काठमाडौं, वैशाख २२ –
एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चा लगायत परस्पर बिरोधी लाइनमा रहेका पार्टीको जोडबलमा बनेको एमाले नेतृत्वको वर्तमान सरकार संकटमा परेको छ ।
सत्ताको चावी मानिएको एकीकृत माओवादी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट भएपछि वर्तमान गठन्बन्धन सरकार ढल्ने लगभग पक्का भएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटको विषयमा गम्भीर छलफल गर्नुपर्ने बेला दल सरकार गिराउने र टिकाउने उपायको खोजी गर्न व्यस्त छन् । बुधबार सत्तारुढ दुई मुख्य दल एमाले र एमाओवादी आआफ्नो पार्टीभित्रको छलफलमा व्यस्त छन् भने प्रमुख प्रतिपक्ष कांग्रेस संसद बैठकमै सरकारको कडा आलोचना गर्ने तयारीमा छ । अरु दलहरु भावी परिस्थिति र समीकरण आफु अनुकूल हुन्छ कि हुँदैन भन्ने अड्कलबाजी र त्यस अनुसारको गृहकार्यमा जुटेका छन् ।
सत्तारुढ दुई मुख्य दल एमाले र एकीकृत माओवादीबीच भर्खरै मात्र असमझदारी चुलिएको जस्तो देखिएको छ । खासगरी मंगलबार प्रधानमन्त्री ओलीले बोलाएको डिनर बैठकमा प्रचण्डले आफुलाई कांग्रेसबाट सरकारको नेतृत्व गर्न प्रस्ताव आएको खुलासा गरेपछि दुई पार्टीबीचको असमझदारी बढेको देखिएको हो ।
तर ओलीको कार्यशैलीप्रति एमाओवादीले पहिलेदेखि नै असन्तुष्टी जनाउँदै आएको थियो । सरकार सञ्चालनका लागि गठन भएको प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको रायसुझाव नलिइकन ओलीले एकपक्षीय निर्णय गर्दै आएको माओवादीको आरोप छ । त्यसो त एमालेको माधव नेपाल समूहसमेत ओलीको कार्यशैलीप्रति असन्तुष्ट छ ।
भूकम्पपछिको पुनर्निर्माण, द्वन्द्वकालिन घटनालाई सम्बोधन गर्ने तरीका, संविधान कार्यान्वयन लगायत विषयमा जनचाहना अनुसार काम हुन नसकेको भन्दै प्रचण्डले पटकपटक ओलीसँग छलफल गर्ने प्रयास गर्नुभएको थियो । दुई पक्षीय बैठकको लागि प्रचण्डले एक महिनाअघि ओलीलाई पत्र समेत पठाउनुभएको थियो ।
तर ओलीले पत्रको वास्ता पनि नगरेको र बैठक बोलाउन समेत तत्परता नदेखाएको भन्दै एमाओवादी आक्रोशित भएको थियो । फलस्वरुप मंगलबारको बैठकमा एमाओवादीका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएका थिए । मंगलबारको बैठक पनि एमाओवादीको प्रयासमा बसेको थियो ।
सत्ताको मुख्य गठबन्धन एकीकृत माओवादी नै असन्तुष्ट भएपछि ओली सरकारको अन्त त लगभग निश्चित जस्तै छ । सरकार परिवर्तनको लागि पहिलेदेखि नै जोड गर्दै आएको कांग्रेस सरकारको नीति तथा कार्यक्रम नै असफल पार्ने प्रयासमा लागेको छ ।
प्रचण्डलाई नेतृत्व लिन उक्साइरहेको कांग्रेसले बजेट अधिवेशनबाटै सरकार परिवर्तन गर्न लागेको छ । कांग्रेसको समर्थन पाएपछि प्रचण्ड नयाँ प्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ । तर एमालेलाई चिढ्याएर सरकारमा जाँदा प्रचण्डलाई पनि काम गर्न सहज हुन्न ।
किनकी संविधान कार्यान्वयन, सीमांकन लगायतका विषयमा ओलीले काम गर्न नसकेको भन्दै आलोचना गरेका प्रचण्डलाई पनि यी सबै काम गर्न अरु दलजस्तै ओली नेतृत्वको एमालेको पनि पूर्ण साथ र सहयोग चाहिन्छ ।
प्रचण्डको बलमा बनेको ओली सरकार फेरिएर देउवाको बलमा प्रचण्ड सरकार बन्दा पनि आमनागरिकले खोजेजस्तो अवस्था आउने आधार चाहिँ देखिँदैन ।
स्रोत : उज्यालो अनलाइन
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution