नेपाल भारत सम्बन्ध छिट्टै सङ्लिने – स्वामी महामण्डलेश्वर

पोखरा, २६ चैत्र –

विश्वविख्यात परमहंश स्वामी महेश्वरानन्द महामण्डलेश्वरले दुई कानबीचमा मगज नहुनेले मात्र नेपालीलाई गरिब भन्ने गरेको बताएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara

अमेरिकालगायत विश्वका विभिन्न देशमा आफ्नो आध्यात्मिक प्रवचन तथा योगको माध्यमबाट हजारौँलाई दीक्षित गरेका स्वामीले नेपाल भारतको पनि शीर भएकोले भारतीयले नेपाललाई सम्मान गर्नुपर्ने बताए ।

भारतको मध्यप्रदेशको उचियानीमा आउँदो अप्रिल १२ तारिखदेखि सुरु हुने कुम्भ मेलामा भाग लिन जाने क्रममा आरामको लागि पोखरा आएका स्वामीले शुक्रबार सिमित पत्रकारहरु माझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण नेपाल भारत सम्बन्ध केही बिग्रिए पनि यो छिट्टै सङ्लिने आशा व्यक्त गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो नेपाल भ्रमणको क्रममा राजनीतिक मिसन पूरा गर्न जनकपुर जान चाहे पनि त्यो सम्भव नभएपछि बिच्किएको उनको भनाइ थियो । उनका अनुसार बिहारको आसन्न चुनावलाई मध्यनजर राख्दै मोदीले जनकपुरको धार्मिक यात्रा गर्न खोजेका थिए । ‘त्यो समय उनी नयाँ दुलाहा (प्रधानमन्त्री) थिए, दोस्रो पटक पनि जनकपुर जान नपाएपछि उनी रिसाए, राजनीतिज्ञहरु आफ्नो हितको लागि केही न केही गर्छन्, त्यो बुझ्नुपर्छ ।’–उनले भने । नेपाल हिन्दु राज्य होस् भन्ने भारतीय प्रधानमन्त्री मोदी र अन्य भारतीयहरुको समेत चाहना रहेको उनले बताए ।

भारतको राजस्थानमा विशाल आश्रम संचालन गरेका स्वामीले नेपालमा भूकम्प आउँदा राजस्थान सरकारमार्फत भूकम्प पीडितको लागि करिब १ करोड नेपाली रुपैयाँ सहयोग गरेको स्मरण समेत गरे । ‘आफै आएर दिन सम्भव थिएन, अरुलाई दिऊँ भने स्वामीले पैसा उठाएर खायो भन्ने डर, त्यसैले राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजेमार्फत सो रकम दिएको हुँ ।’–उनले भने ।

उनले पोखराको सौन्दर्य र फेवातालको गुणगान गाउन पनि बिर्सेनन् । पर्यावरणको क्षेत्रमा समेत काम गर्दै आएका उनले आफू पोखरामा आश्रम खोल्न इच्छुक रहेको बताए । पोखरालाई प्रदुषणबाट मुक्त राख्दै पर्यटकीय नगरी बनाउनु पर्ने उनको सुझाव थियो । भारतको काशीमा रहेको विद्धत समाजबाट विश्व गुरुको उपमा पाएका स्वामी धेरैजसो अष्ट्रिया लगायतका युरोपेली देशमा बस्ने गर्छन् । आफू नेपाल आउँदा विभिन्न युरोपेली देशका ३ सय जना आफ्ना अनुयायी समेत पोखरा आएको प्रसंग झिक्दै उनले धार्मिक पर्यटनबाट पनि नेपालले लाभ लिन सक्ने बताए । उनले एक साता लामो पोखरा बसाईको क्रममा आउँदो आइतबार र सोमबार पोखरामा प्रवचन दिने कार्यक्रम समेत तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button