक्त पहल हुन नसकेको बताए । उनले समग्र पर्यटनको विकास तथा प्रबर्द्धनका लागि पर्यटन व्यवसायीहरुले आफुहरुले प्रदान गर्ने सेवा सुविधामा व्यापक सुधार ल्याउनुपर्ने देखेको बताउदै पोखराको पर्यटन प्रबर्द्धनका लागि ह्याप्पी आवर पोखरा, गुड फ्राईडे पोखरा, होलिडे पोखरा लगाएतका अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

पोखरा पर्यटन परिषद्को आईतबार पोखरामा सम्पन्न १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका आफुले पोखराका होटलमा जादा सेवाको हिसाबले थुप्रै समस्याहरु पाएको जिकिर गरे । प्रोडक्ट डेभलपमेन्ट र हाईजेनिक केयरमा ध्यान दिई पर्यटकका लागि आवश्यक पुर्वाधार तयार पार्न पर्यटन ब्यबसायीले आफ्नो ब्यबसाय तथा प्रदान गर्ने सेवामा सुधार ल्याएमा मात्र पर्यटनको विकास हुने धारणा राखे । कोईरालाले सन् १९५० देखि  डिप्लोम्याटिक टुरिजम, हिप्पी टुरिजम हुदै सन् १९८० पछि एडभेन्चर टुरिजम को रुपमा फस्टाएको पर्यटन क्षेत्रमा सन् १९९८ सम्ममा १० लाख  पर्यटन भित्र्याउने  लक्ष्य सन् २०१६ सम्म आइपुग्दा पनि अझै पुरा हुन नसकेको तर्फ ध्यानाकर्षण गराउँदै त्यो लक्ष्य किन पुरा हुन सकेन भन्ने तर्फ  सबै आफ्नो ठाउँबाट गम्भीर हुनुपर्नेमा  जोड दिए ।

अहिलेको पर्यटनमा शान्ति सुरक्षा प्रमुख रुपमा  जोडिएको भन्दै यसतर्फ सबैले विचार पुर्याउनुपर्ने बताएका कोइरालाले इको टुरिजम, एडभेन्चर टुरिजम आदिमा प्रख्यात पोखराको टुरिजम सार्क मन्त्रीस्तरीय बैठकले गर्दा अफिसियल टुरिजमको लागि  पनि उपयुक्त छ भन्ने कुरा प्रमाणित भईसकेको बताए ।  उनले फेवातालको संरक्षणका लागि तत्कालिन, अल्पकालिन र दीर्घकालीन योजना बनाउनुपर्ने भन्दै एक वर्षभित्र पुरा गर्ने तत्कालका कार्ययोजना एक हप्ताभित्रै बनाउन आफु लागिपरेको र केहि कुरा थपथाप  गरेर  राष्ट्रिय योजना आयोग मार्फत सो  योजना समावेश गरी यसै वर्ष बजेटमा समाबेस गरि काम अघि बढाउने जानकारी दिए ।

श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जिवनकुमार राईले यहाँका पर्यटन क्षेत्रमा रोजगार सिर्जना गर्नका लागि सहयोग गर्न तयार रहेको बताए । उद्योग मन्त्रालयका उपसचिव नुरहरि खतिवडाले यहाँ तत्काल कम्पनी रजिष्ट्रार कार्यालय स्थापना हुने सम्भावना नभएको भन्दै यसमा तत्कालका लागि घरेलु तथा साना उद्योग मार्फत सो कार्य गर्न गराउन  छलफल भैरहेको भन्दै यहाँ कार्यालय खोल्ने कुरामा कम्पनी रजिष्ट्रार कार्यालय सकारात्मक रहेको बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा,पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश खनाल, आईएलओ (ILO) नेपाल राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्मा, एनेकपा माओवादी जिल्ला कमिटि सदस्य रामजी बराल, काँग्रेस जिल्ला सभापति कृष्ण केसी, पुर्व अध्यक्ष तथा सल्लाहकार डम्बर बहादुर केसी, परिसदका संस्थापक अध्यक्ष अशोक पालिखे, सल्लाहकार बासु त्रिपाठी, लगायतले पोखराको पर्यटनको  बारेमा आ-आफ्नो धारणा राखेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको  सञ्चालन परिषद्का महासचिव रामु गौतमले गरेका थिए भने  उपाध्यक्ष चीरञ्जीवि पोखरेलले धन्यवाद ज्ञापन ब्यक्त गरेका थिए । साधारणसभामा पोखरा पर्यटन परिषदले ILO JAPAN को सहयोगमा तयार पारेको प्रवर्द्धनात्मक सामाग्रीहरुको लोकार्पण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button