पोखरा,२३ वैशाख –
सामान्य कुराहरुमा ध्यान दिन सके पनि उद्योग÷प्रतिष्ठान एवं घरायसी काममा पनि ठूलो मात्रामा उर्जा बचाउन सकिने विज्ञहरुले बताएका छन् । उनीहरुले आफ्नो घरमा प्रयोग हुने उपकरणले पूर्ण क्षमतामा काम गरे÷नगरेको परिक्षण गर्न, सकेसम्म कम उर्जा खपत गर्ने उपकरण प्रयोग गर्न तथा उर्जा खपत घटाउने उपायहरु सिक्न सर्वसाधारण तथा उद्योगी÷व्यवसायीलाई सुझाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा विहीबार पोखरामा आयोजना भएको उर्जा दक्षता तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् । ‘हामी पानी उम्लेर जाँदा ग्याँस खर्च भएकोमा खासै चुकचुकाउँदैनौँ ’, उर्जा विज्ञ तथा नेपाल उद्योग वाणिज्य संघको उर्जा तथा वातावरण विभाग प्रमुख डा. उत्तम कुँवरले भने,‘ तर दूध उम्लेर खेर गएकोमा भने हामी खुबै ख्याल गर्छौँ, यस्तै साना कुरामा ख्याल नगर्दा बढी उर्जा खपत हुन्छ ।’डा. कुँवरले ठूला उद्योगहरुमा प्रयोगमा आएका पुराना उपकरण, विभिन्न ठाउँबाट उर्जा हुने उर्जा चुहावटलाई रोक्न सकेमा मात्र पनि ठूलो परिणाममा उर्जा बचाउन सकिने र त्यसले पैसाको पनि बचत हुने सुझाए ।
नेपालको उद्योग क्षेत्रले अझै पनि ५८ प्रतिशत उर्जा कोइलाबाट प्राप्त गर्ने गरेको उनले जनाए । ती उद्योगहरुले २३ प्रतिशत विजुली, १० प्रतिशत कृषिजन्य सामाग्री, ५ प्रतिशत काठ, २ प्रतिशत डिजेल र बाँकी २ प्रतिशत मात्र वैकल्पिक उर्जा प्रयोग गरेको उनको भनाई थियो । जर्मन र नेपाल सरकारको सहयोगमा उद्योग वाणिज्य महासंघले संचालनमा ल्याएको परियोजनाले उद्योग तथा सर्वसाधारणहरुलाई कसरी कम उर्जा खपत गर्ने भन्नेबारे प्राविधिक सीप सिकाउने गर्छ । कार्यक्रममा बोल्दै उर्जाविज्ञ डा. पवनकुमारले ठूला उद्योग, अस्पताल, टे«ड मल, व्यवसायिक भवनहरुलाई उर्जा अडिट गर्न सुझाए । उनका अनुसार नेपालको एक स्टिल उद्योगले उर्जा अडिट गर्दा एक वर्षमा विभिन्न क्षेत्रमा गरी ३३ करोड बचत गर्न सफल भएको दावी पनि गरे ।
अर्का उर्जा विज्ञ अजयकुमार शाहले उर्जा व्यवस्थापन अहिलेको जमानामा अपरिहार्य भएको जनाउँदै व्यवसायिक प्रतिष्ठानहरुलाई सघाउन आफूहरु तयार रहेको बताए । विज्ञको परामर्श र सहयोग नेपाल उद्योग वाणिज्य महासंघमा संचालनमा भएको परियोजनाले दिने भए पनि आवश्यक सामानहरुको खरिद भने कम्पनी वा उद्योग स्वयंले गर्नुपर्ने उनले स्पष्ट पारे । कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले उर्जा कम प्रयोगको लागि घरबाटै सुरु गर्नु पर्नेमा जोड दिए । प्रयोगमा नआउँदा बत्ती निभाउनु, विद्युतीय सामानहरुको सही तरिकाले प्रयोग गर्नु पनि उर्जा बचतको तरिका भएको उनको भनाई थियो । कार्यक्रम संचालक तथा पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुले उर्जा वचतबारे भएको यो कार्यक्रम फलदायी रहेको बताउँदै पोखरा औद्योगिक क्षेत्रका व्यवसायीहरुले यो परियोजनाबाट लाभ लिनुपर्नेमा जोड दिए ।
पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख नेपाल भुषण वैद्यले पहिले एकान्तमा रहेको पोखरा औद्योगिक क्षेत्र हाल आएर बस्तीको बीचमा परेको जानकारी गराउँदै वातावरण जोगाउन पनि उद्योगहरुले ध्यान दिनुपर्ने बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution